Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतलाई प्रधानमन्त्रीको दमदार जवाफसहित दीपाश्री पीडित बनेका खबरसम्म

भारतलाई प्रधानमन्त्रीको दमदार जवाफसहित दीपाश्री पीडित बनेका खबरसम्म


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्न खोजेको बताएका छन् । हाँस्य कलाकार एवं अभिनेता दीपकराज गिरी र दीपा श्री निरौलाले आफूहरूलाई सामाजिक सञ्जालमार्फत लगातार लखेट्ने काम भइरहेको गुनासो गरेका छन् । त्यस्तै, एकैदिन १ हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएका छन् भने थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील गरिएको छ । यसबाहेक अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको खबरले नेपाली सञ्चार माध्यममा प्राथमिकता पाएका छन् ।

नेपालमाथि सांस्कृतिक आक्रमण भयो– प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्न खोजेको बताएका छन् । उनले नेपाल सांस्कृतिक हिसाबले भारत र अन्य मुलुकसँग थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरिरहेको बताएका हुन् । उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादीत अयोध्या खडा गरेको भन्दै यसतर्फ चनाखो हुन भनेका छन् । उनले नेपालको संस्कृति संसारकै फुुलबारी भएकाले यसमा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताए । ‘‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ,’ उनले भने ।
उनले भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले भनेका थिए । उनले अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । भन्दै आफ्नो अभिव्यक्ति दिएका छन् ।

आफूहरुको अनावश्यक आलोचना भएको दीपा र दीपकको गुनासो
हाँस्य कलाकार एवं अभिनेता दीपकराज गिरी र दीपा श्री निरौलाले आफूहरूलाई सामाजिक सञ्जालमार्फत लगातार लखेट्ने काम भइरहेको गुनासो गरेका छन् । उनीहरुले अनावश्यक गु्रप र म्यासेज आदानप्रदान गरेर आफूहरुको चरित्र हत्या समेत भएको बताएका हुन्। दीपा श्री निरौलाको विषयलाई लिएर दीपकराज गिरीले आइतबार फेसबुक लाइभमार्फत त्यसो नगर्न आफ्ना दर्शकहरुसमक्ष आग्रह गरेका थिए । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई ‘उहाँ महानायक हो र?’ भन्ने टिप्पणी गरेपछि दीपकराज गिरीलाई समेत जोडेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । यसबारेमा राजेश हमालले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनले आफूमाथि दीपाले बोलेको कुरालाई इश्युको रुपमा नलिएको बताएका छन् । तर, दपिाश्रीले महानायकलाई त्यसो भनेको विषयमा आलोचना भइरहेको छ ।

एकैदिन १ हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८५६ जनामा पिसीआर परीक्षणमा ७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ जना पुगेको छ । आज काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोमबार देशभर २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ६१३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार २९४ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील
जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भने, “तर ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ