Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर, कोरोना कहरदेखी पर्यटकसँग भिसा शुल्क लिएकोमा चासोसम्म

नेपालका प्रमुख पाँच खबर, कोरोना कहरदेखी पर्यटकसँग भिसा शुल्क लिएकोमा चासोसम्म


काठमाडौं । बेखर्ची बनेका पर्यटकसँग भिसा शुल्क लिएपछि भएको चौतर्फी आलोचना, क्वारेन्टिनमै गरिएको बिवाह उत्सब तथा पशुपतिनाथ सफाईका नाममा सहयोग रकम लिएपछि भएको बिरोध मात्रै होइन्, देशमा विभिन्न समाचारले प्राथमिकता पाउँदै आएका छन् । हेरौँ नेपालका प्रमुख ५ मुख्य खबर यस्ता छन् ।

बेखर्ची बनेका पर्यटकसँग भिसा शुल्क
करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटकसँग असार १ र २ गते भिसा नवीकरण गर्दा अध्यागमन विभागले दैनिक ३ डलरका दरले भिसा शुल्क उठाएकोप्रति नेपालस्थित विदेशी नियोगले आपत्ती जनाएका छन् । विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं हाम्रा नागरिकलाई किन भिसा शुल्क भन्दै नेपालस्थित विदेशी दूतावासले सरकारको नीतिको आलोचना गरेका हुन् ।

गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा थप्ने निर्णय गरेपनि लकडाउन लम्बिएपछि गृहले नै नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने जुक्ति निकालेको थियो । राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग शुल्क असुल्ने क्रम चुलिएपछि आलोचनासँगै नेपालस्थित विदेशी दूतावासको गम्भिर ध्यानाकर्षण भएको अध्यागमन विभाग र पर्यटन बोर्ड नै स्विकार गरिरहेका छन् ।

व्यापक गुनासो र आलोचनापछि गृहमन्त्रालय आफ्नो निर्णयबाट पछि हटेर साविक कै निर्णयअनुसार गर्ने निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिनुभयो ।

क्वारेन्टिनमै बिवाह
काठमाडौं । क्वारेन्टिन बसाइ धेरैका लागि परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थिति । तर त्यही क्वारेन्टिनलाई कसैले भने वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरका रुपमा उपयोग गरेका छन् । दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका छन् । घोराही १८ नवलपुरका २३ वर्षीय कृष्ण वली र घोराही उपमहानगरपालिका ५ जवरपुरकी २१ वर्षीया सीता चौधरीले वर पीपललाई साक्षी राखी बिहे गरेका हुन् ।

वडाअध्यक्ष भरतमणि अर्यालले वैदिक मन्त्रोच्चारण गरेर बेहुलाले बेहुलीको खाली सिउँदो भरे । अनि बिहे सम्पन्न भएको घोषणा गरिएको थियो । वडाअध्यक्ष अर्याल परिवारका सबै सदस्य भेला हुने स्थिति पनि नभएको, मन्दिरसम्म पुगेर बिहे गर्ने अवस्था पनि नरहेकोले क्वारेन्टिनमै भौतिक दुरी कायम राखेर बिहे गराइदिएको बताउँनुहुन्छ । बिहेमा केटी पक्षका कोही नरहे पनि केटा पक्षबाट परिवारका सदस्य सहभागी थिए ।
विदेशमा अलपत्र परेकाहरुको उद्धारमा शुल्क नलिनु : सर्बोच्च अदालत
सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो ।

करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट नपाउने, आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने र कुटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने भनी प्रमाणित भएका कामदारलाई स्वदेश फर्काउनु सरकारको दायित्व भएको सर्वोच्चले आदेशमा भनिएको छ । विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न सरकारले गत जेठ १२ गते स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७ जारी गरेर उक्त आदेशको दफा ७ को (ग) मा अन्य स्रोतबाट खर्च नव्यहोरिने नेपालीको स्वदेश फर्किने खर्च आफैंले व्यहोर्नुपर्ने उल्लेख गएिको थियो ।

यो व्यवस्था विदेशमा अलपत्र परी स्वदेश फिर्ता हुनुपर्ने कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गर्नुपर्ने कानूनी व्यवस्था विपरीत रहेको भन्दै अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पशुपति सफाईका लागि भारतसँग सहयोग मागेको भन्दै तिब्र आलोचना
सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसर सफाइका लागि भारत सरकारबाट ३ करोड ७२ लाख रुपैयाँ सहयोग लिने पशुपति क्षेत्र विकास कोषको निर्णयको चौतर्फी आलोचना भएको छ । पशुपतिनाथको सरसफाइमा समेत विदेशी सहयोग मागिएको भन्दै चौतर्फी आलोचना भएको हो । पूर्व मुख्यसचिव लिलामणी पौडेलले मागेर, परियोजना नै बनाएर, सही छापै गरेर अर्को राज्यसँग मन्दिर सफाइका लागि पैसा लिनु लाजमर्दो भएको भन्दै ट्वीटर मर्फत सरकारको आलोचना गर्नुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डन पनि पशुपतिनाथका लागि विदेशीको सहयोग नलिँदा राम्रो हुने बताइएको छ । उक्त रकमबाट मन्दिर परिसरमा शौचालय बनाउने योजना सहित सोमबार कोषले सहयोग लिने सम्झौतामा हस्ताक्षर गरेको थियो । कोषले २०१९ अक्टोबरमा परियोजना प्रस्ताव पठाए रकम मागेको बारे यतिबेला तिब्र आलोचना भैरहेको छ । काठमाडौं महानगरपालिकाले कार्यान्वयन गर्ने भनिएको यो परियोजना १५ महिनामा सक्ने लक्ष्य छ । कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भएको समझदारीअनुसार नै २५ करोड सहयोग लिन लागिएको बताउँछन् ।

बढ्दै कोरोना कहर
पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११७ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ११५८ पुगेको छ । ७३ जिल्लामा विस्तार भएको कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा १९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर बिधीबाट स्वाब परिक्षण गरिदा जम्मा पीसीआर जाँचको संख्या १ लाख ४३ हजार ७ सय ३८ पुगेको छ । मंगलबार साँझसम्म २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी जाँच सम्पन्न भएको छ । मंगलबारसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ