Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : नेपालीको उद्धारमा तिब्रतादेखी विपद्को प्रतिकार्यमा सेनाको तयारीसम्म

प्रमुख खबर : नेपालीको उद्धारमा तिब्रतादेखी विपद्को प्रतिकार्यमा सेनाको तयारीसम्म


काठमाडौं । देशमा कोरोनाको कहर बढ्दैगर्दा विदेशमा फसेका नेपालीहरु स्वदेश ल्याउने उद्धार उडान धमाधम भैरहेका छन् । बाढी र पहिरोको सम्भावित जोखिमको पूर्वतयारीसँगै संबैधानिक व्यवस्था अनुसारका कानुन निर्माणमा समेत सरकार व्यस्त छ । विभिन्न चर्चा परिचर्चाका बीच नेपालमा प्राथमिकता पाएका यी मुख्य पाँच खबर पढौँ ।

११ हजार बढी संक्रमित, २६ जनाको मृत्यु
नेपालमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ४३४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै पाल्पामा १२२ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३ १३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँ र धनुषाका ९ ९ जना, बाजुरा र सप्तरीका ८ ८ जना, प्युठान र रुपन्देही ७ ७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६ ६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५ ५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३ ३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २ २ मा संक्रमण पुष्टि भएको छ । बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १ १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका र पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको मृत्यु भएको छ । कोरोना जित्नेहरुको संख्या २ हजार ६५० पुगेको छ । देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेका छन् ।

धमाधम बन्दै कानुन
राष्ट्रपति विद्यादेवी भण्डारीले जुन २५ मा तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएकोछ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।

चीनसँग नेपालको सीमा विवाद नरहेको सरकारी दाबी
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अस्तित्वमा नै नभएको प्रतिवेदनका आधारमा समाचार आएको उल्लेख गर्दै नेपालचीनबीच सीमा बिवाद नरहेको जानकारी दिएको छ । सीमासम्बन्धी विषय कृषि मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने भन्दै परराष्ट्रले विज्ञप्तिमार्फत विभिन्न सञ्चारमाध्यममा आएको सीमा विवादको खण्डन गरेको हो । हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा राख्दै नराखिएको मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको उल्लेख गर्दै सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने दाबी गरिएको छ । कृषि मन्त्रालयले समेत विज्ञप्ति जारी गरेर नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नभएको जनाइएको छ ।

कोरोनासँगै विपद् प्रतिकार्यमा तयारी अवस्थामा नेपाली सेना
नेपाली सेनाको जंगीअड्डाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन सबै सैनिक अधिकारीलाई निर्देशन दिएको छ । सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि आवश्यक उपकरणसहित खोज तथा उद्दारका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरिएको बताउनुभयो ।

विभिन्न पृतनाले मातहतका गण र गुल्महरुलाई पनि तयारी अवस्थामा फौज राख्न निर्देशन दिएको छ । चार चरणको विपद् प्रतिकार्य अनुसार पहिलो चरणमा सम्बन्धित जिल्लाबाट दोस्रो चरणमा छिमेकी जिल्लाबाट तेस्रो चरणमा पृतनाबाट मद्दत टोली खटाउने र चौथो चरणमा जंगीअड्डाको विपद् निर्देशनालयबाट पनि फौज परिचालन गर्ने सेनाको विपद् प्रतिकार्य योजनामा उल्लेख छ । यो अवस्थामा सेनाको इञ्जिनियरसहित विशेष फौजको टोली परिचालित हुनेछन् । मनसुनी बर्षको वाढी, डुवान र पहिरोबाट ३० लाख घरपरिवार प्रभावित हुँने आँकलन सहित सेनाले इटहरी, चितवन, काठमाडौं, पोखरा र सुर्खेतमा हवाई साधन तयारी अवस्थामा राखेको छ ।

उद्धार उडानको तिब्रता, एकैदिन फर्किए १३ सय नेपाली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन २५ तारेखमा एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडान मार्फत एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौं ल्याएका हुन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा तथा कुवेतबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन जुन २५ मै बहराइन उडेका छन् । हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौं ल्याएको छ ।

कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको जजीरा एयरलायन्स थप नेपालीको उद्धारका लागि पुनः कुवेत उडेको छ । कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौं ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएकोमा सोही एयरलाइन्सको अर्को उडानले एक यात्रु काठमाडौं ल्याउने उडान भरेको छ । शुक्रबार अर्थात जुन २६ मा अन्तर्राष्ट्रियतर्फ दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा १० उडान हुने कार्यतालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ