Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : कोरोनासँगै सलहको कहर, प्रहरी प्रमुखमा दौडधुप

मुख्य खबर : कोरोनासँगै सलहको कहर, प्रहरी प्रमुखमा दौडधुप


काठमाडौं । कोरोना र सलहको कहर नेपालमा बढ्दो क्रममा छ । कोरोनाले रोकिएका परिक्षा लिने बारे अध्ययन गर्न भन्दै समिति गठन गरिएको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्वका लागि दौडधुप नै सुरु भएको छ । नेपालमा चर्चा र महत्व पाएका मुख्य ५ खबर पढौँ ।

१.थपिदै कोरोना संक्रमित, त्रासमा नागरिक
नेपालमा जुन ३० मा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मंगलबार काठमाडौं जिल्लामा मात्रै १२ जनामा कोरोना पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ६० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३ हजार १९४ पुगेको छ । नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण हुँदा पछिल्लो २४ घन्टामा आरडीटी परीक्षण गरिएको छैन । पीसीआर विधिबाट भने हालसम्म २ लाख २८ हजार ३४१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ७ स य ११ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३ हजार ७० र आइसोलेसनमा रहनेको संख्या १० हजार ३४१ रहेको छ ।

२ .एसईईको आन्तरिक मूल्यांकनको गृहकार्य
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तसम्म परीक्षा नियन्त्रण कार्यालयमा पु¥याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनैप्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय पठाउनु भनिएको छ ।

विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसक्नुपर्नेछ । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेको थियो । कोरोनाका कारण एसईई प्रभावित हुँदा ४ लाख ८२ हजार २१९ विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन् । २०७६ चैत्र ६ गते तोकिएको एसईई ५ चैत साँझ स्थगन गरिएको थियो ।

३.सेमेष्टर प्राणालीअन्तर्गतका परिक्षाको तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका सञ्चालन गर्ने बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । सेमेष्टर प्रणालीको परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए । कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो । वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिनेछन् । त्रिविले गत चैत ७ गतेदेखि कोभिड(१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो । चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकी सङ्कायको प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिने जानकारी दिए ।

४.विस्तार हुँदै सलह, बालिनालीमा असर सुरु
मंगलबार दिउँसो १२ बजेसम्म नेपालका विभिन्न २४ जिल्लामा भटिएको सलह विस्तार भैरहेको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रका अनुसार मंगलबार दिउँसोसम्म २४ जिल्लामा सलह प्रवेश गरेपनि मकै, धान, केरा खेतीमा बढी क्षति पु¥याएको बताइएको छ । क्षतिको सबै विवरण आउनेक्रम जारी रहदा बालीहरुमा सलहले असर पुर्याउन थालेको छ ।

मंगलबार काठमडौंका आकासमा समेत लाखौँ सलहको झुण्ड देखिएको थियो । शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो भुण्डको सलह अहिले तितरबितर भएर देशव्यापी बनिरहेको छ । पहिलो पटक बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्ड महोत्तरी, बर्दीबास, मकवानपुर, सिन्धुली, रामेछाप, काभ्रे र काठमाडौं उपत्यकाका विभिन्न जिल्ला, रुपन्देही, वुटवल, कपिलवस्तु, र पाल्पासम्म विस्तार भएको छ ।

ठूलो संख्याको सलहले उत्तर पश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको केन्द्रले जनाएको छ । सलहका कारण मकवानपुरको हजार रोपनी मकैबालीमा क्षति पुगेको छ । कपिलवस्तु बुटवल लगायतका कतिपय स्थानका खेतीबारी समेत सलहका कारण उजाडिन थालेका छन् ।

५.नयाँ महानिरीक्षकको दौडधुप
अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएसँगै नयाँ महानिरीक्षकको दौड सुरु भएको हो ।

ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने मौका पाउनेछन् । प्रहरी नियमावलीले प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी वा प्रहरी नायब महानिरीक्षक–डीआईजी (एआईजी नभएको अवस्थामा) मध्येबाट आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था गरेको छ । संगठनमा करियर प्लानिङको अभाव भएकै कारण प्रकाश अर्याल, सर्वेन्द्र खनाल र हालका आईजीपी ज्ञवाली डीआईजीबाटै आईजीपी भए । एआईजीको अनुभवविनै आईजीपी हुँदा संगठन हाँक्ने विषयमा परिपक्वता नदेखिएको कतिपय पूर्वप्रहरी अधिकृतहरु नै बताइरहेका छन् ।

चार वर्षपछि बल्ल एआईजीबाट आईजीपी छनोट हुँदैछ । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत भएकाले क्षेत्री र पालमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म प्रहरी नेतृत्व सम्हाल्नेछन् । आईजीपी नियक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीब्र बनाएपनि सरकारले सरकारले आईजीपी नियुक्तिबारे निष्कर्ष निकालिसकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ