Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली मिडियाको प्राथमिकता :सीमा रक्षाको चिन्तादेखी बजेट, कोरोना र जनजिविकासम्म

नेपाली मिडियाको प्राथमिकता :सीमा रक्षाको चिन्तादेखी बजेट, कोरोना र जनजिविकासम्म


काठमाडौं । कोरोनाको कहर बढीरहँदा नेपालमा सीमा सुरक्षाको चिन्ता र चासो सुरु भएको छ । यही समयमा बजेट जारी गरेर संसदमा छलफल हुँदै पारित गर्ने अन्तिम तयारीमा पुग्दा घरायसी उपभोक्तालाई राहत दिनेगरी विद्युत महशुल घटाइएको छ । भीड नियन्त्रणका नाममा फुटपाथ व्यवस्थापन लगायतमा स्थानीय सरकार सक्रिय बनेका छन् । एक पटक पछिल्लो २४ घण्टामा चर्चा र महत्व पाएका यी पाँच खबरहरु पढौँ ।

नेपाली सेना र सशस्त्रको सीमा सुरक्षामा चासो
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुग्नु भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भौगोलिक अवलोकनका लागि उहाँहरु त्यहा पुग्नुभएको हो ।

जुन १७ तारिखमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षा निकायका दुई प्रमुखहरुसहितको टोलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण तथा अतिक्रमित भूमिको अवलोकन गरेको छ । उहाँहरुले स्थलगत अवलोकनका क्रममा त्यहाँ खटिएका सुरक्षाकर्मीको समस्या पनि बुझनु भएको थियो । सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।

बजेट माथिको छलफल अन्तिम चरणमा
राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनेक्रम जारी छ । २१ वटा मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची अनुसार जुन १७ तारिखमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमाथी उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो ।

यस्तै, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र, गृह, रक्षा लगायतका सबै २० मन्त्रालयको शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको थियो । जुन १८ अर्थात आज प्रधानमन्त्री कार्यालयमाथि उठेका प्रश्नहरुको जवाफ प्रधामन्त्रीले दिएपछि आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट पारित गर्ने तयारी छ ।

घट्यो नेपालका घरेलु ग्राहकको बिजुली महसुल
सरकारले ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लिनेगरी विद्युत महसुल घटाएको छ । अब थोरै मात्रै विजुली खपत गर्ने तल्लो तहका उपभोक्ताले निःशुल्क विजुली पाउने भएका छन् ।

५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ भने ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट विद्युत महसुल तिरेपुग्छ । प्रति ५० युनिटको खपतमा २० देखी २५ रुपैयाका दरले डिमान्ड शुल्क बढाएको प्राधिकरणले सोही अनुसार घरायसी प्रयोगकर्ताको प्रतियुनिट विद्युत शुल्कमा ५० पैसादेखी १ रुपैयासम्म थप गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको र थोरै खपत गर्ने उपभोक्ताले ठूलो राहत पाउने बताउनुभयो । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएसँगै घिसिङले चुहावट रोक्ने, जथाभावी प्रयोग घटाउने लगायतका सुधारका काम मार्फत लोडसेडिङ अन्त्य गर्दै आएका छन् ।

फुटपाथ व्यवसायीमाथी धरकपड
लकडाउन खुकुलो बनाइएसँगै काठमाडौं उपत्यकामा भिडभाड बढेको भन्दै काठमाडौं महानगरपालिकाले फुटपाथ पसलहरु हटाउन थालेको छ । भिडभाडसँगै कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिका, प्रहरी र स्थानीयले असन, इन्द्रचोक, लगन, बांगेमुढा, न्युरोड, सुन्धारा लगायतका क्षेत्रबा फुटपाथ पसल हटाउन थालेको हो । फुटपाथ हटाउने क्रममा व्यापारी र महानगर प्रहरीबीच केही बेर सामान खोसाखोससँगै चर्काचर्की समेत चलेको थियो ।

व्यवसायीहरुले नयाँ बर्ष, चाढपर्वमा आर्थिक लेनदेन गर्ने महानगर प्रहरीले खोसिएको समान फिर्ता दिनेक्रममा समेत रकम लेनदेन गर्नेगरेको पोल समेत सार्वजनिक रुपमै खोलेका थिए । महानगर प्रहरीमाथी यसअघिदेखी नै महानगर क्षेत्रका फुटपाथ पसलेहरुसँग आर्थिक लेनदेन गर्नेगरेको आरोप लाग्दै आएको छ । प्रमुख धनपती सापकोटाको आर्थिक हैसियत र बंगला बारे बारम्बार प्रश्न उठ्ने गरेपनि महानगरले आवश्यक छानविनमा चासो देखाएको छैन ।

उच्च संक्रमणको रेकर्ड, कोरोना संक्रमित ७ हजारबाट उकालोलाग्दा २० को मृत्यु
नेपालमा एकैदिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको रेकर्ड बनाउँदै जुन १७ तारेखमा ५ सय ८६ कोरोना संक्रमित थपिए । योसँगै नेपालमा कोरो संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी १ सय २७ जना र कैलाली, सिरहा र बाँकेमा सबैभन्दा कम एक एक जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएको छ । एक हजार १ सय ६७ जना कोरोना जितेर अस्पतालबाट घर फर्किएका छन् ।

एक जना मृतक थपिएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । नेपालका ७७ मध्ये ७३ जिल्लामा कोरोना विस्तार हुँदा, ओखलढुंगा, मनाङ, मुस्ताङ र रसुवा अहिलेसम्म सुरक्षित छन् । क्वारेन्टाइन ब्यवस्थित नहुँदा संक्रमित संख्या बढेको छ भने सरकारले लकडाउन खुकुलो बनाएर सर्वसाधारणमा थप जोखिम बढाएको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ