Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : हिमानी स्वदेश फिर्तादेखी कोरोना कहरमा सर्वोच्चको चासो

मुख्य खबर : हिमानी स्वदेश फिर्तादेखी कोरोना कहरमा सर्वोच्चको चासो


काठमाडौ । विभिन्न १२ सञ्चार गृहमा कार्यरत पत्रकार तथा कर्मचारीले नियमित तलब नपाएको र कर्मचारी कटौती गर्न थालेको बारे उजुरी परेपछि सञ्चार गृहसँग जवाफ मागेको पत्रकार महासंघ आन्दोलनको तयारीमा जुटेको छ । कोरोनाको कहर बढिरहँदा काठमाडौं आउन कडाई गरिदैछ भने पीसीआर जाँचबाट कोरोनामुक्त भएको निश्चित गरेर मात्र डिस्चार्ज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी भएको छ । तीन महिनापछि हिमानी शाह स्वदेश फर्किएको र पश्मिनाको निर्यातमा परेको असर लगायतका बिषयले नेपालमा चर्चा पाएका छन । यस्ता छन जुन २४ का मुख्य ५ खबरहरु

बढदै कोरोनाको कहर, संक्रमित १० हजार नाघे
पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, सप्तरी, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, धादिङका १८, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जनामा कोरोना पुष्टि भएको छ ।

कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, लमजुङ र गुल्मीका ५/५ जना, सल्यान र डडेलधुराका ४/४ जना, सुनसरी र रुपन्देहीका ३/३ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची र सर्लाहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । २२२४ जना डिस्चार्ज भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

पूर्ण रुपमा संक्रमणमुक्त नभई घर नपठाउनु : सर्वोच्च
सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भइरस संक्रमितलाई पीसीआर जाँच गरेर पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चित भएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले पूर्ण रुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो ।

स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेकोले सरकारले आफ्ना नागरिकको पूर्ण रुपमा उपचार गर्ने दायित्वबाट भाग्न नमिल्ने आदेशमा भनिएको छ । जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पीसीआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेसँगै चौतर्फी बिरोध भइरहेको छ ।

काठमाडौं आउँदा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने
गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमापछि मात्र अस्पताल आउने गरि व्यवस्था गर्न गृहले परिपत्र गरेको हो ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नएिपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाँचका लागि पुग्ने गरेका छन । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ । पछिल्लो समय संक्रमण विस्तार भइरहेका क्षेत्रबाट काठमाडौं उपत्यका आउनेहरुको संख्या बढदो क्रममा देखिएको छ ।

थाइल्याण्डबाट स्वदेश फर्किइन पूर्वयूवराज्ञी हिमानी शाह
पूर्वयूवराज्ञी हिमानी शाह तीन महिने थाइल्यान्ड बसाईबाट नेपाल फर्किनुभएको छ । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न पुग्नुभएकी हिमानी लकडाउनका कारण उतै अड्कीनुभएको थियो ।

जुन २४ मा नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र स्वदेश फर्किनुभएको हो । दिउसो काठमाडौं ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बस्नुभएको छ । हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो भाइरल भएको थियो ।

बन्दाबन्दीले पश्मिनाको ७५ करोडको निर्यात असर
सरकारले झण्डै तीन महिनापछि लकडाउन केही खुकुलो बनाएपनि व्यापार, व्यसाय, उद्योग, कलकारखाना लगायत सबै क्षेत्र अझै चलाएमान हुन सकेका छैनन । नेपालबाट हुने निर्यात रोकिदा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । कोरोना महामारिका कारण पश्मिनाको निर्यात ठप्प हुँदा पछिल्लो तीन महिनामा मात्रै ७५ करोड रुपैयाँको निर्यात रोकिएको छ ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापाले कोरोना महामारिका कारण कुल एक अर्ब २५ करोड रुपैयाँको तत्कालिन असर परेको बताउनुभयो । सामान्य अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मासिक २५ करोड रुपैयाँको पश्मिना निर्यात हुँदै आएको थियो । पश्मिना मात्रैले वार्षिक रुपमा ३ अर्बको निर्यात धान्दै आएको थियो । विश्वका ८० वटा मुलुकमा पश्मिना निर्यात हुने भएपनि सबैभन्दा बढी अमेरिका तथा युरोपमा निर्यात हुने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ