Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख खबर : आरडीटी किट र औषधी खरिददेखी बम्जन खोज्ने प्रहरीको असफल प्रयाससम्म

नेपालका प्रमुख खबर : आरडीटी किट र औषधी खरिददेखी बम्जन खोज्ने प्रहरीको असफल प्रयाससम्म


काठमाडौं । लकडाउन खुकुलो बनाइएको नेपालमा कोरोना संक्रमण र मृत्युदर बढिरहेको छ । बजार र पसल खुल्दैगर्दा उद्धार उडानले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल समेत व्यस्त बन्दैछ । मंसिरसम्म कोरोना संक्रमण बढ्ने प्रक्षेपण गर्नुभएका प्रधानमन्त्री ओलीले पुसपछि कोरोना नियन्त्रणमा आउने दाबी गर्दैगर्दा आरडीटी लगायतका थप स्वास्थ्य सामाग्री खरिदको तयारी भैरहेको छ । जुन १८ मा नेपालमा प्रमुख स्थान र महत्व पाएका पाँच खबरहरु यस्ता छन् ।

रेकर्ड बनाउँदै कोरोना, २२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । अहिलेसम्म कोरोनामुक्त हुनेहरुको संख्या ११८६ पुग्दा कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ । जुन १८ तारेखसम्म क्वारेन्टिनमा बस्नेहरुको संख्या १लाख २६ हजार २१५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरमा संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अर्घाखाँचीमा ९७, डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५\५ जना, पर्वत र दाङका ४\४ जना, बाँके, बर्दिया र गुल्मीका ३\३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २\२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १\१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना बारे प्रधानमन्त्रीको विश्लेषण
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर उच्चविन्दुमा पुग्ने र फागुन महिनामा नियन्त्रणमा आउने विश्लेषण सुनाउनु भएको छ । बढ्दो क्रममा रहेको कोरोना संक्रमण दशैं तिहार र छठजस्ता चाड पर्वसँगै केही तिब्र हुने आँकलन गर्नुभएका प्रधानमन्त्री ओलीले मंसिर अन्तिमबाट ओरालो लाग्ने कोरोना संक्रमण फागुन महिनामा नियन्त्रणमा आउने दाबी गर्नुभयो ।

संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण भएको मुत्युको संख्यामाथि प्रश्न उठाउँदै २ ३ जनाको बाहेकको मृत्यु अन्य रोगका कारण भएपनि विश्वस्वास्थ्य संगठनको प्रोटोकलका आधारमा संक्रमण पुष्टि भएका सबैलाई कोरोनाका कारण ज्यान गुमाउनेको लिस्टमा राखिएको बताउँनुभयो ।

विमानस्थलमा बढ्दै भीडभाड
नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान प्रारम्भ भएसँगै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीडभाड र व्यस्त बन्न थालेको छ । काठमाडौंस्थित विमानस्थलमा बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान र अवतरण भएका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई काठमाडौं ल्याएको र मलेसिया उड्ने क्रममा एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु बोकेर फर्किएको जानकारी दिनुभयो । बिहीबार नै जजिरा एयर र सलाम एयरले कुवेत र ओमानबाट क्रमशः १५० र १४६ जना स्वदेश फर्किएका थिए । नेपालमा रहेका २६३ जना विदेशीलाई बोकेर दोहा पुगेर नेपाल फर्किएको कतार एयरवेजले एक जना नेपालीलाई स्वदेश ल्याएको छ ।

साँझ हिमालय एयरलाइन्स ४ जना नेपाली बोकेर दमाम उड्दा नेपाल एयरलाइन्स नेपाली समय अनुसार ९ बजे दुबई उडेको छ । यी दुई बिमान शुक्रबार बिहान क्रमशः साढे ६ र ७ बजे काठमाडौं उत्रने उडान तालिका छ । आन्तरिकतर्फ तारा एयरले काठमाडौंबाट ११ जनाको कोभिड अपरेसन टिम विराटनगर पुर्याएको छ । सिम्रिक एयर जाजरकोटबाट ४ जना यात्रु बोकेर काठमाडौं आउँदा सीता एयर, एयर डाइनेस्टी, बुद्ध एयर र मनाङ एयरले आन्तरिक उडान गरेका छन् ।

विरोधकाबीच आरडिटी किटसहित स्वास्थ्य सामाग्री किन्दै सरकार
कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले फेरि स्वास्थ्य सामाग्री खरिदको लागि गृहकार्य थालेको छ । कोभिड–१९ विपद् व्यवस्थपान केन्द्र (सीसीएमसी) ले थप स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अगाडि बढाएको हो । पहिलो चरणको स्वास्थ्य सामग्री खरिदलाई लिएर सेनामाथि अनियमितताको प्रश्न उठेपनि सेनाको अनियमितता नगरेको दावी गर्दै आएको छ । सीसीएमसीले बनाएको आगामी महिनाका लागि आवश्यक सामाग्री खरिदको सूची अनुसार मेडिकल सामाग्री १६ वटा, औषधि १०२ वटा, आईसीयूमा ५०० बिरामीलाई १५ दिन राख्नका लागि आवश्यक ७० किसिमका सामाग्री राखिएका छन् ।

पीसीआर रिएजेन्ट, आरएनए एक्सट्र्याक्सन किट १ लाख ३२ हजार र भीटीएम १ लाख ४५ हजार २ सय थान, तथा पोर्टेबल पीसीआरका लागि आवश्यक रिएजेन्ट र आरएनए एक्सट्र्याक्सन किट १३ हजार २ सय थान किन्न लागिएको छ । नयाँ खरिद सूचीमा पनि बिरोधकाबीच १ लाख २१ हजार थान आरडीटी किटलाई समावेश गरिएको छ । राष्ट्रिय स्तरको तयारीका लागि भन्दै तयार पारिएको सूचिमा एन–९५ मास्क करिब ५२ लाख, सर्जिकल मास्क ५६ लाख, पञ्जा २७ लाख, गगल्स ४ लाख, गाउन ४ लाख ७० हजार, ह्याण्ड स्यानिटाइजर सानो बोतल ५ लाख थान (विदेशबाट आउनेका लागि) तथा १ लाख बोतल ठूलो ह्याण्ड स्यानिटाइजर रहेको छ । सीसीएमसीको सचिवालयले बनाएको सुची निर्देशक समिति हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि खरिद प्रक्रियाको टुङ्गो लाग्नेछ ।

तपश्वी बम्जन खोज्न आश्रम पुगेको सीआईबी खाली हात फर्कियो
प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा तेश्रो पटक छा’पा मारेको छ । सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छा’पा मारेको हो । प्रहरीले छापा मारेको पुष्टि गर्दै सिन्धुलीकी एसपी रञ्जु सिग्देलले उनी आश्रममा बम्जन नभेटिएको जानकारी दिनुभयो । यसअघि ०७६ पुस र २४ माघमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छा’पा मारेको थियो ।

पहिलो र दोश्रो पटक छा’पा मार्दा सुरुमै सूचना चुहाइँदा बम्जन आश्रमबाट उम्कन सफल भएकोमा यो पटक पनि बम्जन आश्रममा रहेको सूचना पाएपछि सिन्धुली पुगेको सीआईबी टोली खालीहात फर्किएको छ । बम्जनमाथि आश्रमका अनुयायीलाई बे’पत्ता पारेको आ’रोप लाग्दैआएको छ भने उनकै अनुयायीले आफूमाथी शोषण भएको आरोप लगाएकी छिन । बम्जन बिरुद्ध अदालतले पक्रा’उ पुर्जी जारी गरिसकेको भएपनि प्रहरीले पक्रा’उ गर्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ