Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर : सरकार विरोधी प्रदर्शनदेखी कोरोनाको कहरसम्म

नेपालका प्रमुख पाँच खबर : सरकार विरोधी प्रदर्शनदेखी कोरोनाको कहरसम्म


काठमाडौं । हरेक दिन कोरोना संक्रमित बढ्दैगर्दा सडकमा सरकार बिरोधी प्रदर्शन विस्तार हुँदैछ । आन्दोलनले बढाउनसक्ने कोरोनाको जोखिमतर्फ सरकारले सचेत गराउँदै आएको छ । लकडाउनका कारण बिजनेस नपाएका होटलहरु विदेशबाट स्वदेश फर्काउनेहरुलाई राख्ने क्वारेन्टिन बन्ने प्रतिस्पर्धी बन्दैगर्दा सरकार कर लिने ताकेता रोक्ने गरी अदालतले जारी गरेको अन्तरिम आदेश खारेजी माग गर्दै अदालत पुगेको छ ।

यी र यस्ता धेरै खबरले चर्चा र स्थान पाएको नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

सीसीएमसीको गम्भिर ध्यानाकर्षण
देशका मुख्य सहरहरुमा सरकारविरोधी प्रदर्शनले निरन्तरता पाएसँगै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ । समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गर्नुभएको हो ।

मन्त्री पोखरेलले पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको उल्लेख गर्दै सरकारले गरेको कोरोना रोकथाम खर्चको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने जानकारी दिनुभएको छ । सरकारको कोरोना रोकथामको कामकारबाही र खर्च विवरण अपारदर्शी भएको भन्दै काठमाडौं उपत्यका सहित देशका ३० बढी जिल्ला र सहरमा केही दिनदेखी सरकार बिरोधी प्रदर्शन भैरहेको छ ।

देशव्यापी बन्दै प्रदर्शन
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको तथा खर्च पारदर्शी नभएको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् । उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, पोखरा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा, जनकपुर, विराटनगर लगायतका सहरमा पनि युवा, अभियन्ता तथा व्यवसायीहरुले स्वस्फूत रुपमा प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

केही दिनयता युवा तथा अभियान्ताहरूले पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च विवरण पारदर्शी हुनुपर्ने लगायतमा माग राख्दै प्रदर्शन गर्दै आएका छन् । यता, सरकारले लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिदैआएको छ ।

एकैदिन थपिए ४४८ कोरोना संक्रमित, मृतकको संख्या १६ पुग्यो
नेपालमा शुक्रबार सबैभन्दा बढी ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

अहिलेसम्म संक्रमित मध्ये ८७७ जना कोरोना जितेर घर फर्किदा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार मात्रै अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्थानीय सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनको उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन
राजस्व दाखिलासम्बन्धी सर्वोच्च अदालतको अन्तरिम आदेशले कानूनी मूल्यमान्यता लत्याएको भन्दै सरकारले त्यसको खारेजीको माग गरेको छ । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले अन्तरिम आदेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतमा दर्ता भएको निवेदनमा सरकारले कर दाखिला गर्न बाध्यकारी व्यवस्था नगरेको उल्लेख गरिएको छ ।

सरकारले असार मसान्तभित्र कर दाखिला गर्नुपर्ने भनी निकालेको सूचना तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको थियो ।

लकडाउनमा होटलको क्वारेन्टिन मोह, यस्तो छ दैनिक शुल्क
लकडाउनले व्यवसाय ठप्प भएपछि देशभरका होटलहरु क्वारेन्टिन बन्न इच्छुक देखिएका छन् । सरकारले विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल बनाउन ठमेलका ३०, राजधानीका अन्य स्थानमा रहेका ५७, चितवनका २६ र लुम्बिनीका ४३ होटल सहित १ सय ५६ होटल क्वारेन्टिन बन्न इच्छुक देखिएका हुन् ।

होटल संघका अनुसार चारतारे होटलमा क्वारेन्टिन बस्न प्रतिव्यक्ति ८ हजार रुपैयाँ, तीनतारेमा प्रतिव्यक्ति ६ हजार, दुईतारेमा ५ हजार, एकतारेमा ४ हजार तथा पर्यटक स्ट्यान्डर्ड होटलमा बस्न प्रतिव्यक्ति प्रतिरात ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । ट्विन सेयरिङमा भने उल्लेखित दरभन्दा केही सस्तो पर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ