Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्वारेन्टिनमा बिवाह, जस्तोसुकै संकटमा पनि नफुट्ने अठोट

क्वारेन्टिनमा बिवाह, जस्तोसुकै संकटमा पनि नफुट्ने अठोट


काठमाडौं । क्वारेन्टिन बसाइ धेरैका लागि परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थिति । नेपालमा अझैपनि करिब डेढ लाख जति पट्यार लाग्दो अत्यासलाग्दो क्वारेन्टाइनको बासमा छन् । धेरैलाई बाध्यता र समस्या बनेको त्यही क्वारेन्टिनलाई कसैले भने वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरका रुपमा उपयोग गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका छन् । घोराही १८ नवलपुरका २३ वर्षीय कृष्ण वली र घोराही उपमहानगरपालिका ५ जवरपुरकी २१ वर्षीया सीता चौधरीले वर पीपललाई साक्षी राखी बिहे गरेका हुन् । वडाअध्यक्ष भरतमणि अर्यालले वैदिक मन्त्रोच्चारण गरेर बेहुलाले बेहुलीको खाली सिउँदो भरे । अनि बिहे सम्पन्न भएको घोषणा गरिएको थियो ।

वडाअध्यक्ष अर्याल परिवारका सबै सदस्य भेला हुने स्थिति पनि नभएको, मन्दिरसम्म पुगेर बिहे गर्ने अवस्था पनि नरहेकोले क्वारेन्टिनमै भौतिक दुरी कायम राखेर बिहे गराइदिएको बताउँनुहुन्छ । बिहेमा केटी पक्षका कोही नरहे पनि केटा पक्षबाट परिवारका सदस्य सहभागी थिए ।

यसरी भयो प्रेम
कृष्ण र सीताबीच सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो । कृष्ण भारतको नयाँदिल्लीस्थित एक होटलमा काम गर्थे, सीता दाङमै । उनीहरुबीच म्यासेज र च्याट आदानप्रदानकै क्रममा मायाप्रेम बढेको कृष्ण बताउँछन् । पछि कृष्ण दाङ आएको बेला सीतालाई समेत सँगै लगेर पुन: भारत गए । कोरोनाको त्रासदी बढेसँगै भारतबाट फर्किएका उनीहरु घर नगई एउटै क्वारेन्टिनमा बसे ।

कृष्ण र सीता घर छोडेर भारत गएको असारमा ९ महिना पुग्नेरहेछ । घर छोडेको ९ महिनामा बिहे गर्नु हुँदैन भन्ने सामाजिक मान्यताको आधारमा जेठ ३२ गते राति हतार हतारमा उनीहरुबीच बिबाह सम्पन्न भएको थियो । क्वारेन्टिनमा २२ दिन बसेका दुबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बिहे गराइएको वडा अध्यक्ष अर्याल बताउँछन् ।
बिहे गराइदिएर दुबैलाई बिधाई गरेको वडा कार्यालयले अझै एक सातासम्म छुट्टै बस्न नव बिवाहित जोडिलाई सुझाब दिएको छ ।

आठ कक्षासम्मको औपचारिक अध्ययन गरेका कृष्ण र कक्षा १२ सम्म पठेकी सीता जस्तोसुकै संकटमा समेत एक हुने एकअर्कालाई साथ दिने अठोठ सहित कोरोनाकै कहरमा क्वारेन्टाइनमा बिवाह गरेको बताउँछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ