Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार उडानबाट १८ हजार बढी नेपाली स्वदेश फर्किए, आज ९ वटा उडान

उद्धार उडानबाट १८ हजार बढी नेपाली स्वदेश फर्किए, आज ९ वटा उडान


काठमाडौं । शनिबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १८ हजार २ सय ९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । हरेक दिनजसो एक हजार हाराहारीमा नेपालीहरुको उद्धार भइरहेको छ ।

विभिन्न मुलुकमा जारी राखिएको नेपालीको उद्धारका क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान भए । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र १ हजार ८२ यात्रु नेपाल फर्किएको र साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको विमानस्थलले जानकारी दिएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव स्वदेश ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ ।

हिमालय एयरलाइन्सको जहाज राति नै दोहा र आबुधाबी प्रस्थान गर्दा नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल फर्किएको छ । आइतबार पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने छन् ।

शुक्रबार ११ अन्तर्राष्ट्रिय उडानमार्फत ९१८ यात्रु नेपाल भित्रिएका थिए । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान भर्दा कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगायत विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान भर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ