Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयी हुन् विदेशी विद्यार्थीलाई राहत दिने अष्ट्रेलियाका विश्वविद्यालयहरु ।

यी हुन् विदेशी विद्यार्थीलाई राहत दिने अष्ट्रेलियाका विश्वविद्यालयहरु ।


सरल गुरुङ/व्रिजवेन

कोरानाका कारण अष्ट्रेलिया पनि आशिंक रुपले लक डाउनको अवस्थामा छ । अत्यावश्यक सेवा संचालनमा भएपनि अधिकांश आर्थिक कारोबारका क्षेत्रहरु बन्द छन् । जसका कारण लाखौ मानिस रोजगार बिहिन भएका छन् ।
नागरिक र स्थाई बसोबास पिआर लिएकाहरुलाई सरकारले विभिन्न आर्थिक प्याकेजहरु दिएकाले यो संकटमा पनि उनीहरुलाई खान बस्न खासै समस्या परेको छैन । तर, अधिकांश अन्तराष्ट्रिय विद्यार्थीहरुको अवस्था भने बिस्तारै समस्यामा पर्न थालेको छ । भएको काम गुमाएको तथा आफ्नो देशबाट पैसा ल्याउन सक्ने अवस्था समेत नहुदा विदेशी विद्यार्थीलाई मंहगो घरभाडा र शैक्षिक शुल्क तिर्न समस्या पर्न थालेको हो । अझ हालसालै अष्ट्रेलिया आएका विदेशी विद्यार्थीले झन धेरै समस्या भोग्न थालेका छन् । नयाँ परिवेश, काम नहुनु तथा चिनेजानेकाहरु पनि कम हुने भएकाले नयाँ विद्यार्थीका लागि यो बेला झनै समस्या थपिएको हो । धनी देशका विद्यार्थीहरुले भन्दा भारत, नेपाल, पाकिस्तान, बंगलादेश जस्ता कम आय भएको देशका अधिकांश विद्यार्थीहरुले भोग्ने समस्या एकै खालका छन् ।
अष्ट्रेलिया सरकारको तथ्याकं अनुसार हाल यहाँ विश्वविद्यालय, कलेज, प्राविधिक शिक्षालय भेट र एलिकोर्स गरेर झण्डै ६ लाख २५ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यी मध्ये ६० हजार जति नेपाली विद्यार्थी अष्ट्रेलियामा पढिरहेका छन् ।
अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक ३२.४ मिलियन डलर भन्दा बढी योगदान दिदै आएको छ । यो सन् २०१८ तथ्यांक हो । आन्तरिक विद्यार्थीलाई सरकारले राहतका विभिन्न प्याकेज उपलब्ध गराउदा समेत यत्ति ठुलो योगदान दिने अन्तराष्ट्रिय विद्यार्थीलाई वेवास्ता गरेको भन्दै आलोचना समेत हुन थालेको छ ।
तर, केन्द्र सरकारले राहत प्याकेज नदिएपनि राज्य सरकारहरु भने अन्तराष्ट्रिय विद्यार्थीको हकमा लचिलो देखिएका छन् । यो महामारीको समयमा अन्तराष्ट्रिय विद्यार्थीलाई टुहुरो बनाउन नहुने भन्दै अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्य सरकारले उनीहरुलाई पनि राहत दिन केन्द्र सरकारसंग लबिङ थालेको छ । भिक्टोरिया सरकारले त कोरोनाका कारण जागिर गुमाएका विद्यार्थी लगायत विभिन्न भिषामा रहेर काम गर्ने अधिकार भएकाहरुलाई समेत पुर्न अन्य काममा फर्कन सक्ने व्यवस्था गरेको छ । त्यसो त अन्तराष्ट्रिय विद्यार्थीहरुको अवस्था जोखिमयुक्त हुने देखेपछि अष्ट्रेलियाका शैक्षिक संस्थाहरुले समेत सहयोगको हात अघि बढाएका छन् । समस्याको पारो उकालो लाग्दै गर्दा अष्ट्रेलियाका विश्वविद्यालयहरुले अन्तराष्ट्रिय विद्यार्थीका लागि नगद पैसा, ऋण र खाद्यँन्नको व्यवस्था गर्न थालेको छ । केही कलेजहरुले समेत विद्यार्थीलाई राहत दिन थालेपनि आज हामी राहत दिन थालेका विश्वविद्यालयहरुको बारेमा चर्चा गर्दैछौ ।

४३ मध्ये २९ विश्वविद्यालयले दिदैछ राहत प्याकेज

अष्ट्रेलियाभर ४३ वटा विश्वविद्यालयहरु छन् ती मध्ये २९ वटा विश्वविद्यालयहरुले राहत प्याकेजको घोषणा गरेका छन् । राहत दिने विश्वविद्यालयको संख्या कुल विश्वविद्यालयको ६७ प्रतिशत हो । अर्थात अष्ट्रेलियाका ६७ प्रतिशत विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि राहत प्याकेजको घोषणा गरेका छन् । केही विश्वविद्यालयले शैक्षिक शुल्कमा समेत केही प्रतिशत छुट दिएका छन् ।
हामीले भारतमा रहेको अष्ट्रेलिया हाइकमिसनको वेवसाइट, विश्वविद्यालयका वेवसाइट र विभिन्न संचारमाध्यममा उपलब्धमा सामाग्रीका आधारमा राहत प्याकेज दिने विश्वविद्यालयहरुको सुचि र उनीहरुले वितरण गर्ने राहतका बारेमा संक्षिप्तमा जानकारी दिने प्रयास गरेका छौ । यो जानकारी बारे थप बुझ्नका लागि सम्बन्धित विश्वविद्यालयको वेवसाईटमा जानका लागि पनि हामी अनुरोध गर्दछौ ।
राहत आवश्यक परेका विद्यार्थीले यथासक्य आफुले अध्ययन गरिरहेको शैक्षिक संस्थामा इमेल वा टेलिफोनमार्फत सम्पर्क गरि आफ्नो अवस्थाका बारेमा जानकारी गराउन व्रिजवेनका शैक्षिक परामर्शदाता अभिमानसिंह बस्नेत बताउनुहुन्छ ।

राहत प्याकेज घोषणा गरेका विश्वविद्यालयहरु

डेकिन विश्वविद्यालय

डेकिन विश्वविद्यालयले २५ मिलियन डलर विदेशी विद्यार्थीको सहायताका लागि छुट्याएको छ ।

मोनाश विश्वविद्यालय

यो विश्वविद्यालयले विद्यार्थीका लागि १५ मिलियन डलरको प्याकेज घोषणा गरेको छ । संकटमा परेका विद्यार्थीलाई ५ सय डलरसम्मको आर्थिक प्याकेज र अत्यावश्यक बसोबासका लागि पनि विश्वविद्यालयले खर्चको जोहो गरिदिने जनाएको छ ।

फिलिन्डरर्स विश्वविद्यालय

यो विश्वविद्यालयले १२.५ मिलियन डलर बराबरको सहायता प्याकेज घोषणा गरेको छ । जसबाट आपत्तकालिन अवस्थामा विद्यार्थीले ५ सय डलरसम्म सहायता पाउनेछन् । त्यस्तै छुट्टै छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

आरएमआइटी विश्वविद्यालय

आरएमआइटीले कोभिड १९ बाट प्रभावित विद्यार्थीका लागि १० मिलियन डलरको छात्रवृत्ति प्याकेज घोषणा गरेको छ ।

कर्टिन विश्वविद्यालय

यो विश्वविद्यालयले ठ्याक्कै रकम त घोषणा गरेको छैन । तर, कोभिड १९ बाट प्रभावित बनेका आन्तरिक र विदेशी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।

वेष्टर्न सिड्नी विश्वविद्यालय

यो विश्वविद्यालयले विद्यार्थीका लागि विभिन्न खाले आर्थिक प्याकेजहरुको घोषणा गरेको छ ।

अष्ट्रेलियन नेश्नल विश्वविद्यालय

यो विश्वविद्यालयले २१ मिलियन डलरको राहत प्याकेज वितरण गर्दैछन् ।

युनिभर्सिटी अफ कुइन्सल्याण्ड

यो विश्वविद्यालयले छोटो अवधीका लागि आर्थिक सहायता र २ हजार डलरसम्मको आपत्तकालिन ऋणको पनि व्यवस्था गरेको छ ।

चाल्स स्ट्रट विश्वविद्यालय

कोरोनाको प्रभावमा परेका विद्यार्थीलाई जनही ५ सय डलर सहायता गर्ने घोषणा यो विद्यँलयले गरेको छ ।

मुरडच विश्वविद्यालय

यो विश्वविद्यालयले विद्यार्थीलाई ५ सय देखि १ हजार डलरसम्मको सहायता उपलब्ध गराउने बाचा गरेको छ ।

मक्वाइरी विश्वविद्यालय

यो विश्वविद्यालयले तत्कालका लागि आपतमा परेका विद्यार्थीलाई २ सय ५० डलर दिने घोषणा गरेको छ । त्यस्तै एक पटकका लागि २ हजार डलरसम्म ऋण दिने जनाएको छ ।

युनिभर्सिटी अफ क्यानवेरा

यो विश्वविद्यालयले विद्यार्थीका लागि खाद्यान्न र ट्वाइलेट पेपरको व्यवस्था गरेको छ । थप सहयोग आवश्यक परेमा विदेशी विद्यार्थीले विश्वविद्यालयमा तत्काल इमेलमार्फत सम्पर्क गर्न पनि सुचित गरिएको छ ।

युनिभर्सिटी अफ टेक्नोलाजी सिड्नी युटिएस

यो विश्वविद्यालयले आपत्तमा परेका विद्यार्थीलाई बस्ने व्यवस्था गरेको छ । जसका लागि विद्यार्थीले विश्वविद्यालयलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

इडिथ कोवान विश्वविद्यालय

यो विश्वविद्यालयले विद्यार्थीलाई विविध तवरले सहायता गर्न लागेको छ । आर्थिक संकटमा परेका विद्यार्थीलाई शैक्षिक शुल्कमा छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै मापदण्ड पुगेका विद्यार्थीलाई २ हजार डलरसम्मको आर्थिक राहत प्याकेजको समेत व्यवस्था गरिएको छ ।

भिक्टोरिया विश्वविद्यालय

यो विश्वविद्यालयले आपत्तकालिन आर्थिक सहायतादेखि घरभाडासम्ममा विद्यार्थीलाई सहयोग गर्न लागेको छ । जसका लागि विद्यार्थीलाई १ सय देखि ५ सय डलरसम्म आर्थिक सहयोग गर्दैछ ।

युनिभर्सिटी अफ सिड्नी

यो विश्वविद्यालयले अन्तराष्ट्रिय विद्यार्थीलाई आर्थिक सहायता नदिएपनि विद्यार्थीका लागि सामान्य सहायता भने गर्ने भएको छ । जसले अत्यावश्यक बसोबास र पढाइका लागि खर्च गर्न सकिने छ ।

ला ट्रोब विश्वविद्यालय

यो विश्वविद्यालयले दुइ खालको सहायता उपलब्ध गराउदैछ । घरमा इन्टरनेट नहुने विद्यार्थीलाई १५० डलर र ३ हजार डलरसम्म अन्य आर्थिक संकटका लागि सहायता गर्ने जनाएको छ ।

ग्रिफिथ विश्वविद्यालय

यो विश्वविद्यालयले ब्याज नलिईकन विद्यार्थीलाई ऋणको व्यवस्था गर्दैछ । विदेशी विद्यार्थीले ६ महिनामा तिर्ने गरि एक हजार डलरसम्म ऋण लिन सक्नेछन् ।

अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय एसियु

यो विश्वविद्यालयले विद्यार्थीलाई ऋण दिने व्यवस्था गरेको छ ।

चाल्र्स डार्विन विश्वविद्यालय

यो विश्वविद्यालयले २५ प्रकारका छात्रवृत्तिको व्यवस्था गरेको छ ।

स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी

यो विश्वविद्यालयले आपत्तमा परेका विद्यार्थीलाई १ हजार डलरसम्म सहायता गर्ने जमर्को गरेको छ ।

युनिभर्सिटी अफ न्यु क्यासल

यो विश्वविद्यालयले १० लाख डलर विद्यार्थीको सहायताका लागि छुट्याएको छ ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया

यो विश्वविद्यालयले १० मिलियन डलरको सहायता कोष खडा गरेको छ ।

युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलिया

यो विश्वविद्यालयले कोभिड १९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीका लागि सहायता दिने घोषणा गरेको छ ।

युनिभर्सिटी अफ एडिलेड

यो विश्वविद्यालयले पनि विद्यार्थीलाई आर्थिक सहायताको लागि हात बढाएको छ ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्स

यो विश्वविद्यालयले अप्ठ्यारोमा परेका विद्यार्थीलाई २ सय देखि २ हजार डलरसम्मको सहायता गर्ने निधो गरेको छ ।

युनिभर्सिटी अफ साउर्थन कुइन्सल्याण्ड

यो विश्वविद्यालयले कोभिड १९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई ५ सय र १ हजार डलरको छुट्टा छुट्टै राहतको घोषणा गरेको छ ।

युनिभर्सिटी अफ तास्मानिया

यो विश्वविद्यालयले दु्रतमार्गबाट विद्यार्थीलाई ३ सय ५० डलरदेखि २ हजार डलरसम्मको सहायता रकम दिने तयारी गरेको छ ।

युनिभर्सिटी अफ ओलङगोङ

यो विश्वविद्यालयले विद्यार्थीको बसोबासका लागि १५ सय डलरसम्मको सहायता दिने घोषणा गरेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ