Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : बढ्दै गरेको कोरोना कहरमा नागरिक उद्धारको चटारो, राजदूतको आपत्तिदेखी सेनाको सक्रियतासम्म

प्रमुख खबर : बढ्दै गरेको कोरोना कहरमा नागरिक उद्धारको चटारो, राजदूतको आपत्तिदेखी सेनाको सक्रियतासम्म


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालमा भारतबाट स्वदेश फर्किएकाहरुका कारण कारोनाको कहर बढ्दैगर्दा म्यानमार, युएई लगायतका देशबाट नेपाली नागरिकको उद्धार सुरु भएको छ । व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेसँगै सरकार जेठ महिनाभित्रै बन्दाबन्दी खुकुलो पार्ने तयारीमा जुटेको छ । नेपालमा शुक्रबार केकस्ता बिषयले खबर प्राथमिकता पाए त ? हेरौँ यी प्रमुख पाँच खबर ।

कोरोना संक्रमित बढ्दै थप एकको मृत्यु

शुक्रबार सुर्खेतमा एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । अहिलेसम्म ३ सय ३३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा गोरखा, कास्की र हुम्ला सहित बिभिन्न जिल्लामा २ सय ७८ कोरोना संक्रमित थपिएसँगै नेपालका ६८ जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

शुक्रबारसम्म प्रदेश १ का १२ जिल्लामा २४२, प्रदेश २ का ८ वटै जिल्लामा ९ सय ९३, बाग्मती प्रदेशका १२ जिल्लामा ८५, गण्डकी प्रदेशका ९ जिल्लामा ५७, प्रदेश ५ का ११ जिल्लाका ९ सय ६५, कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ र सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोराना फैलिएर ९१ जना संक्रमित पहिचान भएका छन् ।

कोरोना नियन्त्रणमा सेनालाई सक्रिय बनाइदै

कोरोना नियन्त्रणको सम्पूर्ण जिम्मा सरकारले नेपाली सेनालाई दिनेगरी काम अघि बढाएको छ । सोहीअनुसार विदेशमा रहेका नागरिकलाई स्वदेश फिर्तीका लागि सहजीकरण गर्ने काम अहिले नेपाली सेना मार्फत भैरहेको छ । नेपाली सेना सक्रिय भएपछि सरकारले गठन गरेको ९ विभागीय मन्त्री सम्मिलित उच्चस्तरीय समन्वय समिति निश्क्रिय बन्ने भएको छ ।

अहिले विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म, त्यहाबाट सम्बन्धित पालिकासम्म स्वदेश फर्किएकाहरु पु¥याउने जिम्मा सेनाले पाएको छ । भारतबाट स्थलमार्ग भएर आउने नागरिकको व्यवस्थापनमा पनि पछिल्लो समय सेना खटाइएको छ । यता कतिपय मन्त्रीहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक शासन कमजोर बनाएर कोरोना नियन्त्रण फौजी कमाण्डको जिम्मामा छाड्न खोजेको आरोप लगाउँदै आएका छन् ।

लकडाउन खुकुलो पारिदै

सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी थालेको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरेपनि व्यवसायीबाट अवज्ञा सुरुभएपछि लकडाउनको मोडालिटि फेर्न लागिएको हो ।

नयाँ रणनीति अनुसार जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु, कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु मापदण्ड अनुसार सञ्चालन हुन दिइनेछ । असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु खुलाउने तयारी छ ।

असार १७ देखी अन्तर्राष्ट्रिय उडान, शिक्षण संस्था लगायतका क्षेत्र खुलाउने, रेस्टुरेन्ट र खाजा पसल असार १७ पछि मात्रै सञ्चालनमा ल्याउने तयारी सरकारको छ ।

कोरोना बिमा पुनः सुचारु

कोरोना बिमा रोकिएको एक दिनपछि पुनः सुरु भएको छ । जोखिम वहनमा सरकारले सहयोग गर्ने भएपछि बिमा समितिले कोरोना बिमा सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । बजेटमै समेटिएको ‘कोरोना बिमा’ योजना मा सर्वसाधारणको आकर्षण देखिएर सुरु गरेको दुई महिना बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराएका थिए ।

कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए । शुक्रबार सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि कोरोना बिमाले निरन्तरता पाएको छ ।

स्वदेश फिर्ताको सुरुवातमै तीन राजदुतको आपत्ति

युएई र म्यानमारबाट शुक्रबार १ सय ९४ जना नेपालीले स्वदेश फर्किने मौका पाए । युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज साँझ ६ बजे काठमाडौँ आइपुग्यो भने म्यान्माबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपाली स्वदेश फर्किए । एयर अरेबियाको जहाजमा एउटा शवसमेत ल्याइएको थियो । म्यानमारको सेनाको विमानमा २ नेपाली सहित ४३ जना फर्किए ।

यी दुबै उडान नेपाल सरकारको थिएन । म्यानमार र युएई सरकार आफैले समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन सहयोग गरेको हो । यता, विदेशमा फसेका तथा समस्यामा परेका नेपालीहरुको चार्टर्ड विमान मार्फत उद्धार गर्न सुरु गरिदैगर्दा सरकारको तयारीमाथि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरुले नै गम्भीर प्रश्न उठाएका छन् ।

साउदी अरेबियाका लागि नेपाली राजदूतडा. महेन्द्रप्रसाद सिंह राजपुत, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले चार्टर्ड प्लाइट महंगो भएको भन्दै व्यवसायीक उडान सुरु गरेर आफ्ना नागरिकको उद्धार थाल्न सरकारलाई सुझाब दिए । कम्पनीले काटेको टिकट हुँदा हुँदै चार्टर्ड प्लाइटका नाममा अर्को टिकट काट्ुपर्ने बाध्यताले स्वदेश फर्किनेहरु मारमा परेको उनीहरुले बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ