Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा भोक्कै छैनन् नेपाली विद्यार्थी ।

अष्ट्रेलियामा भोक्कै छैनन् नेपाली विद्यार्थी ।


 सरल गुरुङ/ब्रिजवेन

कोरोना भाईरसको कारण अष्ट्रेलियामा नेपाली विद्यार्थीले खानै पाएनन् भन्ने जस्ता हल्ला फिजाइएको छ । केही स्वार्थ समुह र नेपालका केही अनलाईन र युट्युबका भित्ताहरुमा देखिएका यस्ता समाचारले नेपालमा रहेका अभिभावकमाझ चिन्ता थपिदिएको छ । यहा पढिरहेका ५५ हजार नेपाली विद्यार्थी र भिजिट भिषामा रहेका नेपाली मध्ये केहीले समस्या भोगिरहेको साचो हो । तर, खानै पाएनन्, हरिविजोग भयो भन्ने चाहि सत्य होइन । कोरोनाको महामारी फैलिएसंगै अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी बारे चासो र चिन्ता बढ्न थालेको छ । घर परिवारबाट टाढा बसेर विरानो देशमा पढाई, काम र तनावका बिचमा उज्वल भविष्य खोजिरहेका नेपाली युवा जमातबारे यो दुखको घडीमा चिन्ता बढ्नु स्वभाविक नै हो । खासगरी हुनेखानेका छोराछोरी आउने ठाउभन्दै सामाजिक संजालमा जतिखेर पनि अष्ट्रेलियाका नेपालीको मानमर्दन गर्ने कार्य हुदै आएको छ । सानो सानो कुरामा पनि अष्ट्रेलियामा संघर्ष गरिरहेका र नेपालको विकासमा ठुलै योगदान गरिरहेका यहाका नेपालीलाई खिसीटिउरी गर्ने जमातले यसपाली विद्यार्थीलाई निशाना बनाएको प्रष्टै देखिन्छ ।

अब कुरा गरौ सहयोगको । अष्ट्रेलियाका नेपाली दूतावास, गैर आवासिय नेपाली संघ एनआरएनए, सामाजिक संघसंस्था, व्यापारी र पत्रकारहरु नेपाली विद्यार्थीलाई सहयोग गर्न कम्मर कसेर लागेका छन् । महामारी सुरु भएयता विद्यार्थीलाई राहत दिन यी निकायहरुबिच चरण चरणमा छलफल भएका छन् । विद्यार्थीको खास समस्या पत्ता लगाएर भावी योजना बनाउनका लागि राजदूतावासले अप्ठ्यारोमा परेका विद्यार्थी र भिजिटरको तथ्यांक संकलन सुरु गरेको छ । एनआरएनए अष्ट्रेलियाले त एक महिनालाई पुग्ने खाद्यान्न वितरण नै सुरु गरेको छ । अन्य सामाजिक संघसंस्था र विभिन्न राज्यका युवा समुहहरुले पनि विद्यार्थीलाई राहत कार्यक्रम संचालन गरेका छन् । अष्ट्रेलियाका नेपाली व्यापारीहरुले आफै वा सामाजिक संघसंस्थामार्फत विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेका छन् । जस्तो कि एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसले ५० हजार डलर केवल नेपाली विद्यार्थीका लागि सहयोग छुट्याएको छ । आशिंक लड डाउनको अवस्था लम्बिदै जाने हो भने समस्या बढ्न पनि सक्छ तर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।

३ प्रतिशत विद्यार्थीले मात्र  भरे विवरण

अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीको खास समस्या के हो ? भनेर जानकारी लिन र त्यसै अनुरुप योजना बनाउन क्यानवेरास्थित नेपाली दूतावासले अनलाईन फारम मार्फत विवरण संकलन गरिरहेको छ । अप्रिल ४ तारिखबाट सुरु भएको यो संकलन प्रकृयामा १० दिनमा १७ सय जनाले आफ्नो विवरण बुझाएको दूतावासले जनाएको छ । याे कुल अध्ययनरत विद्यार्थीका संख्याकाे ३ प्रतिशत मात्र हाे । ती मध्ये अधिकांश अष्ट्रेलिया र न्युजिल्याण्डमा पढिरहेका नेपाली विद्यार्थी छन् । उनीहरुमध्ये ३० प्रतिशतले जागिर गुमाएको जानकारी दूतावासलाई गराएको उपनियोग प्रमुख दुरपदा सापकोटाले जानकारी दिनुभयो । त्यस्तै १० प्रतिशतले यस्तै अवस्था रहे केही महिनामा जागिर गुम्न सक्ने चिन्ता दर्शाएका छन् । २५ प्रतिशतले कोरोनाका कारण दैनिक उपभोग्य सामाग्री, घरभाडा र युटिलिटीको बिल तिर्न समस्या परेको बताएका छन् । त्यस्तै कलेज र युनी शुल्क तिर्न समस्या भोग्नेहरु २५ प्रतिशत छन् ।

दूतावासको आपतकालिन फारमको नमुना

उनीहरुले शुल्कमा छुट गराइदिन, किस्तामा फि तिर्न, फि तिर्ने समय बढाइदिने व्यवस्था गरिदिन माग गरेका छन् । उनीहरु मध्ये ५ प्रतिशतले भिषासम्बन्धि समस्या परेको विवरण भरेका छन् भने ५ प्रतिशतले चाहि अहिले पढाई स्थगित गरेर नेपाल फर्कन सहयोग गरिदिन आग्रह गरेका छन् । सम्बन्धित विद्यार्थीलाई दूतावासले इमेल मार्फत सम्पर्क गरिसकेको जनाइएको छ । दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाका अनुसार दूतावासले सबै विद्यार्थीको समस्या अनुसारको सुझाव र सम्पर्क व्यक्तिको नम्बरसहितको इमेल पठाइसकेको हो । प्राप्त विवरणहरु विश्लेषण गर्दा धेरै विद्यार्थीहरुको अवस्था अझै पनि चिन्ताजनक नदेखिएको सापकोटाले बताउनुभयो । तर, यस्तै अवस्था अझै लम्बिदै जाने हो भने चाहि समस्या बढ्न सक्ने उहाको भनाई थियो । समस्यामा परेका केहीले फारम नभरेका पनि हुनसक्छन् । तर त्यस्ता फारम नभरेकाहरुले आफु पढ्ने शैक्षिक संस्था, अष्ट्रेलिया आएकाे कन्सलटेन्सी  र अन्य सामाजिक संघ संस्थाबाट सहायता पाईसकेकाे पनि हुनसक्छ । 

एनआरएनएको खाद्यान्नका लागि १ हजार निवेदन

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले पनि विद्यार्थी लागि खाद्यान्य सामाग्री वितरण सुरु गरेको छ । एक महिनासम्मका लागि दिइने खाद्यान्नका लागि ६ महिनायता आएर समस्यामा परेका विद्यार्थीले एनआरएनको राहत फारम भर्नुपर्नेछ । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले दिएको जानकारी अनुसार हालसम्म १ हजार ६८ जना विद्यार्थीले राहत सामाग्रीका लागि दरखास्त दिएका छन् । ती मध्ये सबैभन्दा बढी भिक्टोरिया राज्यमा ४ सय ५ जना छन् । त्यस्तै न्यु साउथ वेल्समा २ सय ९९ र कुइन्सल्याण्डमा २ सय ३६ जनाले राहतका लागि फारम भरेका छन् । क्यानवेरामा १०, नर्थन टेरिटोरीमा १७, साउथ अष्ट्रेलियामा ७६, तास्मानियामा १५ र वेष्टर्न अष्ट्रेलियामा १० जनाले राहतका लागि आवेदन दिएका हुन् । आवेदन दिएकामध्ये मापदण्ड र आवश्यकता हेरेर ३ सय ९९ जनाले राहत सामाग्री पाइसकेका छन् । थप ६ सय जनालाई राहत वितरण गरिनेबारे अध्ययन र तयारी भईरहेको कोषाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

एनआरएनए अष्ट्रेलियाले गरेको राहत वितरण विवरण
स्रोत एनआरएनए अष्ट्रेलिया

एनआरएनएले ४० डलर बराबरको खाद्यान्य वितरण गरेको हो । एक महिनालाई पुग्ने दाबी गरिएको राहत प्याकेजमा चामल, दाल, अण्डा लगायत खाद्यान्य समेटिएको छ । एनआरएनको राहत कोषबाट २० हजार डलर छुट्याइएको छ । राहत वितरण संख्या बढ्न सक्ने भन्दै एनआरएनए अष्ट्रेलियाले आन्तरिक रुपमा सामाजिक संस्था र व्यापारीसंग सहयोग संकलन गरिरहेको छ । हालसम्म २५ वटा संघसंस्थाले १२ हजार डलर चन्दा दिएको कोषाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । त्यस्तै एनआरएनएले गो फन्ड मि वेवसाइटबाट पनि विद्यार्थीका लागि रकम संकलन गरिरहेको छ । यो सामाग्री तयार पार्दासम्म ८ हजार डलर संकलन भइसकेको छ । विद्यार्थीको अहिले खास समस्या भनेको विश्वविद्यालय र कलेजको शुल्क र घरभाडा हो । तर, घरभाडा सम्बन्धी अष्ट्रेलियन सरकारले ६ महिनासम्म घरवेटी निकाल्न नपाउने नियम लागु गरेको छ । भने विश्वविद्यालय र कलेजहरुले पनि विद्यार्थीको समस्या विश्लेषण गरेर शुल्क घटाउने र तिर्ने समय लम्ब्याउने व्यवस्था गरिरहेको छ । त्यसैले आफुलाई समस्या परेका विद्यार्थीले सिधै आफ्नो शैक्षिक संस्थासंग परामर्श गर्न समेत दुतावासले सुझाव दिएको छ । त्यसाे त, नेपाली विद्यार्थी पढ्ने विश्वविद्यालय र कलेजहरुले आफ्ना विद्यार्थीलाई नगद रकम दिने देखि लिएर, शुल्कमा छुट र फि तिर्ने समयावधि समेत बढाईदिन थालेकाे छ ।

अष्ट्रेलियामा संक्रमणको दर पनि दिनदिनै घटिरहेकोले अहिलेकै आशिंक लक डाउनको अवस्था धेरै लामो समयसम्म नरहने विश्लेषण पनि गरिएको छ । त्यसैले अहिले नै आत्तिएर नेपाली विद्यार्थीले खानै पाएनन् भनेर रोइकराई गर्नुको अर्थ छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ