Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल-अष्ट्रेलिया सम्बन्ध । यसरी लिन सक्छ नेपालले फाइदा

नेपाल-अष्ट्रेलिया सम्बन्ध । यसरी लिन सक्छ नेपालले फाइदा


सरल गुरुङ/अष्ट्रेलिया

हिमालयन देश नेपाल र प्यासिफिक देश अष्ट्रेलियाबिचको सिधा दुरी लगभग ८ हजार किलोमिटर छ । दुइ छुट्टा छुट्टै गोलार्धमा रहेका यी देशबिच मैत्री सम्बन्ध गासिएको आगामी १५ फेव्रवरीमा ६० वर्ष पुग्दैछ । सन् १९६० फेब्रवरी १५ तारिखमा नेपाल र अष्ट्रेलियाबिच मैत्री सम्बन्ध सुरु भएको थियो ।
क्यानवेरास्थित नेपाली दुतावासले त एक साताअघि नै दुइ देशबिचको मैत्री सम्बन्धको वर्षीकी मनाईसकेको छ । क्यानवेराको संसद भवनमा जनवरी १० तारिखमा भएको विशेष कार्यक्रममा केही सांसद, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य देशका कुटनीतिक अधिकारी, नेपालका लागि अष्ट्रेलियाका पुर्व राजदूतहरु तथा नेपाली समाजका अगुवाहरुको उपस्थिती थियो ।
नेपाल र अष्ट्रेलियाको झण्डा अंकित केक काटेर मनाइएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले हालैको डढेलोका कारण ज्यान र घरबार गुमाउनेहरुप्रति शोक र सहानुभूति व्यक्त गरेका थिए । त्यस्तै दाहालले अष्ट्रेलियाले नेपालका सामुदायिक जंगल, शिक्षा, स्वास्थ्य र साना उद्योगको क्षेत्रमा पु¥याएको योगदानको समेत चर्चा गरेका थिए । भूकम्पका बेला अष्ट्रेलियाले पु¥याएको सहयोगको समेत चर्चा गरिएको थियो ।
त्यस्तै कार्यक्रममा सिनेटर म्यारिस पेन तथा परराष्ट्रका उपसचिव एलि लोसनले दुइ देशबिचको मित्रता फैलिदै गएको खुसी व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा फ्रेड हलोस् फाउण्डेसनका तर्फबाट एलिसन हिलले नेपालमा डाक्टर सन्दुक रुइतसंग मिलेर आखाको उपचारमा भएको कामको बारेमा चर्चा गरेकी थिइन् ।

घाटाको व्यापार

यो ६० वर्षमा नेपालले धेरै राजनीतिक परिवर्तनहरु भोगिसकेको छ भने अष्ट्रेलियाले आर्थिक विकासको गति हासिल गरेको छ ।
५५ हजार ३ सय ५ अमेरिकी डलर पर क्यापिटा आम्दानी रहेको अष्ट्रेलियाबाट २७ सय अमेरिकी डलर पर क्यापिटा आम्दानी भएको नेपालले कसरी फाइदा लिन सक्छ त ?
त्यसो त नेपाल अष्ट्रेलियामा विद्यार्थी पठाउने तेस्रो ठुलो देश हो । हाल अष्ट्रेलियामा ५२ हजार नेपाली विद्यार्थी पढिरहेका छन् । सन् २०१७/१८ मा मात्रै नेपाली विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा १.६ विलियन डलरको योगदान गरेको थियो । यो ग्राफ बढ्दो क्रममा छ । तर, नेपालले अष्ट्रेलियाबाट सोचे जस्तो आर्थिक फाइदा लिन सकेको छैन ।
अष्ट्रेलियन सरकारको परराष्ट्र मामिला तथा बित्तिय विभागका अनुसार सन् २०१६/१७ मा दुइ देशबिच ५७ मिलियन डलरको व्यापार भएको देखिन्छ । जसमा अष्ट्रेलियाले नेपालमा ५० मिलियन डलर बराबरको फलफुल, पेट्रोल, खाद्यान्न तथा वाइन निर्यात गरेको छ । अष्ट्रेलियाको तुलनामा नेपालले भने निकै कम अर्थात ७ मिलियन डलरको लत्ताकपडा र कार्पेट निर्यात गरेको छ । यो व्यापार घाटा कम गर्न नेपालले पनि आफ्नो निर्यात गर्ने वस्तुको विविधतामा ध्यान दिनुपर्छ । अष्ट्रेलियाले नेपालमा जलविद्युत, पर्यटन तथा निमार्ण क्षेत्रमा लगानी बढाउन सक्छ ।

जम्मा ३८ हजार पर्यटक

अष्ट्रेलिया एसिया प्यासिफिक क्षेत्रमा भएपनि यहाँका बासिन्दालाई नेपाल हिमालयन देश हो भन्ने बाहेक अन्य खासै जानकारी छैन । नेपाल बारे जानकारी नहुदा वर्षको मुस्किलले ३८ हजार अष्ट्रेलियन मात्रै नेपाल पुग्छन् । ती मध्ये अधिकांश नेपालीमुलकै अष्ट्रेलियन हुन् ।
सन् २०२० मा नेपाल जाने अष्ट्रेलियनको संख्या दोब्बर हुने अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले दावी गरे । नेपाल ट्युबसंग कुरा गर्दै राजदूत दाहालले भने नेपाल घुम्ने अष्ट्रेलियनको संख्या बढाउन यहाँका सबै नेपालीले आ आफ्नो स्थानबाट साथ दिनुपर्छ ।
अष्ट्रेलियनहरु घुम्न मन पराउछन् । अष्ट्रेलियन परराष्ट्र विभागको तथ्यांक अनुसार सन् २०१७ मा मात्रै ८८ लाख ७४ हजार ६ सय अष्ट्रेलियनले विश्वका २२ वटा देश भ्रमण गरे ।
अष्ट्रेलियनले सबैभन्दा धेरै घुम्ने देशमा एसिया प्यासिफिक क्षेत्रकै अर्को देश न्युजिल्याण्ड परेको छ । त्यस्तै दोस्रोमा अमेरिका, तेस्रोमा इन्डोनेसिया, चौथोमा वेलायत र पाचौमा सिंगापुर परेको छ ।
८८ लाख अष्ट्रेलियालीहरुले घुमेको मुख्य २२ वटा देशमा नेपाल किन परेन रु भौगोलिक हिसावले असाध्यै सुन्दर र साहसिक पर्यटनको केन्द्र नेपालमा अष्ट्रेलियन पर्यटक लैजान के गर्न सकिन्छ ? 
घुमन्ते अष्ट्रेलियनलाई नेपाल लैजानका लागि सबैभन्दा पहिला नेपाली ट्राभल एजेन्सीहरुले यहाँ टुर प्याकेज बेच्ने व्यवस्था गर्नुपर्छ । वर्षदिन अघि नै भ्रमणको तयारी गरेर व्यवस्थित तवरले घुम्ने अष्ट्रेलियनहरुलाई लक्षित गरेर छोटो, मझौला र लामो समयको होलि डे प्याकेजहरु बेच्न नेपालका ट्राभल एजेन्टहरुले अष्ट्रेलियाका फ्लाइट सेन्टर, हेल्लो वल्र्ड जस्ता ठुला ट्राभल एजेन्सीसंग सहकार्य गर्न सक्नुपर्छ ।
अष्ट्रेलियामा नेपालीले खोलेका ट्राभल एजेन्सीहरुले नेपालको टुर प्याकेज बेच्नुपर्ने हो तर, यस्ता एजेन्सीहरु नेपाली विद्यार्थीलाई हवाई टिकट बेच्नमै सिमित भएका छन् । अझ नेपालीका ट्राभल कम्पनीहरु हुण्डीमा समेत मुछिने गरेका समाचारहरु बाहिर आएका छन् ।
नेपालीहरुको बसोबास बढेसंगै अष्ट्रेलियनहरुले नेपालका बारेमा चासो राख्न थालेका छन् । नेपालीहरुको मेहनत र असल व्यवहारले यहाँ नेपालको छुट्टै छवी बनिसकेको छ । त्यसैले उनीहरुलाई नेपाल घुम्नका लागि हौसाउनका लागि ठुलै पहाड पनि फोर्न पर्दैन । खाँचो छ त केवल व्यवस्थित इच्छा शक्तिको ।

होला त सिधा उडान ?

नेपाल र अष्ट्रेलियाको हवाई दुरी ८ हजार किलोमिटर हो । सिधा उड्ने हो भने १० घण्टामा नेपाल पुगिन्छ । तर, नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान नहुदा अहिले २ दिन खर्च गर्नुपर्ने बाध्यता छ । चीन, मलेसिया, दुवाई, हंकङ, सिंगापुर, थाइल्याण्ड जस्ता देशमा ट्रान्जिट पारेर यात्रा गर्दा समय र पैसा दुबै बढी खर्च भईरहेको छ । जसको सिधा असर नेपालको पर्यटन क्षेत्रमा समेत परेको छ ।
के नेपाल र अष्ट्रेलियाबिच सिधा उडान संभव छैन ? जरुर छ । पर्यटन वर्षको उद्घाटन गर्न अष्ट्रेलिया आएका संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टरा ईले नेपाल र अष्ट्रेलियाबिच साझेदारी मै भएपनि सिधा हवाई उडान सुरु गरिछाड्ने प्रतिवद्धता जनाएका छन् । उनले हवाई विभागका प्रतिनिधीलाई समेत भेटेका छन् । त्यसो त नेपाल र अष्ट्रेलियाबिच सिधा उडान गर्न हवाई सम्झौतासमेत भईसकेको छ ।
नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न प्रतिप्रधाको क्षमताको आधारमा गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।
सरकारीस्तरमा भएको यो सम्झौता कार्यन्वयनमा केही जटिलताहरु देखिएका छन् । ती मध्ये सबैभन्दा महत्वपुर्ण चाहि अष्ट्रेलियाका विमान कम्पनीहरुले नेपालमा उडान गर्दा आर्थिक लाभ नदेख्नु हो । यहा“ विमान कम्पनीले सरकारीस्तरमा भएको उक्त सम्झौता अनुसार नेपालमा तत्कालै उडान सुरु गर्ने अवस्था छैन ।
तर, नेपालमा पोखरा र निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनिरहेकाले भविष्यमा यहि सम्झौताका आधारमा अष्ट्रेलियाका विमानहरुले नेपाललाई ट्रान्जिट बनाएर अन्यत्र उडान भर्न सक्ने अवस्था भने हुनसक्छ ।

नेपाल अष्ट्रेलियाबिचको ६० औं वर्षगाठको अवसरमा क्यानवेरामा नेपाली दुतावासले गरेको कार्यक्रमको केही झलक-



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ