Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारत-नेपाल सीमा टकराब, किन वार्ताबाट भाग्दैछ भारत ?

भारत-नेपाल सीमा टकराब, किन वार्ताबाट भाग्दैछ भारत ?


पुण्यप्रसाद धमला, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गर्दै आएपछि नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको भूमी फिर्ताको प्रक्रियामा जटिलता देखिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई भारतले वेवास्ता गरेको जानकारी गराए । यता, गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले विभिन्न बाहनामा टार्दै आएको देखिन्छ ।

सर्वे अफ इन्डियाले भारतको आठौं र नवौं संस्करणको राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफ प्रस्तावित वार्ता मिति टरेपछि आएको थियो । बैशाख अन्तिम साता नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा भारतीय राजदूतलाई बोलाएरै वार्ताको प्रस्ताव पठाउँदा भारतले कुनै चासो देखाएन् । परराष्ट्र मन्त्री ज्ञवाली ‘छिमेकी पहिला’ कूटनीति अपनाएको दाबी गर्ने नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालसँगको वार्ताबाट भाग्नु हेपाहा प्रबृत्तिको निरन्तरता भएको बताउँछन् । पूर्व परराष्ट्र मन्त्री समेत रहेका परराष्ट्र मामिलाका जानकार डा।प्रकाशचन्द्र लोहनी भारतीय शासकहरू देशको अस्थित्व र कुटनीतिक संस्कार भन्दा पनि नेताहरूलाई मनाए पुगीहाल्छ नी भन्ने सोचाइबाट चल्ने गरेको बताउँछन् । देशको कमजोर कुटनीति र नेताहरुको लाभको सम्बन्धले देशको राष्ट्रियताको सवाल कमजोर भएको कतिपय कुटनीतिज्ञले बताउँदै आएका छन् ।

अर्कोतर्फ नेपाल पक्षले सुगौली सन्धि लगायतका दर्जनौं प्रमाणका आधारमा लिम्पियाधुरा मुहान भएकै काली नदी सीमा नदी भएको बताउँदै आउँदा भारत आफूसँग प्रमाण नभएका कारण पनि वार्ताबाटा भागिरहेको छ । प्रमाण नभएरै भारत वार्तामा बस्न नचाहेको दाबी गर्ने पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ सीमा मामिलामा नेपालमा देखिएको दलीय सहमतीले समेत भारत हच्किएको दाबी गर्छन । सबै दलहरू एक जुट हुँदा ‘फुटाउ र राज गर’ नीति असफल हुने देखेर पनि भारतले यतिबेला वार्तालाई महत्व नदिएको कतिपय विज्ञहरुको बुझाई छ । चिनियाँ जनमुक्ति सेनाले आफ्नो सेनालाई भिरबाट लडाएपछि भारत तुरुन्तै वार्तामा वस्न तयार भएको घटनाले पनि नेपालले बाध्य नपार्दासम्म भारत वार्तामा नबस्ने देखाएको छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका परराष्ट्रविद् डा। भेषबहादुर थापा संवादहीनताले भारतलाई समेत हित नगर्ने दुबै देशलाई हित नगर्ने मौनतामा आधारित अन्योल चिर्नुपर्ने जिम्मेवारी परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र प्रधानमन्त्री केपि शर्मा ओलीको काँधमा रहेको कतिपय विज्ञहरुले बताउँदै आएका छन् ।

नेपालसँग नोवेल कोरोना भाइरस महामारीपछि संवाद गर्ने बताएको भारतले चीनसँग भने तुरुन्तै वार्ता गर्यो । भारत र चीनबीचको टकरावमा अमेरिका, बेलायतले मध्यस्थता गर्ने बताए । तर नेपाल मामिलामा अन्तर्राष्ट्रिय समूदायले समेत चासो देखाएको देखिदैन । भारतले ठूला देशको साथ नपाउने सम्भावना बढ्दा चीनले नेपाललाई साथ दिने आशंका पनि भारतीयहरूमा व्याप्त छ । यसकारण पनि भारत वार्ता र कुटनीतिक सम्वादको मिति टार्दै नेपालीहरुलाई थप उत्तेजित बनाउने रणनीतिमा उद्धत देखिएको छ । भारतीय सञ्चार माध्यमको प्रस्तुति समेत तथ्यहिन देखिएका छन् । नेपालीलाई एकापसमा फुटाउन नसकेको भारतले थकाउने, गलाउने र विषयान्तर गर्ने नीतिमै अघि बढ्छ वा कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि तयार हुन्छ, यो भने प्रतिक्षाको विषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ