Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : सरकार ढल्ने संकेतदेखी ढलमा कोरोनासम्म

मुख्य खबर : सरकार ढल्ने संकेतदेखी ढलमा कोरोनासम्म


काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरुबीचको द्धन्द्ध यथावत रहँदा सरकार ढल्ने हो कि भन्ने चासो बढिरहेको छ । फस्ट ट्र्याक निर्माणका क्रममा बिना सहमति जग्ग अधिग्रहण गरिएको भन्दै धान रोपाई गरिदा खोकनामा प्रहरी र स्थानीयबीच झडप भएको छ । कोरोनाको कहर बढिरहँदा ढलमा समेत कोरोना भेटिएको छ भने विदेशमा फसेकाहरुको उद्धार उडानले निरन्तरता पाउँदै आएको छ । नेपालका पछिल्ला ५ प्रमुख खबर यस्ता छन् ।

नेकपा बिवाद सत्तामा असर
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर तपाईंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफ्नो साइड रोज्न चेतावनी दिनुभएको छ । आफू र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई नियन्त्रण गर्नेक्रममा तपाईंहरू कता भनेर सोध्नुपर्ने अवस्था आउने भन्दै चेतावनी दिनुभएको हो ।

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको भन्दै कतिपय मन्त्रीले प्रधानमन्त्री ओलीकै आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए । प्रधानमन्त्री ओलीले आफूलाई देशी विदेसी सबै मिलेर हटाउन खोजिएको भन्दै पार्टीकै शिर्ष नेताहरुको आलोचना भएको छ ।

खोकनामा झडप
ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको थियो । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन् । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए ।

रोपाई रोक्न खोजेसँगै स्थानीय र प्रहरीबीच  केही समय झडप भयो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । खोकना क्षेत्रका स्थानीयले आफूहरुको सहमति बिना जग्गा कब्जा गरिएको भन्दै लामो समयदेखी बिरोध गर्दै आएका छन् ।

सुस्त परिक्षण बढ्दै संक्रमित
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अहिलेसम्म ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेन सन्टरबाट २७२ जना डिस्चार्ज भएका थिए ।

ढलमा भेटियो कोरोना
उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

यो अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए । अन्य देशका अध्ययनहरूले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको आधारमा नेपालमा अध्ययन गरिएको बताइएको छ । यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्माचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरू समेत बचत हुनेछ ।

शनिबार ११ उडानबाट १ हजा ८२ जना स्वदेश फर्किए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई ४ मा ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र १ हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव स्वदेश ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ ।

हिमालय एयरलाइन्सको जहाज राति नै दोहा र आबुधाबी प्रस्थान गर्दा नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल फर्किएको छ । आइतबार पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ