Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : सञ्चारकर्मीको आन्दोलनदेखी मनलाग्दी गर्नेमाथी राज्यकै लाचारीसम्म

मुख्य खबर : सञ्चारकर्मीको आन्दोलनदेखी मनलाग्दी गर्नेमाथी राज्यकै लाचारीसम्म


काठमाडौं । कोरोना संक्रमण रेकर्ड बनाउँदै बढिरहेको छ । अर्कोतर्फ किसानमाथी सलहको प्रकोप । जथाभावी शुल्क नअसुल्न प्याब्सनले नै नीजि विद्यालय सञ्चालकलाई दबाब दिदा पासको दुरुपयोग गर्दै यात्रु बोकेर ठगी गर्नेहरु समेत सल्बलाई रहेका छन् । यतिबेला पेशागत सुरक्षा नभएको, मिडिया सञ्चालकले कामबाट निकालेर समस्यामा पारेको भन्दै सञ्चारकर्मी समेत आन्दोलित छन् । हेरौँ नेपालमा चर्चा र महत्व पाएका आजका प्रमुख ५ खबर ।

रेकर्ड बनाउँदै कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । काठमाडौें बानेश्वरका एक वृद्धको मृत्यु भएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नै ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएर असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएका ८५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक बृद्ध उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म गरिएको पीसीआरको संख्या २ लाख ४२ हजार २ सय ४७ पुगेको छ । क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेकोमा ९ हजार ८४ जना संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

खेतीबालीमा सलहको नोक्सानी
सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पु¥याएको र अहिलेसम्म देशभर १ हजार ६३ हेक्टरमा क्षति पुगेको जानकारी दिनुभएको हो । सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुर्याएको छ ।

अन्य बालीको तुलनामा मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयको प्रारम्भिक आँकलन छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा ३५ लाख बढी सलह प्रवेश गरेको र ५३ बढी जिल्लामा सलह विस्तार भएको छ । भारतबाट प्रवेश गर्न लागेको सलहको थप समूह हावाको बहाब परिवर्तन भएसँगै भारततर्फ नै धकेलिए पनि जोखिम कायमै छ । केन्द्र तथा विज्ञहरुले सकभर विषादीको प्रयोग नगर्न आग्रह गर्दै ठूलो स्पीकर वा ध्वनी निकालेर सलहलाई बस्न नदिन कृषकहरुलाई आग्रह गर्दै आएका छन् । अधिकांश सलहको झुण्ड जंगली क्षेत्रमा बसेको आँकलन सहित बिज्ञहरुले उडान लगायत ट्रेसिङको काम गरिरहेका छन् ।

पेशागत सुरक्षाका लागि सञ्चारकर्मी आन्दोलित
कोरोना महामारीमा समस्यामा परेका सञ्चारकर्मीको पेशागत सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघले प्रदर्शन थालेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेर कोरोना महामारीको बहानामा कामबाट निकाल्ने र बेतलबी घर बस्न दबाब दिने गतिबिधि तत्काल रोक्न सञ्चारगृह र सञ्चालकसँग माग गरेका हुन् । पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्व अध्यक्ष धर्मेन्द्र झा, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिंग्देल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित लगायतले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने र कामबाट निकाल्ने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने चेतावनी दिए । पत्रकारका कारण करोडपति बनेर पत्रकारकै पेटमा लात हान्ने मिडिया सञ्चालक बिरुद्ध सञ्चारगृह मात्रै नभई घरमै गएर आन्दोलन गर्ने उनीहरुको चेतावनी थियो ।

माग सम्बोधन नभए अनलाईन कक्षा बन्द : प्याब्सन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले मनलाग्दी शुल्क असुली रोक्न आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा भएपनि शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि विद्यालयले चोरबाटोबाट शुल्क लिन नहुने बताउनुभयो । विद्यार्थीलाई पढाएबापत अभिभावकसँग शुल्क उठाउनु विद्यालयको अधिकार भएपनि सरकारसँगको सम्वादपछि मात्रै शुल्क लिने बारे निर्णय लिइने अध्यक्ष पुरीले बताउनुभयो ।

प्याब्सनले कतिपय स्कुलले चैतको शुल्क लिइसकेको भन्दै फिर्ता दिनुको सट्टा वैशाखको शुल्क मिनाहा गर्ने प्रस्ताव गरेको छ । गत बुधबार राहत प्याकेजसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएका निजी विद्यालय सञ्चालकहरूले शुक्रबार साँझसम्म सरकारले आफूहरूको माग पूरा नगरे अनलाईन पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् । बैंकको व्याज, किस्ता र भाडा तिर्न नसकिरहेका बेला शुल्क उठाउन नपाउने भएपछि अनलाइन कक्षा सञ्चालन गर्नुको अर्थ नहुने प्याब्सनको दाबी छ । यसअघी शुल्क तिर्न प्याब्सन लगायतका नीजि विद्यालयका छाता संगठनले अभिभावकलाई ताकेता गरेसँगै आफूखुसी शुल्क नलिन शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो ।

सवारी पासको दुरुपयोग गर्दै यात्रुमाथी ठगी
लकडाउनलाई ‘लूजडाउन’ गरिएपनि व्यापार–व्यवसाय र दैनिकी सहज रुपमा चल्न पाएको छैन । मानिसहरूको दैनिक जनजीवन चलाउन मुस्किल परेको छ भने सार्वजनिक यातायात नचल्दा धेरैले सास्ती बेहोरिरहेका छन् । सर्वसाधारणको यात्रा कष्टकर बन्दैगर्दा यही बन्दाबन्दीको मौका छोपेर केही सवारी धनी सवारी पास दुरुपयोग गरी कमाउने धन्दामा लागेका छन् । उनीहरूले अवैध रुपमा यात्रु मात्र ओसारेका छैनन्, सात सय प्रतिशतभन्दा बढी भाडा असुलेर ठगी गरिरहेको पाइएको छ ।

सामान्य अवस्थामा बसमा यात्रा गर्दा ८ सय २० र माइक्रोबसमा १२ सय रुपैयाँ भाडा लाग्ने स्थानबाट समेत यतिबेला कतिपय जीपले प्रतिव्यक्ति ७ हजारसम्म भाडा असुलेर यात्रु बोकिरहेका छन् । बन्दाबन्दीमा जिल्ला प्रशासन कार्यालयबाट सवारी साधनको पास बनाएका धेरैजसोले जीप, बुलेरो लगायतमा ५ देखि ७ जनासम्म राखेर प्रतिव्यक्ति ठाउँ हेरेर ३५ सय देखी ७ हजारसम्म असुली गरिरहँदा समेत सरकार बेमतलबी देखिएको छ । एक हप्ताको पास बनाएर चालकहरुले हप्तामा ३ चोटिसम्म यात्रु ओसार्दा भैरहेको ठगी र कोरोनाको जोखिम बारे सरकार र सरोकारवारा बेखबर जस्तै छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ