Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर :उद्धार उडानको भाडा घटेकोदेखी अति’क्रमित भूमि फिर्ताको चासोसम्म

प्रमुख खबर :उद्धार उडानको भाडा घटेकोदेखी अति’क्रमित भूमि फिर्ताको चासोसम्म


काठमाडौं । कोरोना संक्रमण बढ्दो क्रममा देखिदा बजार तथा पसल खोल्नेगरी लकडाउन खुकुलो बनाइएको छ । विदेशबाट आउनेहरुले भाडा महंगो भएको गुनासो बढिरहँदा सरकारले उडान भाडा घटाएको छ । वर्षातसँगै बाढी पहिरोको जोखिम बढिरहँदा सरकार नयाँ नक्सा अनुसारको भूमि फर्काउने पक्रियामा जुटिरहेको छ । नेपालमा चर्चा र महत्व पाएका यी प्रमुख पाँच खबर हेरौँ ।

पर्वतमा पहिरोमा पुरिएर दुईजनाको मृ’त्यु, ७ जना बेपत्ता
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहरोमा परी दुईजनाको मृ’त्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । वडा नम्बर तीनका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार मृत्यु हुनेमा एकजना कमला विक र अर्का एकजनाको पहिचान हुन सकेको छैन । पहिरोमा दुई घर पुरिएका छन् भने एउटा घरमा पूर्णरुपमा क्षति भएको वडाध्यक्ष पाध्याले बताउनुभयो । शनिबार राती नौँ बजे गएको भिषण वर्षापछिको पहिरोमा फसेका र हराई रहेकाको खोजी तथा उद्धारमा नेपाली सेना परिचालित भएको छ ।

फेरी घट्यो उद्धार उडान भाडा
सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा दोश्रो पटक पुनः घटाएको छ । चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो । त्यसको २४ घण्टामा फेरि भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ । यो पटक प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको पहलमा घटाइएको भाडा अनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट घटेर ३७२ डलर कायम भएको छ । दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२, दुबईबाट नेपाल फर्किँदा ४५० तोकिएकोमा अब ३६० डलर टिकट खर्च लाग्नेछ । साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ । ओमानको भाडा ४६० बाट ३६८, बहराइनको ४९० बाट ३९२ डलर कायम गरिएको छ । कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट घटाएर ७३० डलर निर्धारण गरिएको छ ।

नेपालको संविधान संशोधनमा भारतीय चासो
नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि संविधान संशोधन प्रस्ताव पारित गरेको बारे भारतले प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छोटो लिखित प्रतिक्रिया व्यक्त गर्दै “नेपालको दाबीको पछाडि ऐतिहासिक तथ्य वा प्रमाण नभएको” उल्लेख गरेका छन् ।

नयाँ नक्सासम्बन्धी नेपालले चालेको कदमलाई लिएर भारत पहिलेदेखि नै असन्तुष्ट रहँदै आएको छ । नेपाल र भारतबीचको पछिल्लो तनाव गत नोभेम्बरमा भारतले ती विवादित भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि सुरु भएको थियो । शनिवार संसदले संशोधन प्रस्ताव पारित गरेपछि प्रधानमन्त्री केपी ओलीले अब भारतसँग वार्ता गरिने बताएपनि पछिल्लो भारतीय प्रतिक्रियाले वार्ताको बाटो सहज नहुने संकेत गरको छ ।

विस्तार हुँदै कोरोना, १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा २७३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा झापाका ५ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, रौटहटका ९४ जना, महोत्तरीका १ जना, सर्लाहीका १२ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका २५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, गुल्मीका २ जना, रुपन्देहीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगंज महानगरपालिका घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षिया बेवारिसे पुरुषमा गरिएको पीसीआर जाँचको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत बारा निजगढ वडा नम्बर ६ का तीन वर्षीया बालकमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टिसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या ९ सय १३ पुगेको छ ।

कोरोना रोकथामको खर्च विवरण
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा प्रदर्शन भइरहँदा सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार सार्वजनिक गरेको खर्च विवरणमा तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेका छन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको बताइएको छ । औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख खर्च भएको देखाइएको छ । प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहबाट एकमुष्ठ २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ