Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपालमा पैसा पठाउने बैधानिक रेमिट खुल्यो । केही मिनेटमै पैसा पुग्ने

अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउने बैधानिक रेमिट खुल्यो । केही मिनेटमै पैसा पुग्ने


ब्रिजवेन,अष्ट्रेलियाबाट बैध माध्यमबाट नेपालमा पैसा पठाउन ब्रिजवेनमा रोयल रेमिट संचालनमा आएको छ । यो रेमिटले नेपालको सनराइज बैंकसंग अनलाईनबाट रेमिट सेवा प्रदान गर्ने सम्झौता गरेको हो ।

यो सम्झौता अनुसार अष्ट्रेलियाबाट रोयल रेमिट मार्फत पठाएको पैसा केही मिनेटमै सनराईज बैंक लगायत अन्य वाणिज्य र विकास बैंकहरुको खातामा जम्मा हुनेछ । यसले यहाँ रहेका नेपालीले सजिलै र बैध माध्यमबाट नेपालमा पैसा पठाउन सजिलो र सजह हुने रोयल रेमिटका संचालक स्वतन्त्र प्रताप शाहले जानकारी दिनुभयो ।
रोयल रेमिटले उच्च विनिमय दरमा पैसा पठाउने व्यवस्था गरेकाले ग्राहकले बढी लाभ लिन सक्ने शाहको दाबी छ । हाल ब्रिजवेनबाट सेवा सुरु गरेको रेमिटले केही दिनपछि अनलाईनमार्फत अष्ट्रेलियाभरबाट पैसा पठाउन मिल्ने सेवा सुरु गर्न लागेको शाहले बताउनुभयो । उता सनराइज बैंकले पनि विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले रेमिट्यान्स भित्रिने विश्वास लिएको छ ।

रोयल रेमिटले जारी गरेको सुचना

अष्ट्रेलियामा बस्ने अधिकांश नेपालीले नेपाल पैसा पठाउदा अनौपचारिक माध्यम हुण्डी प्रयोग गर्ने गरेका छन् । जसका कारण बेलाबखत हुण्डीवालाले पैसा हिनामिना गरिदिदा दुख गरेर कमाएको पैसा डुबेका उदाहरणहरु पनि छन् । पछिल्लो समय मनि ट्रान्सफरको आवरणमा मेलवर्नमा संचालित एक हुण्डीले एक सय बढी नेपालीको पैसा हिनामिना गरिदिएको छ । पीडितहरुले अझै पैसा फिर्ता नपाएर गैरआवासिय नेपाली संघ र दूतावासमा हारगुहार गरिरहेका छन् ।
बढी पैसा पाइने र फेसबुकका भित्तैभरी विज्ञापन आइरहने भएकाले मानिसहरुले हुण्डी रोज्ने गरेका छन् । तर, अष्ट्रेलियामा दर्ता भएका नेपालीले संचालन गरेका ती मनी ट्रान्सफरले यता बैंकमै भुक्तानी लिएपनि नेपालमा भने अनौपचारिक माध्यम हुण्डीबाट पैसा कारोबार गर्छन् । त्यसैले त्यस्ता कम्पनीको कारोबार अष्ट्रेलियामा भने अवैध मानिदैन । त्यसैले पनि त्यस्ता हुण्डीवालाले अष्ट्रेलियामा खुलेआम कारोवार गरिरहेका छन् ।
तर, बेलाबखत नियतमा खोट आउदा पैसा पठाउनेहरु पीडित बन्ने गरेका छन् । बेलाबखत बैध रेमिट र बैंकिङ कारोबारको चर्चा चल्दै आएपनि ठोस कदम भने चालिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ