Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बाढीपहिरो : एक महिनामा ९५ जनाको मृत्यु, ४१ बेपत्ता

नेपालमा बाढीपहिरो : एक महिनामा ९५ जनाको मृत्यु, ४१ बेपत्ता


पुण्यप्रसाद धमला, काठमाडौ । यो बर्ष नेपालमा मनसुन सक्रिय भएको पहिलो महिनामै बाढी, पहिरो तथा चट्याङ्गका कारण कम्तिमा ९५ जनाले ज्यान गुमाएका छन् । जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय हुँदा देशभर बाढी, पहिरोसहितका प्राकृतिक विपद्धको जोखिम बढेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरका विपद्धमा परेर ९५ जनाको ज्यान गएको हो । यी घटनामा परेर कम्तिमा ४१ जना बेपत्ता छन् । बाढी पहिरो तथा चट्याङमा परेर एक महिनामै ७२ जना घाइते भएका छन् । पहिरोबाट मात्रै एक महिनामा ७६ जनाको ज्यान गएको छ । पहिरोका कारण देशभर २६६ परिवार प्रभावित भएका छन भने १२६ निजी आवास पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । २० घरमा आंशिक क्षति पुगेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीपहिरोमा देशभर ८०० बढी परिवार प्रभावित भएका छन् ।

एक महिनामा चट्याङ्गका कारण देशभर १७ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । यसैगरी बाढीमा परी दुईजनाको ज्यान गएको छ । तीनजना बेपत्ता छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार बाढीका कारण देशभर ७९ परिवार प्रभावित भएका छन् । पहिरोका कारण सबैभन्दा बढी म्याग्दीमा २७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको जम्बु बजार क्षेत्रमा आएको पहिरोमा परेर हराएका २० जना अझै भेट्टाउन सकिएको छैन ।

बढीपहिरोको क्षति बढी देखिदा २० जिल्ला धेरै प्रभावित भएका छन् । म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ, गुल्मी र संखुवासभा जिल्लामा बढी मानवीय क्षति भएको छ । झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुलामा समेत मानविय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्लामा डुबान र कटानको समस्या सुरु भएको छ ।

पर्वत पहिरो, ९ जनाको मृत्यु
मनसुन सक्रिय भएको दिन नै अर्थात जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।

पाल्पा पहिरोमा ४ जनाको मृत्यु
असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा पहिरो खस्दा चार जनाले ज्यान गुमाए ।

बझाङ पहिरोमा ७ जनाको मृत्यु
बझाङमा असार २० गते पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा खसेको पहिरोबाट अझै एकजना बेपत्ता छन् ।

यसपछि केही समय बाढी र पहिरोको जोखिम कम भएपनि बुधबार, बिहीबार र शुक्रबार देशका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भएको छ ।

म्याग्दीमा २७ को मृत्यु, ४ बेपत्ता
जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्लामा पहिरोमा पुरिएर २७ जनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा खसेको पहिरोमा परेर अझै चारजना बेपत्ता छन् । १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता भनिएका तीनजना भने सम्पर्कमा आएको बताइएको छ ।

सिन्धुपाल्चोकमा अझै २० बेपत्ता
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । बिहिबारदेखी नै खोजी कार्य जारी राख्दा समेत अझै २० जना बेपत्तालाई फेला पार्न सकिएको छैन । यहाँ ५२ घरमा बाढी र पहिरोले क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट वितरण भएको बताइएको छ ।

कास्कीमा ७ को मृत्यु, १३ घाइते
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार खसेको पहिरोमा परेर ७ जनाले ज्यान गुमाउँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको हो । जिल्लामा पहिरोका कारण १३ जना घाइते भएका छन् ।

जाजरकोटमा ९ को मृत्यु, ६ वेपत्ता
जाजरकोटको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । अझै ६ जना बेपत्ता नै छन् । सार्की गाउँमा गएको पहिरोबाट दुई घर पुरिएका छन भने वरपरका अन्य घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

लमजुङ पहिरोमा ३ को मृत्यु
लमजुङको बेसिशहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । क्होलासोथार गाउँपालिका ३ मा एक घर पुरिदा तीनजना घाइते भएका छन् ।

रुकुमपश्चिम पहिरो, २ को मृत्यु
रुकुमपश्चिमको आठविकोट नगरपालिका ३ स्यालाखदीमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा उनकी श्रीमती र छोराको मृत्यु भएको छ भने ८ बर्षिया छोरी घाइते भएकी छन् ।

झापा र उदयपुरमा २ को मृत्यु
झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको छ । यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ३ का ३३ वर्षीय हिरण राई मेची नदीले बगाएर बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीको त्रियुगा नदी तर्ने क्रममा बगेर मृत्यु भएको छ ।

संखुवासभाका ८ घर पुरिदा ११ बेपत्ता
केही दिनदेखिको भारी वर्षासँगै खसेको पहिरोमा परेर संखुवासभा सिलिचोङ गाउँपालिकामा शनिबार राती ८ घर पुरिएका छन् । पहिरोमा परेर ११ जना बेपत्ता भएको र खोजी कार्यका लागि प्रहरी घटनास्थल गएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।

यो वर्षको मनसुनमा सामान्य वर्षा हुने पूर्वानुमान गरिएपनि औषत भन्दा बढी वर्षा भएको छ । जारी रहेको बर्षाका कारण थप जोखिमको आँकलन गरिदैगर्दा सरकारको उद्धार र राहत वितरण प्रभावकारी बन्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ