Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपाल फर्कन तिर्नुपर्ने भो २४ सय डलर भाडा

अष्ट्रेलियाबाट नेपाल फर्कन तिर्नुपर्ने भो २४ सय डलर भाडा


सरल गुरुङ/ब्रिजवेन
कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीहरुलाई नेपाल फर्कनका लागि सरकारले सार्वजनिक गरेको हवाई भाडा ‘नखाउ भने दिनभरीको सिकार खाउ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । अष्ट्रेलियाबाट नेपाल फर्कने विमान भाडा १६ सय १५ अमेरिकी डलर अर्थात झण्डै २४ सय अष्ट्रेलियन डलर पर्नेे भएको छ । यो भाडा दर सरकारले उद्दार गर्न लागेको ३० देशमध्ये सबैभन्दा धेरै हो ।

विभिन्न भिषामा आएका १३ सय नेपालीले स्वदेश फर्कनका लागि नेपाली दूतावास क्यानवेरामा फारम भरेका छन् । सरकारले उद्दार गर्ने र भाडा तिर्नै परेपनि केही सस्तो हुने आशामा हरेक दिन दूतावासले जारी गर्ने सूचना हेरेर घर फर्कने दिन कुरिरहेका नेपालीलाई यो भाडादरले ठुलै झट्का दिएको छ । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले सरकारले तोकेको भाडा दर ढाड सेक्ने गरि महंगो भएको भन्दै भाडामा पुर्नविचार गर्नुपर्ने माग राख्नुभयो । ‘यो व्यवसायिक उडान नभई उद्दार भएकाले भाडामा सरकारले पुर्नविचार गर्नुपर्छ’- गुरुङले भन्नुभयो ।


नेपाल गएर क्वारेन्टाईनमा बस्ने खर्च समेत आफैले व्यहोर्नुपर्ने भएकाले पनि स्वदेश यात्रा खर्चिलो हुने देखिएको छ । भाडा मंहगो परेपछि फारम भरेका सबै नेपाली स्वदेश फर्केलान् भन्न सकिन्न । नेपालबाट खाली आउनुपर्ने भएकोले दोहोरो भाडा र यहा“को विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खर्च पनि थपिएकाले भाडा केही महंगो पर्न गएको दूतावासको भनाई छ । यसअघि १८ सय अमेरिकी डलर भाडा तोकिएको भएपनि आफ्नो पहलमा १६ सयमा झारिएको राजदूत महेश दाहालले दाबी गर्नुभयो । नेपालबाट उद्दार गरिएका अष्ट्रेलियनले पनि यत्ति नै भाडा तिरेकाले यसैलाई ज्यादै महंगो भन्न नहुने राजदूतको भनाई छ ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले यसअघि तीन पटक अष्ट्रेलिया आएको विमानमै नेपालीलाई स्वदेश पठाउन पाइएको भए भाडा आधा सस्तो पर्ने बताउनुभयो । अहिले भाडा भन्दा पनि यहाँ अलपत्र परेका नेपालीलाई फिर्ता पठाउनु महत्वपूर्ण भएको कँडेलको भनाई छ । सरकारले विमान चार्टर गर्न स्थानिय दुतावासलाई नै अनुमति दिए एनआरएनएले सस्तोमा विमान खोज्न पहल गर्ने कँडेलले बताउनुभयो ।

आगामी जुन १७ र २२ तारिखमा हवाई उडान हुने भनिएपनि तयारी नपुगेका कारण १७ तारिखको सट्टा २५ तारिखमा उडान हुन लागेको दूतावासले जनाएको छ । दूतावासले मेलवर्न र सिड्नीबाट हवाई उडान गर्ने तयारी गरेको छ ।

पिसिआर टेष्ट निशुल्क

विदेशबाट नेपाल फर्किनेले अनिवार्य कोरोना नलागेको प्रमाणपत्र देखाउन अनिवार्य गरिएको छ । जसका लागि यात्रुले पिसिआर परिक्षण गर्नुपर्ने नियम छ । अष्ट्रेलियाबाट फर्कनेहरुका लागि नेपाली चिकित्सकहरुको संस्थाले निशुल्क पिसिआर परिक्षण गरिदिने तयारी गरेको छ । अष्ट्रेलियासिन नेपलिज मेडिकल एण्ड डेन्टल एशोसियसन एम्डाले मेलवर्न र सिड्नीमा निशुल्क पिसिआरको व्यवस्था गर्न लागेको एम्डाका प्रवन्धक पुनम पन्तले जानकारी दिनुभयो । सिड्नीको मेरिल्याण्डस्थित रेलवे मेडिकल टेरेसमा पिसिआर निशुल्क गरिने तय भएको र मेलवर्नमा पनि निशुल्क परिक्षणका लागि प्याथोलोजीसंग कुराकानी भईरहेको पन्तको भनाई छ ।

सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको छ । नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् ।

Phot0-Airbus



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ