Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर : लकडाउन थपदेखी एमसीसी बिवाद र संबिधान संशोधनको चर्चा

नेपालका प्रमुख पाँच खबर : लकडाउन थपदेखी एमसीसी बिवाद र संबिधान संशोधनको चर्चा


काठमाडौं । शनिबार दिनभर नेपालमा यी प्रमुख पाँच खबरले चार्चा पाए । आइतबार समेत यीनै खबरले निरन्तरता पाउनेछन् ।

खबर नम्बर १ : नेपालमा पहिलो रेकर्ड बनाउनेगरि पछिल्लो २४ घण्टामा १८९ कोरोना संक्रमित थपिए । संक्रमित १४ सयबाट उकालो लाग्दैगर्दा दैलेखको क्वारेन्टाइनमा बसेका एक जनाले कोरोनाकै कारण ज्यान गुमाउँदा मृतकको संख्या ७ पुग्यो । उपचारपछि २ सय १९ जना निको भएका छन् ।

खबर नम्बर २ : सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउनको समयसिमा बढाएर जेठ ३२ सम्म पुर्याएको छ । आवश्यक परे सेना समेत परिचालन गरिने निर्णय सरकारले गरेको छ । असार १६ सम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको सरकारले लकडाउनको मोडालिटि परिवर्तनका लागि बिज्ञसँग परामर्श थालेको छ ।

खबर नम्बर ३ : रुकुम पश्चिमको चौरजहारीमा पाँच युवाको मृत्यु र एक जना बेपत्ता भएको घटनाले शनिबार समेत चर्चा पायो । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सांसदले घटना पूर्व योजनाअनुसार नै भएको निष्कर्ष निकाल्दै न्यायीक र निष्पक्ष छानविनसहित दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

निश्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग राख्दै देशका विभिन्न स्थानमा प्रदर्शन समेत जारी राखिएका छन् । २०७७ जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमो बिभत्स घटना घटेको थियो ।

खबर नम्बर ४ : सत्तारुढ दल नेकपामा फेरी घटपट देखिन थालेको छ । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई पार्टी छलफल र सहमती बिनै बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बल्झिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् भने नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले समेत आपत्ति जनाएका छन् । एमसीसी मात्रै होइन पद बाँडफाड लगायतका थुप्रै बिषयमा नेकपा नेताहरुबीच मतभेद रहँदैआएको छ ।

खबर नम्बर ५ : सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित कुटी, गुञ्जी, नावी, कालापानी समेटिने गरी दर्ता गरेको संशोधन प्रस्ताव अघि बढ्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीयकार्य समिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव कांग्रेस बैठकले सशोधनमा सघाउने निर्णय गरेसँगै आइतबार प्रस्तुुत हुने भएको हो ।

प्रतिनिधिसभाको बैठक नेपाली समय अनुसार आइतबार बिहान ११ बजे बोलाइएको छ । संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७\७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ