Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपाली विमान चढेर सुटुक्क गए ११ नेपाली ।

अष्ट्रेलियाबाट नेपाली विमान चढेर सुटुक्क गए ११ नेपाली ।

को हुन् ती भाग्यमानी नेपाली


सरल गुरुङ/क्यानवेरा
तेस्रो पटक अष्ट्रेलिया आएको नेपाली ध्वजाबहाक विमानमा ११ नेपाली सुटुक्क स्वदेश फर्किएका छन् । दुइ दुइ पटक अष्ट्रेलिया आएको विमान रित्तै फर्किएपछि तेस्रो पटक चाहि जसरी पनि यहाँ फसिरहेका नेपालीको उद्दार गर्नुपर्ने माग तिब्र रुपमा उठेको थियो । तेस्रो पटक विमान आउदा कम्तिमा पनि २ सय ७० जनालाई उद्दार गर्ने तयारी अनुसार अष्ट्रेलियामा फसिरहेका १४ सय नेपालीले स्वदेश फर्कनका लागि अनलाईन फारम भरेका थिए ।
तर, अन्तिम समयमा प्राविधिक कारण देखाउदै तेस्रो पटक पनि विमान रित्तै फर्किने क्यानवेरास्थित नेपाली दुतावासले जानकारी गराएको थियो । तर, जुन ९ तारिखमा काठमाडौबाट अष्ट्रेलियाको राजधानी क्यानवेरा आएको नेपाली विमानमा भने सुटुक्क ११ नेपाली फर्किएका छन् । दूतावासले स्वदेश फर्किने नेपालीले हवाई भाडा तिर्नुपर्ने सुचना जारी गरेको थियो । तर, ११ नेपाली भने निशुल्कै फर्किएको बुझिएको छ ।

गत मार्च २५ तारिखदेखि कोरानाका कारण अष्ट्रेलियाले सिमा बन्द गरेर लक डाउन गरेको थियो । हवाई उडान बन्द भएपछि  घुम्न आएका तथा समस्यामा परेका नेपालीहरु घर फर्कन नपाएर अप्ठ्यारोमा परेका थिए । उनीहरुले सुरु देखि नै स्वदेश फर्काइदिन दूतावास, गैरआवासिय नेपाली संघ, मिडिया र सामाजिक संघसंस्थासंग हारगुहार गर्दै आएका थिए । मेलवर्नमा फसिरहेका एक पूर्व क्रिकेट खेलाडी अनिल अधिकारीले त भोक हड्ताल नै गरेका थिए । तर, पटक पटक विमान रित्तै फर्किदा पनि आफुहरुको उद्दार नगरेको भन्दै उनीहरुले चर्को आलोचना गरेका थिए । तर, तेस्रो पटक पनि ११ जना नेपालीलाई मात्रै सुटुक्क पठाएपछि उनीहरु खिन्न बनेका छन् । यो समाचार सुनेपछि आफु पनि आश्चर्य चकित भएको खेलाडी अधिकारीले नेपालीट्युबलाई बताउनुभयो । ‘म दूतावासको सम्पर्क मै थिए तर, अचानक ११ जनालाई मात्रै स्वदेश पठाएको खबरले दुखित भएको छु’- अधिकारीले भन्नुभयो ।

को हुन् ती भाग्यमानी नेपाली ?

दुतावास स्रोतका अनुसार सुटुक्क नेपाल फर्किनेमा पित्त थैलीको क्यान्सरबाट पीडित एक नेपाली युवा विशाल पौडेल र उनकी श्रीमति एलिशा अधिकारी छन् । ब्रिजवेनमा बस्दै आएका यी नेपाली दम्पत्ति क्यान्सरको उपचार गर्न भारत जान लागेका थिए । तर, सिधै जाने हवाई उडान नभएपछि नेपालको बाटो हुदै जान लागेका हुन् । विशालको उपचारका लागि अष्ट्रेलियाका नेपालीले झण्डै ९० हजार डलर सहयोग संकलन समेत गरिसकेका छन् । मानविय संवेदनाका हिसाबले विशाल र एलिशा नेपाल फर्कनु स्वभाविक हो । त्यस्तै अष्ट्रेलियामा अलपत्र परेकी भनिएकी सुनिता परियारलाई पनि दुतावासले नेपाली फर्काएको छ । त्यस्तै गृहमन्त्रालयबाट तालिमका लागि अष्ट्रेलिया आएका दुइ कर्मचारी जितेन्द्र बलामी र जयकला राई पनि विमानमा फर्किएका छन् । यी दुइ कर्मचारीलाई काठमाडौस्थित अष्ट्रेलियाली दूतावासकै पहलमा फिर्ता पठाइएको स्रोतले जानकारी दियो ।
तर, अन्य ६ जना चाहि को थिए खुलेको छैन । विमान चढ्ने बेला क्यानबेरा विमानस्थलमा पुगेका दूतावासका कर्मचारीले दिएको जानकारी अनुसार ६ जना मध्ये ४ महिला, एक पुरुष र एक बालक छन् । उनीहरु छोराछोरी भेट्न आएका जस्तो देखिने ती कर्मचारीले जानकारी दिए । नेपाल फर्किने यी नेपालीको नाम पहिला दुतावासमा नआएको र उनीहरु सिधै विमानस्थल पुगेर जहाज चढेको स्रोतको भनाई छ । यसबारे बुझ्न खोज्दा राजदूत महेश दाहाल र दूतावासका उच्च पदाधिकारीसंग सम्पर्क हुन सकेन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ