Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खवर : कोरोना कहरमा सत्ता परिवर्तनको खेलदेखी सीमा सुरक्षाको चिन्तासम्म

मुख्य खवर : कोरोना कहरमा सत्ता परिवर्तनको खेलदेखी सीमा सुरक्षाको चिन्तासम्म


काठमाडौं । प्रधानमन्त्री आफ्नै पार्टीमा घेराबन्दीमा परेपछि प्रक्रिया र आवश्यक परामर्श बिनै बजेट अधिबेशन अन्त्यको निर्णय मन्त्रिपरिषदबाट भएको छ । परिक्षण घटेपनि कोरोना संक्रमितको संख्या उसैगरी बढ्दा सशस्त्र प्रहरी बललाई भने खुल्ला सीमा कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । बैदेशिक रोजगारीका लागि श्रम स्विकृती खुलेको छ भने नेपाली सेनाले रोकिएको शान्ति मिसनलाई सुचारु दिने भएको छ । यी विबिध चर्चाकाबीच महत्व पाएका नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

घट्दै जाँच उस्तै कोरोना संक्रमणको दर
पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ जना काठमाडौं जिल्लाका रहेका छन् । भक्तपुर र ललितपुरमा पनि २ २ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण जित्नेहरुको संख्या ५ हजार ३ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ वटा पिसिआर परिक्षण भएसँगै पीसीआर जाँचको संख्या २ लाख ३७ हजार ७ सय ६४ पुगेको छ । अहिलेसम्म ३ लाख ६ सय २० वटा आरडिटी परिक्षण भएको छ । देशभरका क्वारेन्टिनमा ३८ हजार १ सय ९ जना रहेका छन् ।

सीमा सुरक्षामा सक्रियता
सशस्त्र प्रहरीले भारतसित सीमा जोडिएका तीन ठाउँमा बोर्डर आउट पोस्ट (बीओपी) राखेको छ । बिहीबार दार्चुला जिल्लाको भारत सीमाका ब्यास, मालिकार्जुन र लेकम गाउँपालिकामा बीओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका अनुसार ब्यास गाउँपालिका–२ दुम्लिङ्, मालिकार्जुन गाउँपालिका–७ जौलजिवी र लेकम गाउँपालिका–३ लालीमा बीओपी स्थापना भएको छ । सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा अतिक्रमण, अवैध निकासी पैठारी, लागू औषध ओसारपसार नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले राखिएको छ ।

सीमा क्षत्रमा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्ने प्रमुख उद्देश्य अनुरुप सानो संख्यामा भएपनि भारत र चीनको सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएको छ । तीनवटै बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा २० जनाको संख्यामा सुरक्षाकर्मी रहने छन् । अहिले सानो संख्यामा रहने र पछि जनशक्ति थप्दै लग्ने सशस्त्रको दाबी छ । यसअघि वैशाख ३१ गते भारतद्वारा दार्चुलाको ब्यास क्षेत्रमा अतिक्रमण गरिएको ठाउँ नजिक छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना रहने गरी बीओपी स्थापना गरिएको थियो । भारतले ब्यासमा नेपालको भूमि अतिक्रमण गरी लिपुलेक मानसरोवर सडक बनाएपछि सरकार सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन बाध्य भएको थियो ।

बजेट अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना राष्ट्रपति भण्डारीले संघीय संसदलाई जानकारी गराउनु भएको हो । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर संसदको कुनै बिजनेस छ ? भनी प्रश्न गरेको र मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद भएर खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने भन्दै मन्त्रिपरिषदमा निर्णय सुनाएका थिए ।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए । वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामतीसम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन आफ्नै पार्टीका शिर्ष नेताहरुले स्थायी कमिटि बैठकमा आग्रह गरेपछि अकस्मातको अधिवेश अन्त्यको निर्णयलाई शंकाको नजरले हेरिएको छ ।

शान्ति मिसनमा जाँदै सेना
कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् । शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान जुलाई ८ तारेख अर्थात असार २४ मा ती दुई देशमा पुग्नेछ । यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लिक पुग्नेछ । नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ । यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् । ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने ५ र ६ जना मात्र रहेको बताइएको छ । यो उडानलाई नेपाल एयरलाइन्सले चुनौती र अवसर दुबै रुपमा लिएको जनाएको छ ।

खुल्यो बैदेशिक रोजगारी
सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि इन्ट्री) दिन थालेको छ । मार्च १३ अर्थात फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको जानकारी दिए । योसँगै कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा फर्किन सहज हुने भएको छ । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबार अर्थात जुलाई ३ बाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आगामी आइतबारदेखि सेवा दिन थालिनेछ । काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाँ जाने कामदारको हकमा पनि निर्णय लिने बताइएको छ । सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ अर्थात जुलाई २२ तारेखसम्म बन्द गरेको छ । जानैपर्ने अवस्थामा कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने भनिएपनि त्यति सजह देखिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ