Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख ५ खबर : कोरोनाको कहरमा लकडाउन खुकुलो पार्ने चर्चा, सुरु भयो विदेशमा रहेका नेपालीको उद्धार

प्रमुख ५ खबर : कोरोनाको कहरमा लकडाउन खुकुलो पार्ने चर्चा, सुरु भयो विदेशमा रहेका नेपालीको उद्धार


काठमाडौं । एकै दिन नयाँ रेकर्ड बनाउनेगरी कोरोना संक्रमित थपिएको खबर, लकडाउनको मोडल परिवर्तनको तयारी, विदेशबाट नेपाली उद्धारको चटारो, भारतीय मिडियाको तिब्र आलोचना पछि अभिनेत्री मनिसा कोइराला नेपाल आएर होटल क्वारेन्टाइनमा बसेको लगायतका खबरले बिहिबार नेपालमा चर्चा पाए । यस्ता छन्, नेपालका बिहिबारका प्रमुख ५ खबर

थप एक जनाको मृत्यु तिब्र गतिमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ३ सय ३४ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको परिक्षणबाट ३१९ पुरुष र १५ महिला थपिएका हुन् । प्रदेश १ का १२ जिल्लामा १ सय ९७ प्रदेश २ का सबै ८ जिल्लामा ९ सय ६३ बागमतीका १२ जिल्लामा ५९, गण्डकी प्रदेशका ७ जिल्लाका ५३, पाँच नम्बर प्रदेशका ११ जिल्लामा ८ सय ९८, कर्णालीका ६ जिल्लाका ३ सय ८३ र सुदुरपश्चिका ९ जिल्लामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ २० गते पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका पाल्पा पूर्व खोला गाउपालिका सिलुवाका ४५ बर्षिया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । २ सय ९० जना कोरोना मुक्त भएका छन् ।

फेरिदै लकडाउनको मोडालिटी

सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले सरोकारवाला निकायसँग छलफल जारी राखेको समितिलाई नै लकडाउनको मोडालिटी टुङ्ग्याउने जिम्मेवारी दिएको हो । आइतबारको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटि लागू गर्ने बताइएको छ ।

केही दिनदेखी नीजि क्षेत्रका व्यवसायीहरुले लकडाउन खुकुलो पारेर व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएका थिए भने बिहिबार काठमाडौं लगायतका विभिन्न स्थानमा पसल नै खोलेका थिए । निरन्तरको लकडाउनले व्यवसायी आजित बनेर बिरोधमा उत्रिएपछि सरकार लकडाउनको मोडालिटि बारे छलफल गर्न बाध्य भएको हो ।

मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले बिहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म कायम छ ।

अभिनेत्री कोइराला नेपाल आएर क्वारेन्टाइनमा

अभिनेत्री मनिषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टाइनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टाइनमा बसेकी हुन् । नेपाली सेनाको स्कर्टिङमा काठमाडौं आएकी उनी होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेपछि घर जानेछिन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टाइनमा बसेकी थिइन् ।

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिदै आएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’

भारतीय मिडियाको चर्को आलोचनापछि नेपाल आएकी अभिनेत्री कोइराला यतै बस्छिन वा फर्किन्छिन अहिले नै केही खुलाइएको छैन ।

सस्तियो उडान भाडा, कहिले उड्ने उपभोक्ता ?

काठमाडौं । लकडाउन र हवाई उडानमा लागेको प्रतिवन्धपछि हवाई इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँ कम भएर सेवा प्रदायक कम्पनीले भाडा घटाएपनि उपभोक्ताले सुविधा लिन पाएका छैनन् । हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरिएको छ ।

बुद्ध एयरका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम् ११०५ देखि न्यूनतम २२५ रुपैयाँसम्म हवाई भाडा घटेको छ । कम्पनीका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ८६० रुपैयाँ सस्तो हुनेछ । भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २७०, ३९५ र ६०० रुपैयाँले जनकपुरको ३२०, सिमराको २२५, भैरहवाको ५१५, धनगढीको ११०५ र नेपालगन्जको ८१५ रुपैयाँ भाडा घटेको छ । बुद्धबाहेक अन्य कम्पनीले भने घटेको भाडादर सार्वजनिक गर्न बाँकी छ ।

एक साताभित्र एसइई परिक्षा बारे निर्णय आउने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय आउने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल इजोनसँगको भर्चुअल संवादमा मन्त्री पोखरेलले परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताउनुभएको हो । अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका सरकारले छलफल जारी राखेको छ । पहिला अस्थायी शिकाईको बिकल्प र ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्ने मन्त्री पोखरेलको दाबी थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ