Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर: कोरोनाको कहरमा मेलम्चीको चिन्ता,पूर्वराजाको चासोसम्म

मुख्य खबर: कोरोनाको कहरमा मेलम्चीको चिन्ता,पूर्वराजाको चासोसम्म


काठमाडौं । देशभर कोरोना कहर बढ्दा काठमाडौं उपत्यकामा मेलम्चीको चिन्ता । सरकारबाटै अदालतको आदेश र फैशला कार्यान्वयन नहुने अवस्था । देशमा बढेको असन्तुष्टिमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत चासो व्यक्त गरेका छन् ।

पढौँ नेपालका पछिल्ला प्रमुख पाँच खबर-

पछि सर्दै मेलम्चीको भाखा

काठमाडौं उपत्यकावासी मेलम्ची खानेपानीको प्रतिक्षामा बसेको धेरै समय भयो । पटक-पटक भाखा राख्ने अनि सर्ने र टर्ने योजना बनेको मेलम्ची अझै अनिश्चित छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले संंसदीय समितिमा मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न नसकिने दाबी गर्दैगर्दा सरकारले भने बजेट मार्फत साउनमै काठमाडौंमा पानी वितरण गर्ने बाचा गरेको थियो । समिति सदस्यले मिति तोक्न दबाब दिएपछि सचिव बेलवासेले सकेसम्म एक वर्षभित्र बिच्छ्याएका पाइपबाट पानी वितरण गर्ने योजना रहेको सुनाए ।

खानेपानी सचिवले विकास समितिमा दिएको जानकारी प्रतिनिधिसभामा खानेपानीमन्त्री बिना मगरले दिएको जवाफसँग सोझै बाझिएको छ । चालु आर्थिक वर्षमा भौतिक काम सक्ने र नयाँ आर्थिक वर्षदेखि पानी वितरण सुरु गर्ने भनेर प्रतिनिधि सभामा खानेपानी  मन्त्री  विना मगरले प्रतिवद्धता जनाउनुभएको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले ९९ प्रतिशत काम सम्पन्न भएको दाबी सहित बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने र त्यसपछि परीक्षणको काम सुरु हुने जानकारी दिए । परीक्षण सुरु भएपछि नै परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्नेछ ।

विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नभएर सर्वत्र आलोचना भएकाले मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित हुनु राम्रो हो । तर व्यक्ति र सरकारका निकायका फरक फरक धारणाले नागरिकमा बढाउने अन्यौल बारे सरकारको ध्यान पुग्नुपर्छ ।  सरकारले स्वेत पत्र मार्फत साउनमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिवद्दता जनाएको थियो ।

फैशला कर्यान्वयनमा अदालतको ताकेता

सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लोकदर्शन रेग्मीलाई अन्तरिम आदेश पालना नहुनुको जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन नभएको विषयमा दायर निवेदनको सुनुवाइ गर्दै अदालतको अवहेलना आरोपमा किन कारबाही नगर्ने भन्दै प्रश्न सोधेको हो ।

सर्वोच्चले १५ दिनभित्र प्रधानमन्त्री ओली र मुख्यसचिव रेग्मी आफैं सर्वोच्चमा उपस्थित भएर वा कानुन व्यवसायी पठाएर प्रतिउत्तर दिन भनेको छ । आफूले दायर गरेको रिट निवेदनमाथि अन्तरिम आदेश जारी भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले अवहेलनाको निवेदन दर्ता गराएका थिए ।

एकैदिन १२ सय नेपाली स्वदेश फर्किए,उद्दार उडानमा तिव्रता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन  २४ मा एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भए। अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि जुन २४  मा १० उडान भएका छन्। जुन २३ मा अन्तर्राष्ट्रियतर्फ १४ उडान भएका थिए । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत जुन २४ मै एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका छन्। बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको छ ।

हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको  छ । टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु, मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । जुन २५ मा पनि अन्तर्राष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुनेछन् ।

नेपालमा कोरोना कहर

पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसका ६२९ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संंख्या१० हजार ७ सय २८ पुगेको छ। हालसम्म कोरोना निको हुनेको संख्या दुई हजार ३३८ पुगेको छ ।

देशका ७७ मध्ये रसुवा बाहेकका ७६ जिल्लामा विस्तार भएको  कोरोना भाइरसबाट नेपालमा २४ जनाको मृत्यु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : युवाहरू कहिलेसम्म आन्दोलित हुनुपर्ने?

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकार तथा दलहरुलाई आग्रह गरेका छन् । अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले देश र जनताको समस्यासँग मिलेर जुध्नुपर्ने बताउनु भएको हो ।

शाहले एक सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।

हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दु:खद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापरवाही, पक्षपातजस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय विषय भएको भन्दैै शाहले  सरकार र दलसँग धेरै पश्न राखेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ