Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख पाँच खबर : कोरोना विस्तार, स्वास्थ्य पूर्वाधारको जोहोदेखी प्रदेश मन्त्रालयमा अख्तियारको छापासम्म

प्रमुख पाँच खबर : कोरोना विस्तार, स्वास्थ्य पूर्वाधारको जोहोदेखी प्रदेश मन्त्रालयमा अख्तियारको छापासम्म


पुण्यप्रसाद धमला, काठमाडौं । देशभर बढ्दै गरेको कोरोना कहरसँगै सरकारी तहबाट क्वारेन्टाइन, आइसोलेसन लगायतका स्वास्थ्य पूर्वाधारको अनुगमनको तयारीसँगै प्रदेशगत रुपमा कोरोना अस्पताल विस्तार भैरहेका छन् । कतिपय स्थानमा स्वास्थ्य पूर्वाधार खरिदमा अनियमितता भएको आरोप समेत लागिरहेको छ । यी बिबिध घटनाक्रमसँगै प्राथमिकताका पाँच खबर यस्ता छन् ।

७१ जिल्लामा कोरोना विस्तार

आइतबार रोल्पामा समेत कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोना विस्तार भएको छ । आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

प्रदेश १ का १२ जिल्लामा २ सय ५९, प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१, कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ।

क्वारेन्टाइनमा बस्नेहरु र आइसोलेसनमा समेत कोरोना संक्रमित बढ्दैगर्दा सांसदहरुले नै क्वारेन्टिनस्थल हिरासत, जेल र गोठजस्ता भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

गर्भवती र सुत्केरीका लागि छुट्टै क्वारेन्टाइन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरि ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विज्ञहरुसँगको भर्चुअल बैठकमा मन्त्री गुरुङले विदेशबाट उद्धार गरि ल्याइएको गर्भवती तथा सुत्केरीहरुका लागि क्वारेन्टाइन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको जानकारी गराउनुभएको हो ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, असहाय लगायतको क्षेत्रमा मन्त्रालयले संवेदशील भएर काम गर्ने बताउनुभयो । बैठकमा सहभागी विज्ञहरुले कोरोना महामारीबाट जोगाउन महिलाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न, महिला हिंसाका घटना रोक्नेतर्फ ध्यान दिन मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएका थिए ।

विराटनगरमा ७४ शैयाको कोरोना अस्पताल सञ्चालनमा

कोरोना भाइरस (कोभिड(१९) का संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । यसअघि विराटनगर र धरानमा कोरोना अस्पताल सञ्चालन गरेर संक्रमितको पहिचान र उपचार हुदैआएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा नयाँ अस्पताल सञ्चालनमा ल्याइएसँगै ५२ जनालाई भर्ना गरिएको छ ।

संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरुलाई गोठगाउँमा राख्ने जानकारी दिदै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भर्ना प्रक्रिया अनलाइन प्रणालीबाट हुने जानकारी दिनुभयो । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यवस्थापन टिम तयार गरिएको छ ।

कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापन नेपाली सेनाले गर्नेछ । तत्काल ७४ बेड क्षमतामा सञ्चालनमा ल्याइएको कोरोना अस्पतालको क्षमता विस्तार गरेर १२५ पुर्याउने लक्ष्य छ ।

प्रदेश मन्त्रालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोय अनुसन्धान आयोगले प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा छापा मारेको छ । मन्त्रालयमा व्यापक अनियमितता र अपारदर्शी काम भएको भन्ने उजुरीपछि बर्दिवासस्थित आयोगको टोलीले आइतबार छापा मारेको हो ।

प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटी पीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भन्दै उजूरी परेको बताइएको छ । आयोगले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा औपचारिक रुपमै दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्ष समान हैसियत रहनेगरी महन्थ ठाकुर र उपेन्द्र यादव रहनेगरी दल दर्ता गरिएको हो । पार्टीको बरिष्ठ नेतामा क्रमश बाबुराम भट्टराई राजेन्द्र महतो र अशोक राई रहने भएका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकता घोषणा भएको थियो । नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा लामो समयदेखी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ