Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाललाई दु:ख पर्दा कसरी अष्ट्रेलिया फर्कन सक्छु – कलानी गकोन

नेपाललाई दु:ख पर्दा कसरी अष्ट्रेलिया फर्कन सक्छु – कलानी गकोन


सरल गुरुङ/ब्रिजवेन

कोरोनाको महामारीमा समेत नेपाललाई माया गरेर छोड्न नमान्ने थोरै विदेशी मध्ये अष्ट्रेलियाली युवा कलानी गकोन पनि एक हुन् । कोरोनाका कारण लकडाउन भएपछि नेपालमै अड्किएका आफ्ना नागरिकलाई अष्ट्रेलियाले तीन पटकसम्म विमान चार्टड गरेर स्वदेश फर्काइसकेको छ । नेपालमा कोरोना जोखिम बढेको भन्दै अष्ट्रेलियाले आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याएको हो । तर, आफ्नो ज्यानको प्रवाह नगरी २४ वर्षीय कलानी लक डाउनको वृत्तचित्र बनाउने र कमजोर आर्थिक अवस्था भएका नेपालीलाई खान खुवाउन व्यस्त छन् ।

लक डाउनकै बिच गत शुक्रबार काठमाडौमा युवाहरुले भ्रष्टाचारविरुद्ध आन्दोलन गरे । त्यहि आन्दोलनको भिडियो खिच्न पुगेका कलानीलाई प्रहरीले पक्राउ गर्यो । विदेशी भएर आन्दोलनमा सहभागी भएको भन्दै कलानी सहित अन्य सात जना विदेशी पनि समातिएका हुन् । तीन दिन प्रहरी हिरासतमा बसेर कलानी सोमबारमात्रै १० हजार धरौटी तिरेर रिहा भएका छन् । प्रहरीले आन्दोलनमा सहभागी भएको आरोप लगाएपनि कलानीले भने आफु वृत्तचित्रको भिडियो खिच्न गएको बताउदै आएका छन् । पक्राउपछि फेसबुकमा स्टाटस लेख्दै कलानीले नेपाल प्रहरीले निकै राम्रो व्यवहार गरेको र हिरासतमा कथा साटासाट गर्दै रात बिताएको बताएका छन् । त्यस्तै आफ्नो रिहाईका लागि साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।

रिहाई भएपछि नेपालबाट निकाला हुने हो कि भन्ने चिन्तामा रहेका कलानी नेपालट्युबको टेलिफोन सम्पर्कमा आइपुग्नु भएको छ  । अष्ट्रेलिया सरकारले तीन पटकसम्म आफ्ना नागरिकलाई स्वदेश फर्काउदा पनि तपाई किन नआउनु भएको ? भन्ने नेपालट्युबको प्रश्नमा कलानीले भन्नुभयो -‘नेपाल मेरो दोस्रो घर हो, यसले मलाई धेरै कुरा दिएको छ, अब तपाई नै भन्नुस् नेपाललाई अप्ठ्यारो पर्दा म कसरी भागेर अष्ट्रेलिया फर्कन सक्छु ।’

नेपाली बोल्न समेत सिकिसकेका कलानीको नेपाल प्रेम उनको हरेक शब्दमा झल्किन्थ्यो । नेपालमा ५ वर्षदेखि समाजसेवा र भिडियो निमार्णमा सक्रिय कलानीको नेपाल यात्रा बढो रोचक छ । उनी दक्षिण एसियाको भ्रमणमा निस्केका बेला बिना कुनै योजना बस चढेर नेपाल पुगेका थिए ।

सन् २०१५ मा भूकम्पपछि नेपाल पुगेका कलानीको मन नेपालका डाडापाखामै रम्न थाल्यो । न्यु साउथ वेल्सको ब्लु माउण्टेन क्षेत्रमा हुर्के बढेका कलानीलाई नेपालका अग्ला हिमालसंग प्रेम बस्न धेरै समय लागेन । त्यसैले बाल्यकालको भिडियो बनाउने सौखलाई नेपालमै निरन्तरता दिन थाले । नेपालका दृश्यहरुमात्रै कैद गरेनन् बरु मान्छेका कथाहरु पनि क्यामेराबाटै बुन्न थाले । भिडियो, वृत्तचित्र अनि समाजसेवा गर्दागर्दै कलानीले नेपालमा ५ वर्ष बिताइसकेका छन् ।
उनले निर्देशन गरेको जर्नी टु द सेन्टर अफ द हार्ट नामक वृत्तचित्रले हालै काठमाडौ इन्टरनेश्नल फिल्म फेष्टिवल (किम्फमा ) अवार्ड समेत जितेको छ ।

कलानी र टिमले लकडाउनका बिच काठमाडौमा खाना बाडेको भिडियो यस्तो छ

https://www.facebook.com/100008334283865/videos/2618818458405938/?id=100008334283865&lst=1453145040%3A100008334283865%3A1592301639&sk=timeline

Photo- Kalani Gacon facebook



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ