Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा फसेका नेपालीलाई उद्दार गर्ने नेपाल एयरलाइन्समा यस्तो बेथिति !

विदेशमा फसेका नेपालीलाई उद्दार गर्ने नेपाल एयरलाइन्समा यस्तो बेथिति !


काठमाडौं– सरकारले विदेशमा फसेका नेपालीलाई नेपाल ल्याउनका लागि केही चासो देखाइरहेको बेला सरकारकै मुख्य एयरलाइन्स कम्पनी वायुसेवा निगममा भने बेथिति बढेको छ । कानुनी प्रक्रिया मिच्दै जुनियर पाइलटलाई बढुवा, दुईवटा नागरिकता भएकालाई थप जिम्मेवारी, विदेशी पाइलटलाई प्राथमिकता, कारबाहीमा परेका पाइलटलाई कारबाही नगर्नेेलगायतका नेथितिजन्य कार्य निगममा भएका हुन् ।

नेपाल बायुसेवा निगमले यसअघि अनेकौं कारबाहीमा परेका रवीन्द्रकुमार शेरचनलाई दशौ तहको जिम्मेवारी दिइएको थियो । अन्य पाइलटले विरोध गरेपछि उनको बढुवा पद रोक्का गरिएको छ । तर, भित्रभित्र उनलाई फेरि दशौं तहको पद दिन तयारी भएको निगम स्रोतको भनाई छ । बढुवाको पालो कुरेर बसेका अन्य पाइलटहरुले आफूहरुको पालो मिचेर अयोग्य व्यक्तिलाई बढुवा गरेपछि निरुत्साहित बनेका छन् । बढुवामा जालझेल, कोरोना संक्रमित भएका पाइलटलाई बेवास्ता, नक्कली कागजात बनाएर अयोग्य कर्मचारीलाई माथिल्लो जिम्मेवारी, एयर होस्टेजसँग करार सम्झौता गर्दा बार्गेनिङ लगायत लफडा सञ्चालक समिति र कार्यकारी अध्यक्षबाट भएको भन्दै निगममा दुई दर्जन पाइलटहरुले विरोध गरेका छन् । यी बेथितीको प्रमाण हामीले फेला पारेका छौं ।

स्रोतका अनुसार मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलकै कारण निगममा अवकास पाइसकेका र दुईवटा नागरिकता भएका पाइलटले उडान भर्दै आइरहेका छन् । यसको बलियो तथ्यांक हो, निगमका पाइलट गोपाल सिंहको फेक डकुमेन्ट । उडान अनुमतिपत्र र अवकास लिनको लागि भर्ने कागजातमा दुईथरीको जन्ममिति राखिएको छ । दुईवटा नागरिकता भएकै कारण उनको कागजातमा दुईथरी जन्ममिति देखिएको हो । पहिलो जन्ममिति अनुसार सिंहले २०७५ मै अवकास पाइसकेका थिए । त्यतिबेला निगमले विज्ञप्ति पनि जारी गरेको थियो । तर, उनले हालसम्म पनि निगममा उडान भर्दै आइरहेका छन् । दोस्रो नक्कली जन्ममिति अनुसार नै उनले निगममा काम गर्दै आइरहेको निमगको एक स्रोतले बतायो । ‘नागरिकता दुईटा भएको व्यक्तिले कसरी उडान भरेको छ ? यसबारेमा निगमको मानव संसाधन विभागले ख्याल राख्नु पर्दैन ?,’ स्रोतले भन्यो, ‘दुई वर्ष फरक पारेर बनाएको प्रमाण भेटाउँदा पनि कुनै कारबाही भएको छैन, यो लापर्वाहीको हद हो ।’

निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धि नियमावली २०५८ को विनियम (६३) अनुसार सिंहले उमेर हदका कारण २०७५ मै अवकाश पाइसक्नुपर्ने हो । २०७५ मा निगमले उनको अवकाश लिने बेला भएको बारेमा विज्ञप्ति पनि जारी गरेको थियो । तर उनले हालसम्म उडान भरिरहेका छन् । उनले अवकास पाउने चिठीमा सन् १९६१ र पासपोर्ट तथा नागरिकता अनुसार जन्ममिति फरक परेको छ । दुईवटा नागरिकता अनुसार सन् १९६१ र सन १९६३ जन्ममिति राखिएको छ । उनले निगमको कार्यालयमा पेस गरेका कागजातको आधारमा निगमले अन्य कार्यालयबाट दिने कागजात दिन्छ । जसमा दुईवटा जन्ममिति खुलस्त देखिएको छ । यसबारेमा निगमको मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलले प्रक्रिया पुगेकै कारण सिंहले उडान भर्दै आइरहेको दाबी गरे । उनले यो विषयमा आफूले नबोल्ने बताए । ‘यसबारे जानकारी छैन, जेजे काम भएका छन् सबै कानुन अनुसार नै भएका छन्,’ उनले भने ।

त्यस्तै, आफ्नो स्वदेशी दक्ष जनशक्तिलाई वेवास्ता गरी विदेशी जनशक्तिलाई नेपाल बायुसेवा निगमले माथिल्लो जिम्मेवारी दिन खोजिरहेको छ । विदेशी पाइलटलाई चर्को तलब सुविधा दिएरै भएपनि नेपाल वायुसेवा निगमले नेपाली पाइलटलाई बेवास्ता गरेको पाइलटहरुकै गुनासो छ । ‘कित हामीलाई अयोग्न भनेर कागज गरिदिनुप¥यो, नत्र हामीले गर्न सक्ने काममा विदेशीलाई किन प्राथमिकता,’ निगमका एक पाइलटले भने । अहिले नेपाल वायुसेवा निगममा कार्यरत नेपाली पाइलट निरुत्साहित छन् । आफूहरु दक्ष हुँदाहुँदै कमिसनको लोभका विदेशीलाई प्राथमिकता दिँदा नेपाली पाइलटहरुले आपत्ति जनाएका छन् । निगमले पाइलटहरुसँग करार सम्झौंता गर्दा विभेद गरेको छ । विदेशीलाई धमाधम ५ वर्षको करार सम्झौता गरेतापनि नेपाली पाइलटसँग भने पाँच महिनाको मात्रै करार सम्झौता गरेको छ । यही विभेदमा परेका पाइलट हुन, शुभराज श्रेष्ठ । उनी उनी विदेशी पाइलट सहर नै सक्षम भएपनि उनलाई बेवास्ता गरिएको छ । स्रोतका अनुसार विदेशी पाइलटबाट कमिसन लिएर उनीहरुलाई नै मुख्य प्राथमिकता दिने कार्य निगममा भएको छ । श्रेष्ठको पाचँ महिनाको मात्रै करार सम्झौता भएको छ । उनी जहाज ३२० का क्याप्टेन हुन् । उनीसँग यसअघि गरेको एक वर्षको सम्झौता मईमा सकियो । तर, उनको करार सम्झौता भएन इन्डियन पाइलटको पाँच वर्ष सम्झौता गरेको छ ।

मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलले नै नेपाली पाइलटलाई निरुत्साहित गर्ने कार्य गरेका हुन् । उनीसहितका अन्य व्यक्तिले गैर कानुनी रुपमा रवीन्द्र कुमार शेरचनलाई दशौं तहमा वढुवा प्रस्ताव अघि बढाएका थिए । जसमा अन्य कर्मचारीले विरोध जनाउँदै आएका थिए । केही पाइलटहरुको विरोधपछि शेरचनको वढुवा रोक्का गरिएको थियो ।

तर, सोही वढुवाको छानबीन गर्नको लागि निगमले महागल्ती गरेका सिग्देललाई नै जिम्मा दिएको छ । आफैले बढुवा गरेका व्यक्तिलाई छानबीन समितिको जिम्मा दिनु गैर कानुनी मानिन्छ । तर, नेपाल वायुसेवा निगममा यस्तै यस्तै लफडा र कानुनको उपहास गरिँदै आइएको छ । यसले वायुसेवा निगममा स्वच्छ मनसायले काम गर्ने कर्मचारीको मनोबल गिराएको मात्रै छैन, असक्षम व्यक्ति हावी हुँदा उनीहरुमा निराशा थपिएको छ । स्रोतका अनुुसार सिग्देलले मिलोमत्तोका केही व्यक्तिलाई गैर कानुनी पद दिँदै आएका छन् । सिग्देलले आफूले कानुन अनुसार नै काम गरेको दाबी गरे । तर, सिग्देल आफू कुनै तरीकाले कमजोर नभएको दाबी गर्छन् । उनले भने, ‘मैले विराएको भए पो डराउनु, केके कारबाही हुन्छ भोग्न तयार छु,’ उनले भने ।

निगमका कार्यकारी निर्देशक शुशिल घिमिरे पनि यसबारेमा जवाफ दिन खोजेनन् । उनले शेरचनको वढुवा पद रोक्का गरिएको र विवाद समाधानका लागि बनेको छानबीन समितिले काम गरिरहेको बताए । ‘हामीले गल्ती गरेकै छौं, राम्रो काम गर्दा अपजस सुन्दा नराम्रो लाग्यो,’ उनले भने ।

१ सय ४५ कमचारी कटौति गर्ने निर्णय
करार कर्मचारीलाई निकाल्ने भएपछि १ सय ४५ जना कर्मचारीले निगमको कार्यालय धेराउ गरेका छन् । उनीहरुले विदेशीलाई राख्ने तर सामान्य कर्मचारीलाई निकाल्ने भएपछि विरोध गरेका हुन् । निगमले ठूलो संख्यामा करार कर्मचारी कटौंति गर्ने सुचना मंगलबार जारी गरेको थियो । त्यसपछि तल्लो दर्जाका कर्मचारीले त्यसको धोर विरोध गरेका छन् । आज दिनभर कर्मचारीले कार्यालय घेराउ गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ