Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : सीमामा बढाइदै सुरक्षा दस्ता, बालुवाटारमा सत्ता परिवर्तनको चिन्ता

प्रमुख खबर : सीमामा बढाइदै सुरक्षा दस्ता, बालुवाटारमा सत्ता परिवर्तनको चिन्ता


काठमाडौं । भारतबाट अतिक्रमित भूमी समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा ल्याएकै कारण सत्ता परिवर्तनको षड्यन्त्र सुरु भएको प्रधानमन्त्री स्वयमले दाबी गर्दैगर्दा आम नागरिक कोरोनाको कहरमा छन् । विदेशबाट नेपाली नागरिकको उद्धार जारी रहँदा स्वदेशमा असारे विकासको चटारो । सीमामा बिओपीसँगै सुरक्षा गस्ती नै बढाइएको छ । नेपालमा चर्चा र महत्व पाएका प्रमुख ५ खबर यस्ता छन् ।

१. कस्ले हटाउँदैछ प्रधानमन्त्रीलाई ?
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने षडयन्त्र सुरु भएको दाबी गरेका छन् । भारतले प्रधानमन्त्रीबाट हटाउन खेलेको भुमिकामा नेपालका नेताहरू समेत संलग्न देखिएको उनले आरोप लगाए । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुन्छ भन्दै षड्यन्त्र थालिएको बताए ।

भारतका मिडिया र बौद्धिक बहसहरू हेर्दा समेत भारतको राज्य संयन्त्रले नेपालको सरकार परिवर्तनमा देखाएको सक्रियता थाहा हुने उनको दाबी थियो । अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै भारतकै योजनामा आफ्नो सरकार ढलेको उनले स्मरण गराए । नेपालले १४६ वर्ष उपभोग गरेको तर ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको प्रधानमन्त्री ओलीको दाबी थियो ।

२.उद्धार उडानको निरन्तरता, करिब साँढे ८ हजार स्वदेश फर्किए
लकडाउनको ३ महिनामा १८ सय चार्टर्ड उडानमार्फत ४७० टन मेडिकल सामग्री नेपाल भित्रिएको छ । सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम र आन्तरिकमा सीता एयरले महत्वपुर्ण भुमिका खेलेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेसँगै व्यवसायीक उडानमा रोक लागेको थियो ।

चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान हुँदा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा पाए । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान थिए । लकडाउनको पहिलो तीन महिनामा २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् ।

अध्यागमन विभागका अनुसार, नेपालबाट १३ हजार ७५ नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक बाहिरिदा विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ उडानमार्फत नेपाल आएका छन् । यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेकाहरु छन् । लकडाउन अवधिभर अन्तर्राष्ट्रियतर्फ २९ वटा फरकफरक वायुसेवा कम्पनी, सैनिक वायुसेवा र चार्टर्ड उडान गर्ने विमान कम्पनीका जहाजले काठमाडौंको उडान भरेका थिए । उद्धार उडानमार्फत सरकारले निश्चित समयका लागि सर्तसहितको आवागमन खुला गरेको छ ।

३.सीमा सुरक्षामा सक्रियता, थपिदै बिओपी
सरकारले बोर्डर आउट पोष्ट( बीओपीको संख्या एक सय १४ वटा थप गर्ने निर्णय गरेसँगै सिमामा सुरक्षा टोलीको गस्ती बढाइएको छ । सरकारले गत वर्ष बीओपीको संख्या बढाएर २ सय २१ वटा पु¥याउने निर्णय गरेपनि अहिलेसम्म एक सय ३२ वटा स्थापना भएका छन् । चालु आर्थिक वर्षमा मात्र २५ वटा बीओपी स्थापना भएका छन् । भारतले आफ्नो भूमि दावी गरिरहेको कालापानी क्षेत्र नजिकसम्म बीओपी स्थापना भइसकेको छ ।

यसअघि बीओपी नै नभएको चीनतर्फको सीमामा समेत चार वटा बीओपी स्थापना भएका छन् । भारतसँगको सिमामा मात्र एक सय २८ वटा बीओपी छन् । अब ८९ वटा बीओपी थप्न बाँकी रहेको गृह मन्त्रालय बताउँछ । कहाँ कहाँ राख्ने भन्नेबारे गृह मन्त्रालयले निर्णय गरिसकेको छ । सिमाको सुरक्षा शसस्त्र प्रहरी बलले गर्दै आएको छ । एउटा बीओपीमा प्रहरी निरिक्षकको कमान्डमा ३५ जनाको टोली खटाइने गरिएको छ ।

४. विकास कि बिनास ?
बल्खुबाट कलंकीतर्फ जाने सवारी साधन अहिले सर्भिस लेनमा गुड्न पाउँदैनन् । चक्रपथको सर्भिस लेन खनेर अहिले धमाधम मेलम्चीको पाइप बिछ्याउने काम भइरहेको छ । सडकको कालोपत्रे धमाधम मेसिन लगाएर काटिँदा गाडी त के, पैदलयात्रीलाई समेत हिडडुल गर्न समस्या छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले चक्रपथको सीता पेट्रोलपम्पदेखि कलंकीसम्मको कालोपत्रे भत्काएर पाइप बिछ्याउने काम गरिरहेको छ ।

सडक विभागअन्तरगतको चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमाल चीनले बीचमा ८ लेनको मात्रै विस्तार गरेपछि सरकारले सर्भिस लेन निर्माणको काम आफैं थालेपनि पूर्वाधार विकासको काम सुस्त छ । करिब ६ अर्ब रुपैयाँ खर्चिएर चक्रपथको विस्तार गरिएको छ । स्थानीयहरु चीनले विस्तार गरिदिएको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको सबै काम सकिनुको साटो जताततै सडक खन्न थालिएको छ । तोकिएभन्दा ३ वर्ष ढिला गरी बनाइदिएको सडक फेरि पुरानै अवस्थामा फर्किने चिन्ता सर्वसाधारणमा बढ्न थालेको छ ।

५. बढ्दै छ कोरोनाको कहर
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएर देशका ७७ वटै जिल्लामा विस्तार हुँदा जोखिम बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या नै ३ हजार १३ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको र आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको डा. गौतमका अनुसार देशभरीका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् भने ९ हजार ७ सय ३१ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा कोरोना भइरससँगै जुधिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ