Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनए क्यानडामा भाँडभैलो, राहत रकम दूरुपयोगदेखी मनलाग्दी नियुक्तिसम्म

एनआरएनए क्यानडामा भाँडभैलो, राहत रकम दूरुपयोगदेखी मनलाग्दी नियुक्तिसम्म


काठमाडौं । कोरोना भाइरसका कारण भएको बन्दाबन्दी र खोसिएको रोजगारीका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै गत चैतयता स्वदेश र विदेशमा राहत संकलन कार्यहरु संचालन भैरहेका छन । तर, यसरी संकलन गरिएको अधिकांश राहत पिडितले नपाएको र वितरण नै पारदर्शिता नभएको गुनासाहरु बढ्न थालेका छन् ।

राहत संकलन तथा वितरणमा विश्वभर राम्रो पहुँच र नेटवर्क भएको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उल्लेखनीय भुमिका निर्वाह गर्दै आएपनि केही देशमा भने संकलन भएको राहत एनआरएनएका पदाधिकारीले नै दुरुपयोग गरेको पाइएको छ । यस्तै, अनियमितता एनआरएनए क्यानडाभित्र देखापरेको छ । एनआरएनए क्यानडाका युवा संयोजक इश्वर खत्रीले उठाएको राहत मनोमानी तरिकाले वितरण गरेको, हिसाबकिताब पारदर्शी नगरेको आरोप लाग्दै आएको छ । पटक पटक उठेको राहतको बारेमा स्पष्ट बनाउन दबाब आएपनि खत्रीलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरण घिमिरेले नै संरक्षण गरिरहेका छन् । सहयोग गर्ने नाममा उठाएको रकम अनियमित तरिकाले आफ्नो स्वार्थमा र आफूले चाहेको व्यक्तिलाई दिइएकै कारण अहिले एनआरएनए क्यानडा भित्र लफडा मञ्चिएको छ ।

जनावरी १९ मा एनआरएनए क्यानडाका अध्यक्षको निर्देशनमा युवा संयोजक खत्रीले फेसबुक मार्फत राहत संकलन कार्य सुरु गरेका थिए । सो समयमा कति पैसा उठेको भन्ने कुनै हिसाबकिताब नै खुलाइएन् । कोरोनाबाट समस्यामा परेका विद्यार्थी तथा अन्य नेपालीहरुलाई सहयोग गर्न उक्त राहत संकलन गरिएको थियोे । तर तत्काल समस्यामा रहेकाहरुलाई राहत उपलब्ध नगराएर जालझेल गरी नजिकका तथा आफन्तलाई केही राहत वितरण गरेजस्तो गरेर अरु राहत हिनामिना गरेको आरोप एनआरएनए क्यानडाकै अर्को पक्षले लगाउँदै आएको छ । राहत हिनामिनाको आरोपप्रति न खत्रीले केही जवाफ दिएका छन्, न अध्यक्ष घिमिरेले नै । अनियमिततामा मुछिएका दुबै आरोप लुकाउन क्रियाशिल बन्दा गल्ती स्विकार्न तयार देखिएका छैनन ।

Berrie र Sudbury मा राहत बाडेको कुरा जानकारी दिएपनि कतिलाई के कति राहत बाडेको हो ? कुनै विवरण खुलाइएको छैन । संस्थाको नाम जोडिएपछि यसमा पारदर्शिता र जवाफदेहीता हुनु पर्दैनन् र ? एक जना एनआरएन क्यानडाका सदस्यले भने । North York को विद्यार्थीलाई मात्र ५० डलरको गिफ्ट कार्ड किन दिइयो ? एक सदस्यले प्रश्न गरे । ह्याण्ड सेनिटाइजर, ग्लोब्स र माक्सका लागि मात्रै ६ हजर डलर बराबरको सहयोग आएको तर त्यसको हिसाब किताब नै गायब पारियो । युवा संयोजक इश्वर र उपाध्यक्ष बिजय पौडेलले आफ्नो घर बाट राहत वितरण गरेको दाबी गरेपनि विवरण लुकाएर अनियमिततालाई ढाकछोप गर्न खोजिएको छ ।

राहत वितरणसँग जोडिएका धेरै विषय छन, जो अनिवार्य रुपमा स्पष्ट पार्नुपर्छ अर्का एक सदस्य भन्छन् । पछिल्लो समयमा Bramptonबाट भुमि घिमिरेलाई NCC मा मनोनित गर्ने भनिएपनि उपाध्यक्ष बिजय र अध्यक्ष चिरणले सुटुक्क बासु लम्साललाई मनोनित गरेपछि अर्को विवाद सुरु भएको छ । यसबारे महासचिव पिताम्बर भटराई र प्रवक्ता दिनेश खतिवडाले असहमति पत्र नै लेखेर पठाएका छन् । यस्ता थुप्रै बिषयलाई लिएर एनआरएनए क्यानेडामा बिवाद चुलिएको छ । संस्थाभित्र नेकपाको हस्ताक्षेप भएको आरोप समेत लाग्न थालेको छ । स्रोतका अनुसार एनआरएनए क्यानडा संचालन गर्न नेकपाको प्रवासी मंन्च क्यानडाले ११ सदस्यीय सचिवालय नै गठन गरेको छ । स्वतन्त्र सामाजिक संस्थामा यसरी राजनीति बढेपछि यसको बौद्विक स्तरबाट बिरोध भएको छ । संस्थामा भएका भ्रष्टाचार तथा अनियमितताको बारेमा अध्यक्ष चुपचाप बस्नु राजनीतिक संरक्षण भएको कतिपय सदस्यले बताउँदै आएका छन् ।

केही समय अगाडी संकलित रकम हिनाबिनाको र राहत वितरणमा भएको अनियमिततामा प्रश्न उठेपछि एनआरएनए क्यानाडाले एनआरएनए हेल्प डेस्क इस्टर्न जोन कोर्डिनेटर राम क्षेत्रीलाई कारबाही गरी बासु लम्साललाई नियुक्त गरेको थियो । कोरोना महामारीको समयमा राहत बितरण र मानब सेवा मा लाग्नुको सट्टा कारकाही र नियुक्तमा दौडधुप बढ्नुले पनि एनआरएन क्यानेडालाई शंकाको घेराबाट हेरिएको छ । एनआरएनए श्रोतका अनुसार पारदर्शितामा कुरा उठाउने सदस्यहरुलाई प्रबासी मन्च र एनआरएन दुबैबाट कारवाही गर्ने धम्की आएपछि सबै यतिबेला चुपचाप बनेका छन् । स्वार्थ नमिल्दा नेकपाको प्रवासी मञ्च पनि बिभाजनको संघारमा पुगेको छ ।

एनआरएन क्यानडामा राहत रकम संकलन गरेर गरिएको मनोमानीको चौतर्फी बिरोध हुँदा पनि गल्ति स्विकारेर सच्चिनेतर्फ पदाधिकारीहरु देखिएका छैनन । एनआरएनका अन्य आप्रवासी संगठनलाई समेत बद्नाम गराउने खालको गतिबिधि गर्ने एनआरएनए क्यानडाको यस्तो गतिबिधिमा एनआरएन समेत नबोल्नुलाई गम्भिर रुपमा हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ