Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : संक्रमित थपिएसँगै लम्बियो लकडाउन, समस्याकाबीच रोपाइको रौनक

मुख्य खबर : संक्रमित थपिएसँगै लम्बियो लकडाउन, समस्याकाबीच रोपाइको रौनक


काठमाडौं । लकडाउन खुकुलो गरेको सरकारले बन्दाबन्दीको समयसिमा भने साउन ७ सम्म पुर्याएको छ । कोरोनाको संक्रमण र सलहको त्रासकाबीच नेपालमा धान दिवस मनाइएको छ । कानुन बन्ने क्रमले निरन्तरता पाउँदा अमेरिकी सहयोगको एमसीसी परियोजना नेपालका लागि निल्नु र ओकल्नु बनेको छ । यी विविध घटना क्रममा चर्चा र महत्व पाएका प्रमुख ५ खबर यस्ता छन् ।

१. लकडाउन लम्बियो, मापदण्ड पुरा गराउन जोड
नेपाल सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार लकडाउन कडाई र खुकुलो बनाउन सक्ने भएपनि निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्नेछ । सरकारको पछिल्लो निर्णयसँगै अबसाउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् । निजी सवारीसाधनमा जोर विजोर प्रणाली कायमै रहदा उद्दार बाहेकका सबै हवाई उडान बन्द रहनेछन् ।

विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू साउन ७ सम्म बन्द रहनेछन् । स्वास्थ्य सावधानी लगायतका मापदण्ड कार्यान्वयन नभएको निश्कर्ष सहित सरकारले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

२. कोरोना संक्रमित १३ सय नाघे, २९ को मृत्यु
पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । यीमध्ये ३ हजार १३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा डोटीमा ९६ जना, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जना, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५र५ जना, प्युठान, चितवन र महोत्तरीका ४४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २र२ जनामा, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एकरएक जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ६, भक्तपुर र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको हो । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

३. धान दिवस र रोपाई
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस नेपालमा रोपाइँ सहित दही च्यूरा खाएर मनाइएको छ । असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपेर किसानहरुले दिवस मनाउँदा सरकारले समेत औपचारिक कार्यक्रम गरेको छ । कृषी मन्त्रीले ट्याक्टरले धान रोपेर दिवस मनाउँदा देशका अधिकांश स्थानमा युवा लाठे र युवती रोपाहार बनेर खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै धान दिवस मनाउँदै रोपाई गरेका छन् । घाम र कामको चटारोले थकित भएका किसानले शीतलता र शक्ति प्राप्तिका लागि दही च्यूरा खाने परम्पराले पनि यो बर्ष निरन्तरता पाएको छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाएका छन् । असार धान रोप्ने महीनाका रुपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती रहेको छ । मनसुन सक्रिय हुनु अघिदेखी नै पानी परेकाले यो बर्ष असार १५ सम्म नै २५ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषी विभागले जनाएको छ । बाँकी क्षेत्रमा रोपाइले तिब्रता पाएपनि किसानको मल, बिउ बिजन नपाएको समस्या समाधानमा सरकार गम्भिर बनेको देखिदैन ।

४. राष्ट्रपतिबाट पाँचवटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले जुन २९ गते पाँच विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७ ७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । यी सबै विधेयक नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

५.एमसीसीमा अमेरिकी मत
अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) स्विकार गर्ने नगर्ने नेपालको रोजाई भएपनि सधैं उपलब्ध नहुने बताएको छ । सम्झौता नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारे जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले कोषको उपलब्धता सधैं खुला नरहने जानकारी गराएको हो । नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता जुन ३० भित्र पारित गर्नुपर्ने भएपनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैको विवादका कारण छलफल प्रक्रियामा समेत प्रवेश पाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल परिर्माजन गरेर मात्र एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने पक्षमा छन् । सत्तारुढ दलमा एमसीसी बारे बिवाद कायमै रहदा अमेरिकाले २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउने अभियान नेपालकै कारण ढिलाई भएको दाबी गरेको छ । अमेरिकी दूताबासले एमसीसी साझेदार देशको सार्वभौमिकतामा समेत टेवा पु¥याएको जिकिर गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ