Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : कोरोना कहरमा लम्बिदै उडान स्थगन, उच्चस्तीय समिति खारेजी

प्रमुख खबर : कोरोना कहरमा लम्बिदै उडान स्थगन, उच्चस्तीय समिति खारेजी


काठमाडौं । कोरोनाको संक्रमण विस्तार भैरहदा सरकार आफैले खर्च ब्यहोरेर नीजि प्रयोगशालामा परिक्षण गर्ने निर्णयमा पुग्यो । उडान स्थगनको समयसिमा लम्ब्याएको सरकारले उच्चस्तरीय समन्वय समिति समेत खारेज गरेको छ । सोती काण्डका अभियुक्त बिरुद्धको मुद्धा दर्ता मात्रै होइन सरकारलाई दबाब दिन समेत आन्दोलन हुँदै आएका छन् । चर्चा र महत्व पाएका नेपालका प्रमुख ५ खबर हेरौँ ।।

थपियो उडान स्थगनको समयसीमा
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्म रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई स्थगन गरकोे आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानस्थगनको समयसिमा अब असार २१ सम्म पुगेको छ ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवाको उडान स्थगन गएिको थियो । व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ । हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन् । आइतबार मात्रै नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान भरेको थियो । वाइडबडी विमान मार्फत २ सय ५८ नेपालीलाई स्वदेश ल्याइएको लकडाउन सुरु भएयताको यो १ सय २४ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो ।

नीजि प्रयोगशालालाई समेत कोरोना परिक्षणको अनुमति
सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जाँच गर्दा लाग्ने खर्च सरकारले नै ब्यहोर्ने जानकारी दिनुभयो ।

नमुना धेरै संकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न थालेसँगै सरकार नीजिमा समेत परिक्षण बिस्तार गरेर दायरा बढाउन लागिपरेको हो । विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि अब काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन परिक्षण हुनेभएको छ ।

सोती काण्ड : ३१ जना बिरुद्ध मुद्धा दर्ता
रुकुम पश्चिमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना प्रत्यक्ष संलग्नताको अभियोग सहित मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा आईतवार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता गरेको हो ।

घटनामा ३४ जना संलग्न रहेको अनुसन्धानबाट खुलेपनि, तीन जना प्रत्यक्ष नभई षडयन्त्रमा सामेल भएको पाइएको छ । अभियोग लगाइएका मध्ये ५ जना फरार छन् । नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीसहित उनकी आमा र नाताले ठूलोबाबु पर्ने इन्द्रबहादुर मल्ललाई घटनाको षडयन्त्रमा सामेल भएको अभियोग लगाइएको छ । आरोपितहरुमाथि ६ जनालाई क्रुरतापूर्वक ज्यान मारेको अभियोग लगाइएको छ । आइतबार अबेर आरोपपत्र दर्ता भएकाले सोमबारदेखि बयान र थुनेछक बहस सुरु हुने बताइएको छ ।

उच्चस्तीय समन्वय समिति खारेज
सरकारले कोरोना नियन्त्रण गर्न गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । अब सबै काम कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट गर्नेगरी उच्चस्तरीय समन्वय समितिलाई निस्क्रिय पारिएको हो । चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको सचिवको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो ।

कोरोनाको विश्वव्यापी कहर बढेपछि र नेपालमा समेत एकजना सङ्क्रमित फेला परेपछि न्यूनीकरणका लागि सरकारले उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सम्मिलित उच्चस्तरीय समन्वय समिति बनाइएको थियो । यही समितिले पहिलोपल्ट अन्तर्राष्ट्रिय सीमानाका, हवाइ उडान रोक्ने र चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।

एक्कै दिन थपिए ४२५ कोरोना संक्रमित, १९ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । रुकुम पूर्व थप भई कोेरोना बिस्तार हुने जिल्लाको संख्या ७३ पुगेको छ ।

देशभरका विभिन्न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट गुल्मी धुर्कोटका एक पुरुषको मृत्यु भएसँगै कोरोनाका कारण देशभर १९ जनाले ज्यान गुमाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ