Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया आजबाट झनै खुकुलो । सबैभन्दा बढी प्रभावित राज्यमै खुल्यो पव र रेष्टुरेन्ट

अष्ट्रेलिया आजबाट झनै खुकुलो । सबैभन्दा बढी प्रभावित राज्यमै खुल्यो पव र रेष्टुरेन्ट

नेपाली व्यवसायीहरु पनि उत्साही बनेका छन्


ब्रिजवेन/सरल गुरुङ

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कोरोनाबाट सबैभन्दा बढी प्रभावित बन्यो । यो सामाग्री तयार पार्दासम्म ३ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ भने ४५ जनाले ज्यान गुमाए । खासगरी सबैभन्दा ठुलो शहर सिड्नी यहि राज्यमा हुुनु तथा डायमण्डप्रिन्स क्रुज सिप यहि उत्रिएकाले कोरोना संक्रमणको दर निकै आकासिएको हो ।
तर, डेढ महिना लामो सकसपछि अन्ततः न्यु साउथ वेल्स राज्यले शुक्रबारबाट केही हलुंगो स्वास फेर्न लागेको छ ।

न्यु साउथ वेल्स राज्यमा शुक्रबारबाट पव, क्लब, रेष्टुरेन्ट र क्याफेहरु खुलेका छन् । कोरोनाको संक्रमण दर नियन्त्रणमा आएसंगै राज्यले प्रतिबन्धहरु खुकुलो पारेसंगै यी सेवाहरु खुल्न लागेका हुन् । राज्यको अर्थतन्त्रलाई चलायमान बनाउन पव र क्लबलाई पनि खुल्ला गर्न लागिएको बताइएको छ । राष्ट्रिय मन्त्रिपरिषदको सुझावपछि न्युसाउथवेल्स राज्यले पव र क्लबहरु पनि खोल्ने निर्णय गरेको हो । पव र क्लबमा मदिरा र खानाका लागि सामाजिक दुरी कायम गरि १० जनासम्म पाहुना टेबलमा बस्न सक्नेछन् । तर, जुवा र पोकरभने बन्द नै रहनेछ । टेक वे सेवा भने पहिले जस्तै सुचारु हुनेछन् । कोरोना संकटसंगै यी सेवाहरु बन्द रहदै आएका थिए ।

त्यस्तै १० जनासम्म खुल्ला सार्वजनिक स्थलमा जम्मा हुन पाइने भएको छ । त्यस्तै ५ जनासम्म आफन्तको घरमा समेत जान पाइने छ । त्यस्तै सामाजिक दुरी कायम गरेर १० जनासम्मले रेष्टुरेन्ट र क्याफेमा बसेर खाना खान समेत पाउनेछन् । त्यस्तै विवहामा १० जना पाहुना सहभागी हुन पाउनेछन् भने मृत्यु संस्कारका लागि खुल्ला ठाउमा २० जनासम्म जम्मा हुन पाइने गरि खुकुलो नियम लागू गरिएको छ ।

सबैभन्दा धेरै नेपाली बसोबास गर्ने राज्यमा कोरोना प्रतिबन्ध खुकुलो हुदै गएपछि त्यहाका रहेका नेपाली व्यवसायीहरु पनि उत्साही बनेका छन् । सिड्नीको रकडेलमा थर्ड आइ पार्टी प्यालेस संचालन गरिरहेका शिष थपलिया सरकारको यो निर्णयप्रति निकै सकारात्मक देखिन्छन् । अहिले नै १० जनाका लागि मात्रै पार्टी प्यालेस खोल्न नसकिएपछि छिट्टै दोस्रो चरणको खुकुलो हुनेमा थपलिया आशावादी देखिए । त्यस्तै सिड्नी सिबिडीस्थित मुग्लान नामक नेपाली रेष्टुरेन्टका संचालक मध्येका एक पाश्चल थकालीले भने शुक्रबार बाटै आफ्नो रेष्टुरेन्ट खोल्ने बताए । ‘हामी सामाजिक दुरी कायम गरि कर्मचारीको पनि स्वास्थ्यमा ध्यान दिदै रेष्टुरेन्ट खोल्छौ’- थकालीले भन्नुभयो -;६ हप्तादेखि बन्द रहेको रेष्टुरेन्ट खोल्न पाउदा निकै खुसी लागेको छ ।’

कुइन्सल्याण्ड शनिवारको पर्खाइमा

अष्ट्रेलियाको तेस्रो ठुलो शहर ब्रिजवेन भएको राज्य हो कुइन्सल्याण्ड । कोरोनाको संक्रमण शुन्यमा झरेपछि कुइन्सल्याण्ड पनि मे १६ तारिख शनिवारदेखि झनै खुकुलो हुने भएको छ । कुइन्सल्याण्डमा १ हजार ५२ जनामा कोरोना देखिएको थियो । ती मध्ये १६ जना मात्रै निको हुन बाकी छ । शनिवारदेखि कुइन्सल्याण्ड राज्यका पार्क, खेलकुद मैदान र बारविक्यु खुल्ने तयारी छ । त्यस्तै व्युटी पार्लरमा पनि एक पटकमा १० जनासम्मलाई खुल्ला गरिदैछ । त्यस्तै यसअघि ५० किलोमिटर दुरीको यात्रा अझै खुकुलो गरि अब घरबाट १ सय ५० किलोमिटर परसम्म यात्रा गर्न पाइने भएको छ ।
त्यस्तै १० जनासम्म पौडी र व्ययामका लागि भेला हुन पाउनेछन् । त्यस्तै विवहाका लागि पनि १० जना अतिथी भेला हुन पाउनेछन् । यस हप्ताको खुकुलोपनको विश्लेषण गरि आगामी दिनमा कसरी अझै खुल्ला गर्दै लाने भन्ने विचार गरिने बताइएको छ ।

Photo- Anjan Dallakoti



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ