Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वसम्मतिले पारित भयो संविधान संशोधन, अब निसान छापमा नयाँ नक्सा

सर्वसम्मतिले पारित भयो संविधान संशोधन, अब निसान छापमा नयाँ नक्सा


काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा निसान छपभित्र राख्न भन्दै संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकबाट संविधान संसोधन दोश्रो विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो राजनीतिक र प्रशासनिक नक्सामा अध्यावधिक गराएको थियो । संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्र नयाँ नक्सा राख्नका लागि जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको थियो । दर्ताको १० दिनपछि अर्थात जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयक पारित भएसँगै संविधानको अंग बनेको छ ।

भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दै अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गरेको नेपालले प्रमाण संकलनका लागि विज्ञ समिति समेत गठन गरेको छ । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाको छलफलबाट पारित भएसँगै सरकारी कामकाजमा प्रयोग हुने निसान छापमा नयाँ नक्साले स्थान पाउनेछ । संविधान संशोधनमा समर्थन गरेका दल र सांसदहरुले कुटनीतिक माध्यमबाट भूमि फिर्ताको पहल थाल्न सरकारलाई सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ