Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपाल फर्कन ६ सय डलर सस्तो । जुलाई १४ मा फर्कन टिकट बिक्री सुरु

अष्ट्रेलियाबाट नेपाल फर्कन ६ सय डलर सस्तो । जुलाई १४ मा फर्कन टिकट बिक्री सुरु


ब्रिजवेन
आगामी जुलाई १४ तारिखमा अष्ट्रेलियाबाट नेपाल फर्कन चाहानेका लागि उडान तय भएको छ । नेपाली दूतावास, गैर आवासिय नेपाली संघ अष्ट्रेलिया र पत्रकारको प्रयासमा सस्तो दरमा अष्ट्रेलियाबाट नेपाल उडानको व्यवस्था गर्न ट्राभल एजेन्सीहरु छनोट भएको हो । छनोटमा परेका ट्राभल एजेन्सीले प्रतिव्यक्ति १७ सय ५० अष्ट्रेलियन डलरमा उडान गर्ने तय भएको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयो । यो मुल्य यसअघि अष्ट्रेलियाबाट सरकारले व्यवस्थापन गरेको उद्दार उडानभन्दा ६ सय डलर सस्तो हो ।
जुलाई १४ तारिखमा अष्ट्रेलियाको तीन शहर सिड्नी, मेलवर्न र ब्रिजवेनबाट सिंगापुर एयरलाईन्सको नियमित व्यवसायिक उडानबाट सिंगापुर जाने र त्यहाबाट विमान चार्टड गरेर नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । आधा बाटो नियमित उडान र आधा बाटो चार्टड गरिएको तथा खुल्ला प्रतिष्प्रधाबाट एजेन्सी छानिएकाले सस्तो दरमा नेपाल यात्रा संभव हुन लागेको प्रवक्ता गुरुङले बताउनुभयो । विश्व स्वास्थ्य संगठन र सिंगापुर एयरलाइन्सको मापदण्ड अनुसार उडान हुने भएकाले कोरोना संक्रमणको कुनै जोखिम नरहेको बताइएको छ । जुलाई १४ मा नेपाल फर्कन इच्छुक व्यक्तिले यथासक्य टिकट काट्न एनआरएनए अष्ट्रेलियाले सूचना जारी गरेको छ । टिकट र अन्य जानकारीको लागि यो लिंकमा थिच्नुहोस्

सिंगापुर एयरको विमान सिड्नी, मेलर्वन र ब्रिजवेनबाट मात्रै उड्ने भएकाले अन्य स्थानबाट यी शहरमा आउनुपर्नेछ । त्यसका लागि अतिरिक्त शुल्क लिएर सम्बन्धित ट्राभल एजेन्सीले उडानको व्यवस्था गरिदिनेछ । नेपाल फर्कन चाहानेले नेपाल पुग्दा सात दिन म्याद रहने गरि आफ्नै खर्चमा पिसिआर परिक्षण गनुपर्नेछ ।
हाललाई जुलाई १४ तारिखमा उडान तय भएपनि थप नेपाली जान चाहेमा २१ जुलाईमा समेत अर्को उडान गर्ने तयारी भईरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
सस्तो दरमा अष्ट्रेलियाबाट नेपाल उडान गर्न दूतावासले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको नेतृत्वमा समिति बनाएको थियो । त्यहि समितिले जारी गरेको सूचनाका आधारमा नेपाल र अष्ट्रेलियाका १२ वटा ट्राभल एजेन्सीले आवेदन दिएका थिए । ती मध्ये २ वटा कम्पनी फर्जी थिए । बाँकी रहेका १० एजेन्सीको मुल्य र विमान कम्पनी उस्तै उस्तै देखिएपछि समितिले सबैले संयुक्त रुपमा उडानको व्यवस्था गर्न सुझाव दिएको थियो । त्यहि सुझाव अनुसार ६ एजेन्सीले संयुक्त रुपमा सस्तो दरमा उडान गराउन लागेको हो । अष्ट्रेलियाबाट नेपाल उडान गर्ने व्यवस्थापन गर्ने एजेन्सीहरुमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स, दाभिन्सी ट्राभल्स एण्ड टुर्स, काठमाडौ ट्राभल्स एण्ड टुर्स, कान्तिपुर होलिडेज, सुमेघ ट्राभल्स एण्ड टुर्स र हिमालयन एक्सपिरियन्स छन् ।
नेपाल फर्कनका लागि यसअघि १३ सय नेपालीले दूतावासमा आवेदन दिएका थिए । ती मध्ये दुइ उडान मार्फत साढे चार सय नेपाली स्वदेश फर्किसकेका छन् । जुलाई १४ तारिखमा हुन लागेको उडानबारे नेपाल सरकारसंग अनुमति लिने अन्तिम तयारी भईरहेको छ । photo- Singapore airlines

यो पनि पढ्नुस्

अष्ट्रेलियाबाट थप उद्दार उडान गर्न समिति गठन । भाडा सस्ताे गर्ने एजेन्सी छानिने



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ