Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजागिर खोसिदा युवाले गरेको आत्मदा’हदेखी विदेशबाट तत्काल उद्धार गर्नुपर्नेको सूची र कोरोनाको कहरसम्म

जागिर खोसिदा युवाले गरेको आत्मदा’हदेखी विदेशबाट तत्काल उद्धार गर्नुपर्नेको सूची र कोरोनाको कहरसम्म


काठमाडौं । कोरोनाको कहरसँगै आर्थिक गतिबिधि ठप्प हुँदा नेपालमा समेत हजारौँले रोजगारी गुमाएका छन । जागिरबाट निकालिएपछि अछामका एक व्यक्तिले शरिरमा आ’गो लगाएर आत्मदा’ह गरे । न्याय हेल्थ नेपालले गरेको यो अन्याय मात्रै होइन् तत्काल स्वदेश फर्काउनेपर्नेको सूचीसहित नागरिक उद्धारमा सरकारले चासो देखाएको छ । ६ जना युवाले ज्यान गुमाउनुपरेको रुकुम पश्चिम घटना छानविनका लागि संसदीय विशेष समिति गठन गरिएको बिषय र कोरोना संक्रमणमा सर्वत्र चासो देखिदैगर्दा नेपालमा प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

विदेशबाट तत्काल उद्धार गर्नुपर्ने २४ हजारको सूची

सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची बनाएको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १ सय ४८ रहेको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुझाएको विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक रहेका छन् । सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार रहेका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार गर्नुपर्ने भनेर सम्बन्धित नियोगले विवरण पठाएका छन् ।

अमेरिकाबाट ६ सय ४६, अष्ट्रेलियाबाट १३ सय, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जना तत्काल उद्दार गर्नुपर्ने सूचीमा परेका छन् । खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरु यो सूचीमा समावेश छन् । सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यहाँ समावेश गरिएका छैनन ।

रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय विशेष समिति

रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदीय विशेष समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने समयसिमा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेको समितिमा इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन् ।

जेठ ३२ गते बंगलादेशबाट २ सय ६५ जनाको उद्धार

बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपालीलाई स्वदेश फर्काइने भएको छ । पहिलो उडानमा नेपाल आउने यात्रुको नामवाली तय भएकोमा अधिकांस मेडिकल विद्यार्थी र नेपाली सेना रहेका छन् । ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड १९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ ।

बंगलादेशस्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्समार्फत नेपाल आउनको लागि १९ हजार ९ सय ५८ रुपैयाँ टिकट मुल्य तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ । बंगलादेशबाट नेपाल फिर्नको लागि ८ सय ६० जनाले आवेदन दिएका छन् । दूतावासले दोस्रो उडानको लागिसूची बनाइसकेपनि उडान मिति भने तय भएको छैन ।

तिब्र गतिमा कोरोना विस्तार

पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला छन् । अहिलेसम्म निको हुने संक्रमितहरुको संख्या ४ सय ८८ पुग्दा कोरोना संक्रमणका कारण १४ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ९ सय ७१ पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी परिक्षण पुरा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सय ६६ जनाको पीसीआर बिधिबाट स्वाब परिक्षण र ११ हजार ९ सय ४२ जनाको आरडीटी परिक्षण गरिएको छ ।

जागिरबाट निकालिएपछि आत्मदा’ह

अछामको बयलपाटा अस्पतालले जेठ १२ गते कामबाट निकालिएको पत्र थमाएका अछाम साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले आफैलाई आगो लगाएर आत्मदा’ह गरेका छन् । उनलाई ज’ल्लैगर्दा देखेका कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर हेलिकोप्टरबाट कोहलपुर अस्पताल पुर्याइएपनि शरिरको अधिकांश भाग जलेकाले बचाउन सकेनन् ।

चार वर्षअघि मुम्बईबाट फर्किएका उनले एक वर्षदेखि कार्यालय सहयोगीका रुपमा काम गरेर अस्पतालबाट मासिक रुपमा आउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए । अस्पतालले १२ जेठमा उनीसहित ११ जनालाई अवकास पत्र थमायो । तीन दिनपछि थप २२ जना जागिरबाट निकालिए । अहिले निकालिएका अधिकांश कर्मचारी अन्याय भयो भन्दो आन्दोलित छन् ।

बयलपाटा अस्पतालमा मात्रै होइन दोलखाको प्रस्तावित चरिकोट अस्पतालमा समेत न्यायहेल्थ नेपालले १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ । आन्दोलन गरिरहेका चरिकोटका कर्मचारी न्याय हेल्थले मर्न बाध्य पारेको आरोप लगाइरहेका छन् । न्याय हेल्थमाथी विदेशी अनुदान दुरुपयोग गरेको आरोप लाग्दा पनि छानविन हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ