Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना विरुद्धको खोप निमार्णमा अष्ट्रेलिया एक कदम अगाडी, जनावरमा गरिएको परिक्षण सफल ।

कोरोना विरुद्धको खोप निमार्णमा अष्ट्रेलिया एक कदम अगाडी, जनावरमा गरिएको परिक्षण सफल ।

सन् २०२१ को सुरुवात तिरबाट खोप उत्पादन सुरु हुने


ब्रिजवेन
स्वास्थ्य क्षेत्रको नयाँ नयाँ आविष्कारमा अष्ट्रेलियाले धेरै प्रगती गरिसकेको छ । त्यहि मार्ग पछ्याउदै कोरोना विरुद्ध लड्ने खोपको आविष्कारमा समेत अष्ट्रेलिया निकै अगाडी देखिएको छ । डिसेम्बरमा कोरोनाको संक्रमण सुरु भएदेखि नै अष्ट्रेलियाको कुइन्सल्याण्ड विश्वविद्यालयले यसविरुद्धको खोप निमार्णमा अनुसन्धान केन्द्रित गरिरहेको छ । घडीको हरेक प्रहर वैज्ञानिकहरुले खोप निमार्णमा खर्च गरिरहेका छन् । विश्वविद्यालय र पिटर डोहर्टी इन्ष्टिच्युट फर इन्फेक्सन एण्ड युम्युनिटीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको हो । यो टोलीलाई कोओलिसन फर इपिडेमिक प्रिपेडनेस इनोभेसन (सिपी) ले संयोजक गरिरहेको छ ।

खोपको विभिन्न प्रकार तयार गरेर यति बेला कुइन्सल्याण्ड विश्वविद्यालयका वैज्ञानिकहरु क्लिनिकल परिक्षणमा जुटिरहेका छन् । खुसीको कुरा नै मान्नुपर्छ वैज्ञानिकहरुले गरेको सुरुवाती परिक्षणमा खोपले कोरोना भाइरसलाई परास्त गर्न उल्लेख्य नतिजा हासिल गरेको छ ।
युनिभर्सिटी अफ कुइन्सल्याण्डले बुधबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार पहिलो चरणमा गरिएको जनावरमा गरिएको परिक्षणमा खोपले एन्टिबडी निमार्णलाई तिब्रता दिएको र त्यसले भाइरसलाई मार्न सहयोग पुगेको जनाइएको छ ।
अनुसन्धान टोलीको नेतृत्व गरिरहेका वैज्ञानिक प्राध्यापक पल योङले जनावरमा गरिएको प्रारम्भिक परिक्षणले सोचे जस्तै नजिता दिएको बताउनुभयो । ‘हामीले आशा गरेजस्तै नतिजा पाएका छौ’- प्राध्यापक योङले भन्नुभयो -‘यो नतिजालाई हामीलाई निकै उत्साहित बनाएको छ ।’
प्राध्यापक पलले परिक्षणमा खोपको प्रभाव कोरोना निको भएका विरामीको शरिरमा भएको एन्टीबडीभन्दा बलियो देखिएको बताउनुभयो ।

कोरोना विरुद्धको खोप अनुसन्धानको निरिक्षण गर्दै कुइन्सल्याण्ड राज्यकी प्रिमियर एनास्तासिया पालास्चुक Photo- UOQ

कोरोना विरुद्धको खोपको जनावरमा गरिएको परिक्षणको नतिजा र यसअघि सार्स विरुद्धको खोपको जनावर परिक्षण नतिजा उस्तै भएकाले पनि यो खोपले मानव शरिरमा समेत प्रभावकारी ढंगले काम गर्ने विश्वास लिइएको छ ।
अनुसन्धानमा सहयात्री बनिरहेको डोहर्टी इन्ष्टिच्युटका वैज्ञानिक प्राध्यापक कान्ता सुबाराउले सार्स विरुद्धको खोपको प्रारम्भिक नतिजा जस्तै सफलता मिलेकाले यो खोपले पनि सफलता पाउने आशा व्यक्त गर्नुभयो ।
आगामी जुलाईको पहिलो हप्ताबाट खोपको मानव परिक्षण सुरु गरिने तयारी भइरहेको छ । यदि मानव परिक्षण सफल भएमा सन् २०२१ को सुरुवात तिरबाट खोप उत्पादन सुरु हुनेछ । यसअघि चीन, अमेरिका र बेलायतले पनि कोरोना विरुद्धको खोप आविष्कारमा उल्लेख्य सफलता हासिल गरिसकेको छ ।

Phot0 credit- University of Queensland



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ