Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको नयाँ नक्सालाई संवैधानिक मान्यता,दीप प्रज्वलन गरेर खुसियालि साट्न आह्वान

नेपालको नयाँ नक्सालाई संवैधानिक मान्यता,दीप प्रज्वलन गरेर खुसियालि साट्न आह्वान


काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साले बिहिबारबाट संवैधानिक मान्यता पाएको छ । सरकारी कामकाजमा प्रयोग हुने निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयक बिहिबार राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पठाइएको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । गत जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको सरकारले सोही महिनाको ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न भन्दै संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता भयो । प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गराएपनि सभामुख सापकोटाले अस्वीकृत गरिदिएपछि संशोधन विधेयकमा सर्वसम्मति जुटेको थियो ।

भूगोल खोज्न जुटेको सर्वसहमती
नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी सबै दल एकमत भए । प्रतिनिधि सभामा मात्रै होइन्, बिहीबार राष्ट्रिय सभामा भएको छलफलमा समेत सांसदहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको दाबी गर्दै विभिन्न प्रमाणसमेत प्रस्तुत गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले सरकार भारतसँग वार्ताअघि नै कसरी नक्सालाई संवैधानिक मान्यता दिने निष्कर्षमा पुग्यो, यसले वस्तुगत आधार भन्दा इमोसनल उपस्थिति देखाउन त खोजिएको होइन भन्दै कुटनीतिक पहलमा कमजोरी नगर्न सचेत गराए । अधिकांश सांसदहरुले भारतलाई कुटनीतिक सम्वादमा ल्याएर सेना फिर्ता सहितको निकास खोज्न सरकार गम्भिर बन्नुपर्ने धारणा राखेका थिए ।

दीप प्रज्वलन गरेर खुसियाली साट्न आह्वान

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् । अब सीमा समस्याका विषयमा तथ्य र प्रमाण सहित भारतसँग वार्ता हुने जानकारी गराउँदै मन्त्री तुम्बाहाङ्फेले एक आपसमा खुसियाली साटासाट गर्न आम जनतालाई आह्वान गरेकी हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ