Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विपद्ध : एक महिनामै सय बढीको मृत्यु, ९२ घाइते

नेपालमा विपद्ध : एक महिनामै सय बढीको मृत्यु, ९२ घाइते


काठमाडौं । यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८९ जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गते साँझसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । ५० जना घाइते भएका छन् भने १ सय ३४ घर क्षति भएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु भयो भने ४ बेपत्ता र १२ जना घाइते भएका छन् । पहिरोका कारण ३७ घर प्रभावित बिस्थापित भएका छन् । जेठ ३१ गते पर्वतमा पहिरोमा परी ९ जनाको मृत्यु र १ जना घाइते भए । असार ८ गते पाल्पाको तानसेन नगरपालिमा पहिरोका कारण ४ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । असार १८ गते गुल्मीमा ४ जनाको मृत्यु, ७ जना घाइते र १ जना बेपत्ता भएका छन् । पहिरोका कारण ५ घरमा क्षति भयो । असार १९ गते बझाङमा गएको पहिरोका कारण ७ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भए । पहिरोका कारण १७ घर प्रभावित भएका छन् ।

असार २५ गते सिन्धुपाल्चोकमा बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । ५ जना घाइते र ५० घरमा क्षति भएको छ । असार २६ गते लमजुङमा ३ जनाको मृत्यु भयो । असार २६ गते नै कास्कीमा ७ जनाको मृत्यु भयो भने १७ जना घाइते भए । रुकुम पश्चिममा असार २६ गते नै पहिरोका कारण २ जनाले ज्यान गुमाए । त्यसै दिन जाजरकोटमा ११ जनाको मृत्यु, ३ जना बेपत्ता र २ जना घाइते भए । असार २६ गते गुल्मीमा पहिरोले १ जनाको मृत्यु भयो । असार २८ गते सर्लाहीमा बाढीका कारण १ जनाको मृत्यु भयो । सोही दिन संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ घरमा क्षति भएको छ ।

असार २९ गते सोमबार तनहुँमा पहिरोका कारण १० जनाको ज्यान गयो भने २ जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । एक घर र दुई वटा गाई गोठ पहिरोले बगाएको छ । यस्तै, रतुवामाई–३ चौकीघाटबाट रतुवाखोला तरेर झापातर्फ जाने क्रममा बाढीले एक जनालाई बगाएको छ । अन्य केही जिल्लामा बाढी र पहिरोका घटना भएपनि मानवीय क्षति भएको छैन् । बाढी र पहिरोका कारण पछिल्लो एक सातामा बढी क्षति भएको छ ।

चट्याङबाट भएको मानविय क्षती

एक महिनामा चट्याङ्गका कारण देशभर १७ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । मनसुन सक्रिय भएसँगै देशको तराईदेखी पहाडसम्म चट्याङको प्रकोप सामना गर्नुपरेको छ । चट्याङले केही भौतिक क्षती समेत गरेको छ ।

बढी पहिरो र चट्याङका कारण एक महिनामै १ सय ७ जनाले ज्यान गुमाउँदा ९२ जना घाइते भएका छन् । बाढी र पहिरोमा परेर ४४ जना अझै बेपत्ता छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ