Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपालीको उद्दार गरिने, फर्कन चाहानेले भर्नुस् यो फारम ।

अष्ट्रेलियाबाट नेपालीको उद्दार गरिने, फर्कन चाहानेले भर्नुस् यो फारम ।

जुन ८ तारिखमा उद्दार गरिने


सरल गुरुङ/ब्रिजवेन

कोरोनाका कारण अष्ट्रेलियामा अप्ठ्यारोमा परेका नेपालीको अन्ततः उद्दार हुने भएको छ । जुन ८ तारिखमा अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक र बासिन्दा लिएर क्यानवेरा आउन लागेको नेपाली विमान फर्कने बेला यहा फसेका नेपालीलाई घर फर्काउन लागिएको हो ।
यसअघि दुइ पटक नेपाली विमान अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । क्यानवेरास्थित नेपाली दुतावासले यहाँ फसेका नेपाली फर्काउन पहल गरिरहेकाे छ । नेपाल फर्कन चाहानेले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने छ । नेपाल फर्किएपछि पालना गर्नुपर्ने ७ बुदे नियम हामी केही तल लेखेका छौ ।
सरकारले यसअघि मे १५ तारिखमा कोरोनाका कारण विभिन्न देशमा फसेका नेपाली नागरिकलाई स्वदेश फर्काउनका लागि सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेको थियो । त्यसमा नेपाली कामदारको मुख्य गन्तव्य खाडी देश र मेलेसिया परेपनि विकसित मानिएको अष्ट्रेलियाबाट उद्दार गर्ने विषय प्राथमिकतामा परेको थिएन । तर, दुइ पटक सम्म विमान रित्तै फर्किसकेकाले तेस्रो पटक अष्ट्रेलिया आउने नेपाली विमान रित्तै फर्कन नदिन यहाको राजदूतावासलाई चर्को दवाव परेको थियो । निकै मेहनत गरेपछि अष्ट्रेलियाबाट नेपाली उद्दार गर्ने कार्य संभव हुन लागेको अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बताउनुभयो ।
यसअघि अप्रिल २ मा अष्ट्रेलियाको ब्रिजवेनमा र मे ७ मा सिड्नीमा आएको नेपाली ध्वजाबहाक विमान रित्तै फर्केको थियो । अष्ट्रेलियामा कार्यक्रम सहभागी हुन आएका, छोराछोरी भेट्न आएका अभिभावक, खेलाडी लक डाउनका कारण रोकिएका छन् । केही विद्यार्थीसमेत घर फर्कन चाहान्छन् ।

नेपाल फर्कन चाहानेले भर्नुस फारम

क्यानवेरास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहानेहरुको विवरण संकलन सुरु गरेको छ । नेपाल जानका लागि सम्बन्धित व्यक्तिले दूतावासको वेवसाइटमा राखिएको ट्राभल टु नेपाल भन्ने फारम भर्नु पर्ने छ । यस अघि नेपाल फर्कनका लागि टेलिफोन, इमेल र फेसबुकमार्फत नाम टिपाएका ४ सय जना भन्दा बढी नेपालीले पनि यो फारम भनुपर्ने राजदूत दाहालले बताउनुभयो । फारम जुन २ तारिखभित्र भरिसक्नुपर्नेछ ।
विमानको क्षमता २ सय ७० जनाको मात्रै भएकाले प्राथमिकताको आधारमा नेपाल फिर्ता पठाइने समेत दुतावासले जनाएको छ । पहिलो उडानमा नअटेकाहरुलाई अर्को पटक विमान चार्टर गरेर भएपनि फर्काउने पहल गरिने राजदूत दाहालले जानकारी दिनुभयो । नेपाल फर्कनका लागि व्यक्तिले हवाई शुल्क भने तिर्नुपर्नेछ । हवाई टिकटको मुल्य केही दिनमा निर्धारण गरिने दुतावासले जनाएको छ ।

नेपाल फर्कनेले पालना गर्नुपर्ने नियम यस्तो छ ।

कोरोना फैलन नदिन नेपाल फर्कनेहरुले निम्नलिखित सर्तहरु पालना गर्नुपर्नेछ ।

१- नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।

२- हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।

३- स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।

४- विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

५- नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

६- विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।

७- नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ