Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : विदेशबाट उद्धार गरिएकाहरु नेपालमै ठगीदै, कोरोनाबाट १४३ नेपालीले ज्यान गुमाए

मुख्य खबर : विदेशबाट उद्धार गरिएकाहरु नेपालमै ठगीदै, कोरोनाबाट १४३ नेपालीले ज्यान गुमाए


काठमाडौं । सत्तारुण दलमा किचलो कमजोर प्रतिपक्षी । स्वदेशमा कोरोनाको कहर बढिरहदा विदेशमा समेत ज्यान गुमाउने नेपालीहरुको संख्या बढिरहेको छ । लामो समयसम्म बन्द रहेको रसुवागढी नाका सुचारु हुँदैगर्दा विदेशबाट स्वदेश फर्किएकाहरुसँग यातायात व्यवसायीेले ठगी गरिरहेको भन्दै भाडादर माग गरिएको छ । नेपालमा प्राथमिकता पाएका मुख्य ५ समाचार यस्ता छन् ।

सत्तरुढ दलमा किचलो, प्रधानमन्त्री संकटमा
सत्तारुढ दल नेकपाभित्र आन्तरिक कलह बढेसँगै पार्टी फूटको संघारमा पुगेको अड्कलबाजी गर्न थालिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलिबाट असन्तुष्ट बनेका पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शिर्ष नेताहरुले स्थायी समिति बैठकमै दुबै पदबाट राजीनामा मागेपछि नेकपामा भाडभौलो मच्चिएको हो ।

अध्यक्ष प्रचण्ड सहित बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता बामदेब गौतम लगायतका शिर्ष नेताहरु नै ओलीको विपक्षमा देखिदा बिधि र प्रक्रिया मिचेर जारी बजेट अधिबेशन नै हतार हतार अन्त्य गरिएको छ । प्रधानमन्त्री ओली आफू पक्षका नेता तथा मन्त्रीहरुको गुटगत भेला गराएर आफू र राष्ट्रपतिलाई हटाउनेगरी भारतको इसारामा आफ्नै पार्टीका नेताहरुले षड्यन्त्र गरेको आरोप लगाइरहेका छन् । यता, प्रधानमन्त्री र पार्टी अध्यक्षको एकलकाटे कार्यशैलीबाट वाक्क दिक्क भएको भन्दै नेताहरु पार्टी अरु नेताहरुको कारण नभई ओलीकै कारण समस्यामा परेको दाबी गरिरहेका छन् ।

कोरोनाबाट १४ देशमा रहेका १४३ नेपालीको मृत्यु
शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका १४३ नेपालीको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा मात्रै विदेशमा रहेका १३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक एक नेपालीको मृत्यु भएको हो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ । संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएका छन् ।

रसुवागढी नाका सञ्चालनमा आउँदै
कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काका अनुसार दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको हो । हिमपात र पहिरोका कारण पुस १४ बाट अबरुद्ध नाका कोरोनाको महामारीले थप प्रभावित भएको थियो । सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याइनेछ ।

पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरु नेपाल भित्रिनेछन् । नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसकालागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जानकारी दिएको छ । चीनतर्फ पठाइएका सबैको पिसीआर नतिजा नेगेटिभ छ । उनीहरु चीनीयाँको सम्पर्कमा नरहने र होटल क्वारीन्टीनमा बसेर काम गर्नेछन् ।

काठमाडौं कोरोनाको उच्च जोखिममा
पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा १ सय ३२ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कन्चनपुरमा ३२, रौतहटमा २७, काठमाडौं २७, धनुषा २७, बाजुरा २०,सल्यान १५,कैलाली १४, कैलाली १३, झापा २, पाँचथर १, ताप्लेजुङ २, मोरङ २, सिराह १,महोत्तरी १२, पर्सा १, बैतडी ३, रौतहट २, सल्यान १, सर्लाही ७, मकवानपुर १, अर्घाखाँची ४, बाँके १, बर्दिया ५, नुवाकोट २, भक्तपुर १, रामेछाप २, सिन्धुपाल्चोक २, इलाम १, ललितपुर २, म्याग्दी १, धादिङ १, बागलुङ १, तनहुँ २, कास्की २, लमजुङ १, गोरखा १, कपिलवस्तु २, नवलपरासी १,प्यूठान ११, रुपन्देही २,दैलेख २, सुर्खेत १०,स्याङ्जा १, दैलेख ५, सुर्खेत २, रुकुम पश्चिम ४,डडेलधुरा ९, अछाम १, बैतडी १ र डोटी ३ जनामा कोरोना पुष्टि भएको छ ।

उद्धारको यातायात भाडामा ठगी
यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले जुलाई ४ तारेख आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् । महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभाग मार्फत विभिन्न ठाउँमा यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको भन्दै अहिलेसम्मको उद्धार संख्या र भाडादर उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

होल्डिङ सेन्टरबाट विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि विदेशबाट फर्किएकाहरुमाथी बार्गेनिङ गरेर महंगो भाडा लिई ठगि गरिएको उनको दाबी थयो । यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरेको जानकारी दिदै भाडाबारे अनविज्ञता प्रकट गरे । विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भएपनि सूचना लुकाएर ठूलै ठगी गरिएको व्यवसायीको आरोप थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ