Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख खबर : ल्याबमा स्वाबको चाङदेखी बैदेशिक रोजगारी खुल्ला गर्ने निर्णयसम्म

नेपालका प्रमुख खबर : ल्याबमा स्वाबको चाङदेखी बैदेशिक रोजगारी खुल्ला गर्ने निर्णयसम्म


काठमाडौं । कोरोना जाँचको स्वाब ल्याबमै लामो समय थन्किएपछि जाँचको विश्वसनियतामै प्रश्न उब्जिएको छ भने सरकारले कोरोना जाँचलाई तिब्रता दिने भन्दै गरेको प्रतिवद्धता पुरा भएको छैन । कोरोनाको संक्रमणले थप विस्तार पाएसँगै सावधान रहन सचेत गराउँदै सरकारले राती हुने अत्यावश्यक काम बाहेकको हिडडुलमा प्रतिबन्ध लगाएको छ । रोकिएको बैदेशिक रोजगारी तथा उडानलाई सहजिकरण गर्ने निर्णय गरेको सरकार बैवाहिक अंगिकृत नागरिकता सम्बन्धि विधेयकको बिवाद समाधानमा समेत सक्रिय देखिएको छ । देशका प्राथमिकता पाएका प्रमुख यी पाँच खबरहरु हेरौँ ।

ल्याबमै थन्किए हजारौँ स्वाब
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर १ लाख ९ हजार मानिस क्वारेन्टिनमा छन् । उनीहरुमध्ये केहीलाई आरडीटी विधिबाट मात्र परीक्षण गरेर घर पठाइएपनि धेरै पीसीआर टेष्ट र कतिपय रिपोर्टको पर्खाइमा छन् । देशभरका प्रयोगशालामा दैनिक पीसीआर टेष्ट ६ हजार हाराहारी मात्रै हुन्छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३१ नमुना परीक्षण भएको छ ।

एउटा मात्र पीसीआर मेसिन जडान भएका प्रयोगशालाको दैनिक क्षमता २ सयदेखि ३ सय नमुना टेष्ट गरिन्छ । तर मुस्किलले ३ सय नमुना परिक्षण हुने ल्याबमा एक हजार भन्दा बढी स्वाब संकलन भैरहेको छ । पछिल्लो तथ्यांकअनुसार २ नम्बर प्रदेशमा ७ हजार ४८५ स्वाबको रिपोर्ट आउन बाँकी छ भने प्रादेशिक प्रयोगशाला हेटौंडामा ४ हजार ८५७ नमुना परिक्षणको पर्खाइमा छन् । ५ नम्बर प्रदेशमा ८ हजार ५ सय ४२ स्वाब, गण्डकी प्रदेशमा १४ सय ५२ स्वाब परिक्षणको पर्खाइमा छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा १५०० स्वाब थुप्रिएका छन् । यहाँ परिक्षण नहुने भएपछि एक हजार नमुना काठमाडौं पठाइएको छ भने ५०० स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३०० स्वाब प्रदेश १ मा १ हजार २९० नमुना संकलन गरी परीक्षणको लाइनमा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा एक हजार स्वाब होल्ड छ । देशभरको स्वाब संकलनको दर र प्रयोगशालाको क्षमताले अहिले संकलन भएका स्वाबहरुको रिपोर्ट आउन नै ५\७ दिन लाग्न सक्छ । ढिला रिपोर्ट आउँदा क्वारेन्टिनमा बसेकामध्ये कोही संक्रमित भए अरुलाई सार्ने खतरा हुने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएकाछन् ।

कोरोना अपडेट
कोरोना भाइरसका ४ सय २६ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भए । पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण सम्पन्न भएको छ । आरडीटी विधिबाट शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ । शुक्रबारसम्म क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेकोमा ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

गुल्मीमा ९४, बैतडीमा ६३, कैलालीमा ४९, बागलुङ ३२, सिन्धुपाल्चोकका २१, कञ्चनपुरमा २०, डोटीमा १५,गोरखामा ११, सर्लाहीमा ११,झापामा १, मोरङमा ३, सप्तरीमा ४, अछाममा ६,बझाङमा ३, बाजुरामा ८, डडेलधुरा ९, धादिङमा १,कास्कीमा २, काठमाडौंमा ३, मकवानपुरमा ८, म्याग्दीमा १, नवलपरासी पूर्व ४, तनहुँमा १९, पर्वतमा ५, उदयपुरमा २, सिन्धुलीमा १, चितवनमा १, बैतडीमा ५, स्याङ्जामा ३, कास्कीमा ६, अर्घाखाँचीमा ६, कपिलवस्तुमा ४, नवलपरासी पश्चिम २ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।

वैदेशिक रोजगारीमा जान दिइने
सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले सम्बन्धित मन्त्रालयको सिफारिसका आधारमा उडान अनुमति दिने निर्णय गरेको हो । विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा र वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिएपछि जान पाउनेछन् ।

कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जान दिने निर्णय गरेको छ । रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

कोरोना रोकथाममा सरकारको चासो
सरकारले देशैभरीका क्वारेन्टाइन सुधार,अनुमगन र निरीक्षणका साथै २ सातामै कोरोना परिक्षण सकाउने गरि कोरोना रोकथामको काम अघि बढाउने भएको छ । देशैभरी क्वारेन्टाइन सुधार गर्ने र यसको अनुमगन र निरीक्षण प्रदेश सरकारले गर्ने, क्वारेन्टाइनमा बसेको दुई हप्तामा सबैको परीक्षण सकाउने व्यवस्था गर्ने, थप आइसोलेसनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्रयोगशाला क्षमता बढाउने पनि निर्णय गरेको छ ।

सरकारले आइसोलेसन निर्माणका लागि प्रदेशमार्फत पालिकाहरुलाई ३५ करोड विनियोजन गरेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै देशका विभिन्न भागमा संक्रमितको संख्या पनि बढिरहेको भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गरेको छ । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन, अनिवार्यरुपमा मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सरकारले सबै नागरिकसँग आग्रह गरिएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न सरकारले निर्देशन दिइएको छ ।

वैवाहिक अंगिकृत नागरिकतामा सहमती
विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्था परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताएका हुन् ।

बैठकमा सहभागी सांसदहरूले समिति सचिवालयले ल्याएको विवाह गरेको ७ वर्षपछि वैवाहिक नागरिकता दिने प्रस्तावमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहमत देखिएसँगै वैवाहिक अंगीकृत नागरिकता प्राप्ती बारेको लामो समयको बिवाद अन्त्य हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ