Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : कोरोना त्रासदीमै जनगणनाको चाटारो, ग्राहक कुरेर दिन काट्दै व्यापारी

प्रमुख खबर : कोरोना त्रासदीमै जनगणनाको चाटारो, ग्राहक कुरेर दिन काट्दै व्यापारी


काठमाडौं । नेपालमा कोरोना संक्रमण मात्रै नभएर साइबर अपराध समेत बढ्न थालेको छ । विदेशमा अलपत्र परेकाहरु ल्याउन उद्धार उडानलाई तिब्रता दिइएको छ भने लकडाउन खुकुलो भएपनि अधिकांश व्यवसायीहरु ग्राहक कुरेर नै दिन काटिरहेका छन् । यस्ता छन्, नेपालका प्रमुख ५ खबर :

बढ्दै कोरोना संक्रमित र त्रास
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सहित विभिन्न जिल्लामा ५९३ जना कोरोना संक्रमित थपिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं सहित देशका ४१ जिल्लामा कोरोनाका नयाँ संक्रमित पहिचान भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या २ हजार ६९८ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नै २७ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलाको कोरोना संक्रमणकै कारण निधन भयो । यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा २, गुल्मीमा २, बारामा १, ललितपुरमा १, अर्घाखाँचीमा २, दैलेखमा २, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा ३, डोल्पामा १, स्याङ्जामा २, चितवनमा १, पर्सामा २ र गुल्मीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना विस्तार भएको छ । परिक्षणको दायरा बढाउन भन्दै सरकारले थप १० वटा प्रयोगशाला विस्तार गर्ने भएको छ ।

उद्धार उडानको तिब्रता
शुक्रबार अर्थात जुन २७ गते कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुसँगै विदेशमा ज्यान गुमाएका १६ नेपालीको शव पनि ल्याइएको छ । मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ ।

यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आए । बहराइनबाट एक नेपालीको शव ल्याइएको छ । कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । उनीहरुलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत नेपाल ल्याइदिएको छ ।

जुन २६ मै नेपाली लिन नेपाल एअरलाइन्सका जहाज हङ्कङ, अस्ट्रेलियाको मेलवर्न, यूएईको दुबई र साउदीको रियाद गएका छन भने हिमालय एअरलाइन्सको चार्टर्ड जहाज यूएईको आबुधाबी र साउदीको दमाम उडेको छ । यी जहाजले जुन २७ मा नेपाली लिएर नेपाल आउनेछन् । नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित जुन २६ मा त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए ।

लकडाउन अवधिमा बढे साइबर अपराध
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध बढेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेका हुन् । ब्यूरोका अनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी १५३ वटा उजुरी दर्ता भएका छन् ।

वैशाख महिनामा २३२ र जेठ महिनामा २३४ वटा उजुरी दर्ता भएकोमा असार महिना (१२ गते)सम्ममा नै ११४ वटा उजुरी दर्ता भैसकेका छन् । लकडाउन अवधिमा मात्र साइबर अपराधसम्बन्धी ७३३ वटा उजुरी साइबर ब्यूरोमा परेको देखिन्छ । बढी उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०७६ ०७७ को हालसम्म २०४८ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यो अघिल्लो वर्षको भन्दा ५११ बढी हो । अघिल्लो आवमा साइबर अपराधसम्बन्धी १४९६ वटा मात्रै उजुरी परेका थिए ।

नेपालको जनसंख्या तीन करोडबाट उकालो लाग्दै
नेपालको जनसङ्ख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर देशको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको जानकारी गराएको हो ।

राष्ट्रिय जनगणना २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले कार्यतालिका स्वीकृत गरेको थियो । हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने व्यवस्था रहदै आएको छ ।

ग्राहक कुर्दै दिन विताउँदै व्यापारीहरु
न्युरोड, खिचापोखरी र महाबौद्ध क्षेत्रमा पसल खोलेका व्यवसायीहरुले ग्राहकको प्रतिक्षामा दिन बिताउने गरेका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड बढेपनि अधिकांश व्यावसायी फूर्सदिला देखिन्छन् । बिहान आएर पसल खोल्ने र दिनभर बस्ने गरेको दाबी गर्ने व्यापारीहरु कोरोना संक्रमणका कारण ब्यापार ठप्प भएको बताउँछन् ।

नेपाल राष्ट्रिय व्यापार महासंघ, रञ्जना व्यापारसंग लगाएका पदाधिकारीहरुले ग्राहकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको जानकारी दिए । लामो समय लकडाउन भएको र ग्राहकसँग खर्च गर्ने रकम कम भएको कारणले मात्रै नभएर सार्वजनिक यातायात नचल्दा समस्या भएको व्यवसायीहरु बताउँछन् । अधिकांश व्यवसायीहरु यतिबेला सार्वजनिक यातायात कतिबेला खुल्ला र व्यापार बढ्ला भन्ने आशैआशमा बसिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ