Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia३२ वर्षपछि अष्ट्रेलियामा नेपाली प्यागोडा मर्मत । मुर्ती राख्ने विषयमा छलफल सुरु (भिडियोसहित)

३२ वर्षपछि अष्ट्रेलियामा नेपाली प्यागोडा मर्मत । मुर्ती राख्ने विषयमा छलफल सुरु (भिडियोसहित)


ब्रिजवेन/सरल गुरुङ
अष्ट्रेलियाको एक मात्र नेपाली शैलीको शान्ति प्यागोडाको पुर्ननिर्माण सम्पन्न भएको छ । काठमाडौस्थित पशुपतिनाथ मन्दिरकै स्वरुपमा बनेको प्यागोडा हालै मात्रै पुन सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ब्रिजवेनको साउथ बैंकमा रहेको प्यागोडाको साउथ बैंक कर्पोरेसनले गत फेब्रवरीबाट पुर्ननिर्माण सुरु गरेको थियो ।
निमार्ण भएको ३२ वर्षमा पहिलो पटक प्यागोडाको पुर्ननिमार्ण भएको हो । मुख्य प्यागोडा र यसको आगानमा रहेका दुइ साना मन्दिर आकारको संरचनाको छाना पित्तलको छानो फेरिएको हो । त्यस्तै आँखीझ्याल, थाम, दलिन, ढोकाहरुको रंगरोगन गर्ने कार्य पनि सम्पन्न भएको छ । मर्मतपछि प्यागोडाको सुन्दरता झनै थपिएको छ । ब्रिजवेनको साउथ बंैक पार्क ल्याण्डले शान्ति प्यागोडाको हेरचाह गर्दै आएको छ । पार्क ल्याण्डले मर्मतपछि खुल्ला गरेपनि यसको औपचारिक रुपमा नेपाली समुदायले आगामी अक्टोबरमा उद्घाटन गर्ने तयारी गरिरहेको छ । जसका लागि कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले अन्य नेपाली संघसंस्थासंग सहकार्य गरिरहेको छ ।
यस्तो नेपाली प्यागोडा नेपालबाहिर मुनिच, ओसाका र ब्रिजवेनमा गरि तीन वटा स्थानमा मात्रै छ । त्यसैले पनि यो प्यागोडाको महत्व उचाईमा पुगेको हो । अष्ट्रेलियाले नेपाली प्यागोडालाई ऐतिहासिक र सांस्कृतिक महत्वको सम्पदाको रुपमा संरक्षण गर्दै आएको छ ।

यस्तो छ प्यागोडाको इतिहास

आजभन्दा ३२ वर्षअघि सन् १९८८ मा ब्रिजवेनमा विश्व व्यापार सम्मेलन अर्थात वल्र्ड एक्स्पो आयोजना भएको थियो । त्यहि बेला विभिन्न देशका कलाकृतिलाई ब्रिजवेनमा प्रदर्शन गर्ने क्रममा नेपालले पनि पिस प्यागोडासहित सहभागिता जनाएको थियो । द एशोसियसन टु प्रिजर्भ एसियन कल्चर एप्याकको सहकार्यमा नेपाल पिस प्यागोडासहित एक्स्पोमा सहभागी भएको थियो ।
नेपालबाट आएका १६० जना कलाकारले दुइ वर्ष लगाएर प्यागोडाको निमार्ण गरेका थिए । प्यागोडाका लागि चाहिने विभिन्न बुट्टा भरिएका ८० टन काठ नेपालबाटै ल्याइएको थियो ।६ महिनासम्म जारी एक्स्पो अवधीमा नेपालीको यो तीन तल्ले प्यागोडा आकर्षणको केन्द्र बनेको थियो विवरण कुइन्सल्याण्ड सरकारको आधिकारीक वेवसाइटमा अझै पनि उल्लेख छ । सरकारी विवरण अनुसार एक्स्पो अवधीमा प्यागोडाको भुइ तल्लामा विभिन्न नेपाली भेषभुषामा सजिएका नेपाली कलाकारले सांस्कृतिक झाँकी प्रदर्शन गर्थे । त्यस्तै प्यागोडाको पहिलोे तल्लामा रहेको आँखीझ्याल सहितको चिया पसलमा चिया पिउदै पर्यटकले एक्स्पोको गतिविधी नियाल्ने गरेको विवरणमा उल्लेख छ । त्यस्तै मुख्य प्यागोडा अगाडी रहेका दुइ ससना मन्दिर आकृतिका संरचनामा भने समोसा, सुन्तलाको जुस र कागतीको चिया बेच्ने गरिएको थियो ।
एक्स्पो अवधीमा स्प्रिङहिल नजिकैको भल्चर स्ट्रिटमा स्थापना गरिएको प्यागोडालाई सन् १९९१ मा मात्रै अहिलेको स्थान साउथ बैंकमा सारिएको हो ।
प्यागोडा सारेर ब्रिजवेनमै सदाका स्थापना गर्नु पनि चुनौतिकै कुरा थियो त्यति बेला ।

एक वर्ष अघिको भिडियो रिपोर्ट

एक्स्पो सकिएपछि एप्याकले यो नेपाली प्यागोडालाई जापानलाई बेच्न खोजेको थियो । तर, यसको सुन्दरता र सांस्कृतिक महत्वका कारणले अष्ट्रेलियालीहरुले नेपाली प्यागोडा ब्रिजवेनमै राख्नुपर्ने अभियान चलाए । त्यतिबेला फ्रेन्डस् अफ प्यागोडा नामक समुहले प्यागोडा बचाउ अभियान सुरु गरेर यसलाई ब्रिजवेनमै राख्नका लागि ९० हजार हस्ताक्षर संकलन गरेको थियो । नागरिक स्तरबाट व्यापक दबाब सृजना भएपछि संघीय सरकारले यसलाई ब्रिजवेनमै राख्ने निर्णय गरेको हो । प्यागोडा राख्नका लागि फ्रेन्डस अफ प्यागोडाले ५२ हजार डलर चन्दा संकलन गरेको थियो । चन्दामा अवकास प्राप्त अष्ट्रेलियन जोडी फ्याङक र मार्या पिटले मात्रै ३० हजार डलर सहयोग गरेका थिए । नागरिकको सहयोगमा ब्रिजवेन काउन्सिलले ५० हजार र संघिय सरकारले एक लाख डलर उपलब्ध गराएपछि साउथ बैंकमा प्यागोडा राख्ने काम अघि बढेको हो । सन् १९९१ सेप्टेम्बर २४ तारिखमा ब्रिजवेनको साउथ बैंकमा नेपाली प्यागोडा स्थाई रुपमा राखिएको हो । स्थाई रुपमा राख्ने क्रममा प्यागोडाको मध्य भागमा बुद्धको अवतार अभलोकितेश्भराको प्रतिमा र घण्टी थपिएको छ । त्यति बेलाको सम्झौता अनुसार प्यागोडाको संरक्षण संघिय सरकारले गर्दै आएको छ
यो स्थान अझै पनि नेपाली कला संस्कृति तथा हिन्दु र बौद्ध धर्मको पवित्र स्थलको रुपमा परिचित छ ।

प्यागोडामा मुर्ती राख्ने विषयमा छलफल

ब्रिजवेनको साउथ बैंकमा रहको प्यागोडामा कुन मुर्ती राख्ने भन्ने बहस नेपाली समुदायमा सुरु हुन थालेको छ । खासगरी प्यागोडाको मर्मत संभार भएपछि साउथ बैंक पार्कल्याण्डले यसलाई सांस्कृतिक र ऐतिहासिक धरोहरको रुपमा विकास गर्न चाहेको देखिन्छ । जसका लागि पार्कल्याण्डले नेपाली समुदायसंग व्यापक छलफल गरि उचित मुर्ती राख्ने र यसलाई सांस्कृतिक महत्वको रुपमा अघि बढाउन लागेको हो । जसका लागि अहिले कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले पार्कल्याण्डसंग सहकार्य गरिरहेको छ ।
प्यागोडामा के कस्तो संरचना थप्ने भन्ने विषयमा नेपाली समाजको एउटै धारणा हुनुपर्ने भएकाले व्यापक छलफलको आवश्यकता रहेको क्युएनसिसिका सचिव नारायण पन्थीले जानकारी दिनुभयो । छलफलका लागि कुइन्सल्याण्डका सबै नेपाली संघसंस्थासंग छलफल गर्न दु्रत कमिटी बनाउन लागिएको पनि पन्थीले जानकारी दिनुभयो । दु्रत कमिटीले सबै संघसंस्था र व्यक्तिलाई भेला पारेर छलफल गरि नयाँ शसक्त टिम बनाउन भूमिका खेल्ने पन्थीको भनाई छ । द्रुत टिममा बस्न इच्छुकले क्युएनसिसिमा सम्पर्क गर्न सक्नेछन् । नेपाली समुदायको साझा धारणा यथासक्य पार्कल्याण्डलाई दिनुपर्ने भएकाले समुदायबिचको छलफल तत्कालै सुरु गर्नुपर्ने क्युएनसिसिको भनाई छ ।

Photo- South Bank, Brisbane

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ