Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : कोरोनासँगै सलहको प्रकोप, नागरिक उद्धारदेखी भूमी फिर्ताको चिन्ता

प्रमुख खबर : कोरोनासँगै सलहको प्रकोप, नागरिक उद्धारदेखी भूमी फिर्ताको चिन्ता


काठमाडौं । कोरोनाको कहर ७७ जिल्लामा विस्तार हुँदैगर्दा देशमा फेरी खाद्य संकट निम्त्याउनसक्ने सलह किराको प्रकोप सुरु भएको छ । एकातिर सीमा बिवादको वार्ता प्रक्रिया भारतले टार्दै आएको छ । देशमा संकट पर्दा विदेशमा रहेका आफ्ना नागरिकको उद्धार पनि उत्तिकै आवश्यक देखिएको छ । यी विविध घटनाक्रमले महत्व र चर्चा पाएको नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

१) सीमा विवादको वार्ताबाट किन भाग्दैछ भारत ?
वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गर्दै आएपछि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको भूमी फिर्तामा जटिलता देखिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई भारतले वेवास्ता गरेको जानकारी गराए । गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले विभिन्न बाहनामा टार्दै आएको देखिन्छ ।

सर्वे अफ इन्डियाले भारतको आठौं र नवौं संस्करणको राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफ प्रस्तावित वार्ता मिति टरेपछि आयो । बैशाख अन्तिम साता नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा भारतीय राजदूतलाई बोलाएरै वार्ताको प्रस्ताव पठाउँदा भारतले कुनै चासो देखाएन् । परराष्ट्र मन्त्री ज्ञवाली ‘छिमेकी पहिला’ कूटनीति अपनाएको दाबी गर्ने नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालसँगको वार्ताबाट भाग्नु हेपाहा प्रबृत्तिको निरन्तरता भएको बताउँछन् । पूर्व परराष्ट्र मन्त्री समेत रहेका परराष्ट्र मामिलाका जानकार डा.प्रकाशचन्द्र लोहनी भारतीय शासकहरू देशको अस्थित्व र कुटनीतिक संस्कार भन्दा पनि नेताहरूलाई मनाए पुगीहाल्छ नी भन्ने सोचाइबाट चल्ने गरेको बताउँछन् । देशको कमजोर कुटनीति र नेताहरुको लाभको सम्बन्धले देशको राष्ट्रियताको सवाल कमजोर भएको कतिपय कुटनीतिज्ञले बताउँदै आएका छन् ।

अर्कोतर्फ नेपाल पक्षले सुगौली सन्धि लगायतका दर्जनौं प्रमाणका आधारमा लिम्पियाधुरा मुहान भएकै काली नदी सीमा नदी भएको बताउँदै आउँदा भारत आफूसँग प्रमाण नभएका कारण पनि वार्ताबाटा भागिरहेको छ । प्रमाण नभएरै भारत वार्तामा बस्न नचाहेको दाबी गर्ने पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ सीमा मामिलामा नेपालमा देखिएको दलीय सहमतीले समेत भारत हच्किएको दाबी गर्छन । सबै दलहरू एक जुट हुँदा ‘फुटाउ र राज गर’ नीति असफल हुने देखेर पनि भारतले यतिबेला वार्तालाई महत्व नदिएको कतिपय विज्ञहरुको बुझाई छ ।

२) ७७ जिल्लामा कोरोना विस्तार, संक्रमितको संख्या १२३०९
नेपालमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । कुवेतबाट फर्किएका ७ जना र भारतबाट आएका २ जना समेत गरेर रसुवामा ९ जनामा कोरोना संक्रमण पहिचान भएसँगै देश ७७ वटै जिल्लामा कोरोना विस्तार भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गर्नुभएकोमा शनिबार टेष्टको संख्या बढ्नुको साटो घटेर ४६०६ मा सिमित भएको छ ।

हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट गरिएको छ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २८३४ पुगेको छ । भरतपुर अस्पतालको आइसोलेसन उपचारका क्रममा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

३) विस्तार हुँदै सलहको प्रकोप, खाद्य संकटको जोखिम
यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित गर्दै शनिबार नै सलहको समूह नेपाल प्रवेश गरेको छ । नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि बारा, पर्सा, रौतहट र सर्लाही हुँदै नेपाल छिरेको सलह पाँच नम्बर प्रदेशको रुपन्देही, पाल्पा पुगेको छ भने बागमति प्रदेशको मकवानपुर, सिन्धुली, काभ्रेमा समेत सलहको झुण्ड भेटिएको छ ।

सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने भएकाले एकैदिनमा देशको तपाई हुँदै पहाडी क्षेत्रसम्म सलह भेटिन थालेको छ । घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । सोही अनुसार सलह पहिचान भएको क्षेत्रमा तरकारी तथा बालि खान सुरु गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । नेपालमा सलहले पुर्याउने क्षती बारे अहिलेनै एकिन नभए पनि कृषी क्षेत्रमा ठूलो असर पार्नसक्ने आँकलन गरिएको छ ।

सन् १९६० मा काठमाडौं उपत्यकामा देखिएको सलहले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । सो समयमा काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको थियो । यो पटक भने सन् २०१९ सुरुवाती महिनामा यमनमा देखिएको सलह साउदी अरेबिया, इरान हुँदै पाकिस्तान प्रवेश गरेको थियो । पाकिस्तानमा ठूलो क्षति गरेको सलह सन् २०२० को सुरुवातमा भारत प्रवेश गरेको थियो । ६० वर्षपछि पुनः नेपाल प्रवेश गरेको सलहले यमनदेखि १७ महिने उडान भरेको छ ।

सलह नियन्त्रणका उपायहरु
विज्ञहरुका अनुसार रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो । विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय मानिएको छ । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

४) शनिबारको उद्धार उडानबाट १३ सय बढी स्वदेश फर्किए
जुन २७ मा एकैदिन कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका १३ सय १० नेपालीको उद्धार गरिएको छ । कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना नेपाल आएकोमा, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना शनिबार नेपाल आइपुगेका छन् ।

साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपालीले स्वदेश फर्किने मौका पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार साउदीको रियादबाट १५ नेपालीको शव शनिबार नेपाल आइपुगेको छ । अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् । आइतबार अर्थात जुन २८ मा नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर, हिमालय एअरलाइन्सको जहाज मलेसियाको क्वालालाम्पुर जानेछन् ।

५) हाई प्रोफाइल वन्यजन्तु तस्कर पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विदेश घुम्दै नेपालका वन्यजन्तु तस्करी गर्ने एक जना हाई प्रोफाइल वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ । फरार भएको करिब १६ वर्षपछि पक्राउ परेका कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङ सीआईबी र इन्टरपोलसमेतको सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । २०६२ को भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिदा उनै लामाको नाम जोडिएको थियो ।

वन्यजन्तुका विभिन्न ठूला अपराधमा संलग्न देखिएका लामाको नागरिकता र बोलाइने नाम फरकफरक भएको तथा उनको नामसँग मिल्ने धेरै व्यक्ति भएकाले प्रहरीले लामो समयसम्म समात्न सकेको थिएन । हुम्लाको नाम्खा गाउँपालिका ६ (साविक लिमि गाविस ४) का स्थायी बासिन्दा लामाको अस्थायी ठेगाना काठमाडौं, बौद्ध हो । लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएका लामालाई अहिले धुन्चेस्थित निकुञ्ज कार्यालयको थुनुवा कक्षमा राखिएको छ । संशोधित निकुञ्ज ऐनमा बाघलगायतका संरक्षित वन्यजन्तुको कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ