Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख पाँच खबर : क्वारेन्टाइनमा स्वास्थ्यकर्मी कुटिएको देखि, स्वास्थ्य संकटकाल र नागरिक उद्धारको तयारीसम्म

प्रमुख पाँच खबर : क्वारेन्टाइनमा स्वास्थ्यकर्मी कुटिएको देखि, स्वास्थ्य संकटकाल र नागरिक उद्धारको तयारीसम्म


काठमाडौं । नेपालमा कोरोना महामारीले तिब्रता पाएसँगै स्वास्थ्य संकटकालको तयारी थालिएको छ । यतिमात्रै होइन क्वारेन्टाइनमा स्वास्थ्यकर्मी कुटिएका छन भने, विदेशबाट स्वादेश ल्याइनेहरुको बसोबास, सुरक्षा लगायतको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

कोरोना रोकथाम तथा उपचारमा बढ्दैगरेको खर्च र लकडाउनमा व्यवसायीलाई कर तिर्ने सुचना निकालेर विवादित बनेको आन्तरिक राजश्व कार्यालयले समयसिमा बढाएको लगायतका खबरले दिनभरजसो प्राथमिकता पाए । नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

नेपालमा स्वास्थ्य संकटकालको तयारी

नेपालमा कोरोना संक्रमणले तिब्रता पाएसँगै सरकार स्वास्थ्य संकटकाल(हेल्थ इमर्जेन्सी) घोषणाको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संघटकाल घोषणा सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीका अनुसार हेल्थ इमर्जेन्सी जारी भएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु स्वत लागु हुनेछन् । स्वास्थ्य संकटकालको घोषणासँगै सरकारले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि आह्वान गर्न सक्नेछ । हेल्थ इमर्जेन्सीमा सबै निजी अस्पताल र त्यहाँका जनशक्ति सरकारले चाहे अनुसार परिचालन गर्न, र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट समुदायमा कतिको संक्रमण फैलिएको छ भन्ने थाहा पाउन ‘मास स्क्रिनिङ’ गरिनेछ ।

बुधबार मात्रै २ सय १ संक्रमित थपिएर नेपालमा कोरोना पुष्टि हुनेहरुको संख्या १३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा दोलखाका एक मृतक थपिएर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या २ सय ७८ पुगेको छ ।

विदेशका नेपाली स्वदेश ल्याउने तयारी अन्तिम चरणमा

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धारको सरकारी तयारी अन्तिम चरणमा पुगेको छ । परराष्ट्र, गृह, पर्यटन, श्रम, मन्त्रालय लगायतका निकायहरूबीच व्यवस्थापनका विषयमा समन्वय गरेर केन्द्रदेखि पालिकासम्मको तयारी अन्तिम चरणमा पुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक दूरी कायम हुने गरी रेखांकन तथा अन्य सुरक्षाको काम पुरा भएको छ । नेपाली नागरिकलाई स्वदेश फर्किन दिनमा १० वटासम्म उडान भर्ने गरि निर्णय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा धेरै समस्यामा परेका करिब २५ हजार श्रमिकको उद्धार गर्ने सरकारको तयारी छ । खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेकाहरु पहिलो प्राथमिकतामा छन् ।

क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

रौतहटको राजपुर नगरपालिका ९ मा रहेको बैरीया क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट भयो । ठुलो संख्यामा आएका गाउले तथा क्वारेन्टाईनमा रहेका ब्यक्तीहरुले स्वास्थ्यकर्मी शेख खुरसैदलाई रक्ताम्य हुने गरी कुटेका हुन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ भने अन्य स्वास्थ्यकर्मीको पनि हात भाचिने गरी कुटपिट भएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको जाँच गर्दा अधिकांशको कोरोना पोजेटिभ देखिएपछि गलत जाँच गरेको भन्दै क्वारेन्टाइनमा बस्नेसँगै स्थानीयले चिकित्सकमाथी कुटपिट गरेका थिए । चिकित्सकमाथीको कुटपिटले क्वारेन्टाइनमा रहेका ब्यक्तीहरुको कोरोना जाँच थप कठिन बनेको छ ।

कोरोना नियन्त्रण, उपचार र राहतमा १० अर्ब खर्च

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालमा अहिलेसम्म करिब १० अर्ब खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार यो खर्च कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेट मार्फत खर्च भएको छ । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड र प्रदेशहरुबाट १ अर्ब ८ करोड अनि स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको रेकर्ड छ । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण आउँदासम्म कोरोना रोकथाम तथा उपचारमा भएको खर्च थप बढ्ने देखिन्छ ।

कर तिर्न ताकेता, सच्याइयो भाखा

व्यवसायीहरुको नाममा मगंलबार सरकारले जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदियो । लकडाउन रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंगमात्रै पैदा भएर व्यवसायीहरु आक्रोशित बने ।

लकडाउन ३२ गते पुर्याएर व्यवसायीलाई कर तिर्न गरेको ताकेताले सकारकारसँगै आन्तरिक राजश्व विभागको चौतर्फी बिरोध भएपछि अहिले कर बुझाउने समय बढाएर असार ७ गते पुर्याएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ