Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिरन्तर प्रभावित हुँदै नेपालका उद्धार उडान, गृहकार्य र समन्वय अभाव

निरन्तर प्रभावित हुँदै नेपालका उद्धार उडान, गृहकार्य र समन्वय अभाव


काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साता सार्वजनिक गरेको उद्धार उडानको तालिकाअनुसार मंगलबार कतार र यूएईबाट नेपाल एयरलाइन्सले नेपाली लिएर आउनुपर्ने थियो । हिमालयन एयरलाइन्सले कुवेतबाट त्यहा अलपत्र परेको नेपालीलाई स्वदेश ल्याउनुपर्ने थियो । तर मंगलबार यी एयरलाइन्स न काठमाडौंबाट उडान भर्ने तालिकामा देखिए न त बाहिरबाट नेपाली आउने अवतरण तालिकामा नै ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफै यसबारे अनविज्ञ छ । मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यलाई सम्पर्क गर्दा परराष्ट्र मन्त्रालय यसबारे जानकार हुने जवाफ आयो । यता परराष्ट्र मन्त्रालय समेत उद्धार उडान तालिका प्रभावित भएको बारे अनविज्ञता प्रकट गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम विमान व्यवस्था गरेर तालिका तय गर्ने मात्रै हो भन्ने जवाफ र परराष्ट्रको अनविज्ञताले विदेशमा अलपत्र नेपालीको उद्धार व्यवस्थापन कस्तो छ भन्ने आफै प्रष्ट पारेको छ । यूएईले नेपाल एयरलाइन्सलाई प्रवेश अनुमति नदिँदा मंगलबारको लागि तय भएको उद्धार उडान स्थगित भएको भएपनि अबुधाबीस्थित नेपाली दूतावासले प्राविधिक कारण देखाउँदै उडान रोकिएको सूचना जारी गरेको छ ।

विदेशी एयरलाइन्सलाई उद्धारका लागि प्रयोग गर्न दिनुपर्ने ‘लविङ’का कारण नेपाली एयरलाइन्सलाई अनुमति नदिइएको जानकारी आएपनि यूएईले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । सरकारले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्सका २४ उडान, हिमालयन एयरलाइन्सका १९ उडान र विदेशी विमानका २४ उडानको तालिका सार्वजनिक गरेको छ । नेपाल एयरलाइन्सले आइतबार बंगलादेशबाट र हिमालयन एयरलाइन्सले मंगबलार कोलम्बो र माल्दिभ्सबाट नेपाल लिएर आएपनि नेपाली एयरलाइन्सहरु अन्य देशमा चार्टर्ड उडानका लागि गएका छैनन् ।

मन्त्रालयको तालिकाअनुसार सोमबार पनि नेपाल एयरलाइन्सले मलेसियाबाट र हिमालयन एयरलाइन्सले साउदी अरब र कम्बोडियारसिंगापुरबाट नेपाली लिएर आउने तालिका भएपनि उडान भएन् । मंगलबार कतारबाट आउने उडान रद्ध हुनुको पछाडि स्वदेश फर्किनेहरुको कोरोना भाइरस संक्रमण परीक्षण समयमा नहुनुलाई कारण देखाइएको छ । नेपाल सरकारले कोरोना भाइरस परीक्षणलाई अनिवार्य सर्त बनाउँदा कतिपय विदेशस्थित सरकारले नेपालीको कोरोना जाँचमा सहयोग गरेका छैनन । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले कतारबाट दुई दुई वटा चार्टर्ड उडान भर्ने तालिका रहेको छ ।

ओमानबाट सलाम एयरलाइन्सले, यूएईबाट एयर अरेबियाले र कुवेतबाट जजिरा एयरलाइन्सले विमान चार्टर्ड गरि समस्यामा परेका नेपालीलाई स्वदेश फर्काएका छन् । म्यानमारले आफ्नै सैनिक विमानमा राखेर २६ जना नेपालीलाई नेपाल ल्याइदिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ