Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर कोरोना रोकथाममा सेना परिचालनको तयारीदेखी भीआइपी जुवाडे पक्राउसम्म

नेपालका प्रमुख पाँच खबर कोरोना रोकथाममा सेना परिचालनको तयारीदेखी भीआइपी जुवाडे पक्राउसम्म


काठमाडौं । मंलगबार नेपालमा दर्जनौँ खबरले चर्चा र प्राथमिकता पाए । कोरोनाको त्रासदी देखाएर स्वदेशी तरकारी नष्ट गरिएकोदेखी जुवाखालबाट उच्च व्यवसायीक घराना पक्राउ परेकोसम्म मंगलबारको खबर प्राथमिकता बने । एकैदिन २ सय ८८ कोरोना संक्रमित थपिएर त्रासदी बढ्दा लकडाउन खुकुलो नपारे अवज्ञा गर्ने भन्दै उद्योगी व्यवसायीले सरकारलाई चेतावनी दिए । नेपालमा मंगलबार दिनभर चर्चा र प्राथमिकता पाएका खबर यस्ता छन् ।

सेना परिचालनको तयारी, कहाँ कहाँ राखिन्छ त सेना ?

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा सेना परिचालनको प्रस्ताव लैजाने निर्णय गरेसँगै देशमा संशय उत्पन्न भएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार पारेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेको कार्ययोजनाअनुसार भारतसहित तेस्रो मुलुकबाट आउने नागरिकलाई होल्डिङ सेन्टरमा र्पुयाउने र त्यहाँबाट स्थानीय पालिकाले तयार पारेको क्वारेन्टिनसम्म र्पुयाउने काममा सेना खटिनेछन् ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश–२०७७ अनुसार सेनाले सीमा नाका र काठमाडौंमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी लिनेछ । क्वारेन्टिनको सुरक्षा, रेखदेख निगरानी र अभिलेख व्यवस्थापन गर्ने, क्वारेन्टिन स्थलको सुरक्षामा नेपाली सेनाका अतिरिक्त जनपथ र सशस्त्र प्रहरी पनि परिचालित गरिनेछ । मुख्य भूमिकामा नेपाली सेना नै रहनेछ

कोरोना संक्रमण दर उच्च

मंगलबार नेपालमा २ सय ८८ जनामा कोरोना संक्रमण पहिचान भयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । ७७ जिल्ला मध्ये ६१ जिल्लामा कोरोना विस्तार भएको छ । अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना छन् ।

प्रदेश १ मा १२०, प्रदेश २ मा ७११, वागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश ५ मा ६२२, कर्णाली प्रदेशमा २५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १८ सय २५ संक्रमित आइसोलेसनमा उपचाररत रहँदा २ सय ६६ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतबाट आएकाहरु छन् ।

लकडाउन खुकुलो बनाऔँ : निजी क्षेत्र

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले लकडाउन खुकुलो बनाउन कोभिड १९सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई आग्रह गरेका छन् । यही मोडलको लकडाउन जारी रहे स्वीकार्य नहुने उनीहरुको चेतावनी छ ।

लगातारको लकडाउनका कारण आर्थिक क्षेत्र धरासायी हुन लागेको र यसमा निर्भर मजदुरहरु भोकमरीमा पर्ने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ लगायतले सुरक्षा सावधानी सहित बजार पसल खुलाउन माग गरेका हुन् । यातायात व्यवसायीले समेत स्वरोजगार मजदुर समस्यामा पर्ने भन्दै आवश्यक सतर्कता सहित सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

उच्च घरानीयाका उद्योगी व्यवसायी जुवा खेल्दैगर्दा पक्राउ

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको छ ।

बैंकर, इन्सुरेन्स सञ्चालक, कपडा व्यवसायी, चिया उद्योगी पक्राउ परेको जुवाखालबाट २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन बरामत भए । उनीहरुमाथी जुवा ऐन अन्तर्गत पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।

काउन्सेलर र श्रम सहचारी छानिए

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकहरुका लागि काउन्सेलरहरु र श्रम सहचारीहरु छनौँट गरेको छ । मन्त्रालयका अनुसार दक्षिण कोरियाको श्रम काउन्सेलरमा रमा भट्टराई, कतारका लागि कृष्णप्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल छनौटमा परेका हुन् ।

यस्तै, श्रम सहचारीमा शाखा अधिकृतहरू प्रमिला केसी (यूएई), दिनेश ढकाल (ओमान), प्रकाश पन्थी (मलेसिया), विपना ज्ञवाली (कुवेत), प्रेम उपाध्याय (साउदी अरब) का लागि छानिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ