Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबल्ल तय भयो अष्ट्रेलियाबाट नेपाल फर्कने उडान । यस्तो उडान तालिका ।

बल्ल तय भयो अष्ट्रेलियाबाट नेपाल फर्कने उडान । यस्तो उडान तालिका ।


ब्रिजवेन
लामो कसरतपछि बल्ल अष्ट्रेलियाबाट नेपाल जाने उडान तय भएको छ । पछिल्लो पटक घोषणा भएको मितिमा उडान संभव नहुने भएपछि नयाँ उडान मिति तय गरिएको हो । अब जुन २३ र २६ तारिखमा अष्ट्रेलियाबाट दुई चार्टर विमान नेपाल उड्नेछन् । जुन १७ मा हुने भनिएको पहिलो उडान विभिन्न प्राविधिक कारणहरुले सम्भव नभएकोले नयाँ मितिहरु तय गरिएको दूतावासले जनाएको छ ।
नेपाल वायुसेवा निगमको पहिलो चार्टर उडान जुन २३ मा सिड्नीबाट हुनेछ । भने दोस्रो उडान २६ जुनमा मेलवर्नबाट हुने दूतावासले जनाएको छ ।
नेपाली विमानले आउने बेला काठमाडौबाट सिधै सिड्नी र मेलवर्नमा उडान भर्नेछ भने फर्कनेबेला चाहि मलेसियाको क्वाललम्पुरमा ट्रान्जिट गर्नेछ ।
उडानमा नेपाल फर्कनका लागि दूतावासले प्राथमकिताका आधारमा यात्रुहरु छनोट गरिसकेको छ । १३ सयले नेपाल फर्कन फारम भरेपनि अति आवश्यक परेकालाई प्राथमिकतामा छनोट गरिएको दूतावासले जनाएको छ । छनोटमा परेकाहरुलाई दूतावासले कन्फरमसन ईमेल पठाई सकेको छ । ईमेल प्राप्त गरेका नेपालीले कोरोना नलागेको प्रमाणपत्रका लागि पिसिआर परिक्षण गर्नुपर्नेछ ।
एक पटकमा २ सय ६० जना नेपाली स्वदेश फर्कनेछन् । दुई पटकमा ५ सय २० जना फर्किने छन् । बाँकीका लागि अन्य चार्टर उडान पनि गरिने बताईएको छ । अष्ट्रेलियाबाट नेपाल फर्कने विमान भाडा १६ सय १५ अमेरिकी डलर अर्थात झण्डै २४ सय अष्ट्रेलियन डलर पर्नेछ । नेपाल फर्किएपछि आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा समेत बस्नुपर्नेछ ।

विदेशबाट नेपाल फर्किनेले अनिवार्य कोरोना नलागेको प्रमाणपत्र देखाउन अनिवार्य गरिएको छ । जसका लागि यात्रुले पिसिआर परिक्षण गर्नुपर्ने नियम छ । अष्ट्रेलियाबाट फर्कनेहरुका लागि नेपाली चिकित्सकहरुको संस्थाले निशुल्क पिसिआर परिक्षण गरिदिने तयारी गरेको छ । अष्ट्रेलियासिन नेपलिज मेडिकल एण्ड डेन्टल एशोसियसन एम्डाले मेलवर्न र सिड्नीमा निशुल्क पिसिआरको व्यवस्था गर्न लागेको एम्डाका प्रवन्धक पुनम पन्तले जानकारी दिनुभयो ।

कन्फरमेसन ईमेल पाएकाहरुले पिसिआर परिक्षणका लागि समय बुक गर्न र टिकट लिन एनआरएन अष्ट्रेलियाले अनुरोध गरेको छ । विमानमा चढ्नका लागि पिसिआर रिपोर्ट सातदिन भित्रको हुनुपर्नेछ । पिसिआर परिक्षणका लागि सिड्नीमा डाक्टर प्रविण पाठक र मेलवर्नमा भए डाक्टर चन्द्रदीपक पोखरेल वा एम्डामा सम्पर्क गर्न एनआरएनएले विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको छ । नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ